आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

नेताको स्वार्थमा नलागौं

नेताको स्वार्थमा नलागौं


  • दुर्गा भण्डारी
  • मंसिर ४ २०७७, बिहिबार

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र फेरि पनि अनावश्यक विवाद झिकी पार्टी नै फुटाउनेसम्म षड्यन्त्र सुरु भएको छ । नेकपा भित्रको विवाद वैचारिक नभएर सत्ता प्राप्तिको लागि हो भन्ने तथ्यहरुले प्रमाणित गरिसकेको छ । करिव दुई तिहाई नजिक मत प्राप्त पार्टी भित्र, मुलुकको विकास र समृद्धितर्फ केन्द्रीत बहस हुनुपर्नेमा प्रधानमन्त्रीको कुर्ची हत्याउन दिनहँु खेल हुने गरेको छ । यो कार्य गर्न नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसहित बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतका पाँच जना सचिवालय सदस्यहरु रहेका छन् । पार्टीकै भविष्य अन्यौल पार्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध षड्यन्त्रमा उत्रिनु भएको छ यी पाँच नेताहरु । कम्युनिष्ट पार्टीलाई एक बनाई यो स्थानसम्म पु¥याउन थुप्रैै नेता, कार्यकर्ता, शुभेच्छुक शुभचिन्तकहरुको योगदान रहेको छ । थुप्रै शहीदहरुले बलिदानी गरेका छन् । नेकपा भनेको सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी मात्रै होइन, लाखौँ पार्टी सदस्य, र शुभचिन्तकहरुको पनि हो । उनीहरुले के चाहान्छन् नेताहरुले त्यो ख्याल राख्नुपर्छ । दहाल नेपाल एण्ड कम्पनीले भर्खरै प्रधानमन्त्री पद चाहियो भनेका भरमा हासिल गर्न सक्ने कुरा यो होइन । बालहठ देखाउने छुट नेताहलाई छैन । सत्ता भनेको आफ्नै हैसियत र योगदानबाट प्राप्त गर्ने कुरा हो । पार्टीलाई राम्रो बनाउन आफु प्रधानमंत्री हुन दहाल नेपाल एण्ड कम्पनीलाई बिगतमा कस्ले छेकेको थियो ? उहाहरुले आफु अध्यक्ष हुदा पार्टीलाई यो स्थान सम्म, दुईतिहाई नजिक पु¥याउन किन सक्नु भएन । जग जाहेर नै उहाको खुवी षडयन्त्र बाहेक अरु केहिमा छैन । पार्टी निमार्ण गर्ने, संगठित गर्ने खुवी नभए पछि सुरुका दिनदेखि नै दहाल एण्ड नेपाल कम्पनीले बहुमतको धक्कु दिदै प्रधानमन्त्रीविरुद्ध षड्यन्त्र गर्दै आउनु भएको छ । वास्तवमा यो तहको लोभ र लालचले पार्टी मात्रै होइन, देश पनि अस्थिरतातर्फ धकेलिन्छ । पटकपटक प्रधानमन्त्री भइसकेका जनताबाट टेष्टेड व्यक्तिहरु फेरि पनि प्रधानमंत्री बन्न लालायित । लोभको भाँडो कहिल्यै पनि नभरिने, पार्टी र जनताको पर्वाह नगरी आफ्नो निहित स्वार्थका लागि पार्टी फुटाउन तम्तयार हुनु भएको छ । उहाहरुको यो हर्कत परिवार र गुटका लागि मात्रै हो देश र जनताका लागि अवश्य होइन । त्यसकारण सबै स्थायी समिति सदस्य र केन्द्रीय समिति सदस्यले केही नेताहरुको स्वार्थका लागि डरलाग्दो खेल खेल्न, उक्साउन वा साथ दिन हुँदैन भनेर बुझ्न जरुरी छ ।
वास्तवमा नेकपाका दहाल नेपाल समुहका नेताहरु नाम मात्रैका कम्युनिष्ट रहेछन् भनेर आम कार्यकर्ताले भन्नेछन् । अहिलेको समयलाई विचार र सिद्धान्त स्थापित गर्ने अवसरको रुपमा लिनुपर्ने हो । संसार बाटै हराउँदै गएको कम्युनिष्ट पार्टीहरु किन नेपालमा मात्रै छन् । जननेता मदन भण्डारीको मार्ग निर्देशक सिद्धान्त जनताको बहुदलीय जनवादको कारण नेपालमा मात्रै पिंक कम्युनिष्ट पार्टीको रुपमा उदाउदो अवस्थामा छ । नेकपा एमालेले अवलम्बन गरेको मार्ग निर्देशक सिद्धान्त जनताको बहुदलीय जनवादले नेपालमा कम्युनिष्ट बचाई राखेको छ । यो सिद्धान्तको उत्तराधिकारी प्रधानमन्त्री केपी शर्मा ओली हो । दहाल नेपाल समुहले गरेको षड्यन्त्र र हर्कतले नेपालमा कम्युनिष्टहरु विर्सजन हुने अवस्था नआउला भन्न सकिँदैन । आफ्नै पार्टीका प्रधानमन्त्रीलाई बिनाकारण पटकपटक प्रधानमन्त्रीबाट हटाउने प्रयास भयो । दहाल एण्ड नेपाल कम्पनीमा कत्ति पनि धैर्यता देखिएन । प्रधानमन्त्री केपी शर्मा ओलीले दूरदृष्टिकासाथ विकासका योजनाहरु बिद्युत, सडक, रेल, पानीजहाज बिभिन्न खनिजहरुको उत्खनन, गुमेको भूमि फिर्तालगायत औद्योगिक विकासका कार्यक्रमहरुको जग बसाली सक्नुभएको थियो । उहाँले अर्कोपटक पार्टी अध्यक्ष नबन्ने बाचासहित कार्यकारी अध्यक्ष प्रचण्डलाई सहयोग गर्नेसमेत भन्नु भएको थियो । तर, कार्यकारी अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल दुईवर्ष भए पनि खाइहाल्नु पर्छ भनेर प्रधानमन्त्री बन्न लाग्नुभएको छ, त्यो पनि भारतको सहयोगमा, आफ्नो सग्लो पार्टी फुटाएर । नेकपाले राम्रो काम ग¥यो भने दुईवर्ष त के २० वर्ष पनि सरकार चलाउन सक्छ । जनताको मतको सदुपयोग गर्दै अवसरको रुपमा प्रयोग गर्न सके आगामी ५ वर्षका लागि कार्यकारी अध्यक्ष प्रचण्ड, नेकपाको अध्यक्ष तथा प्रधानमन्त्री बन्न अवसर थियो । तर कार्यकारी अध्यक्ष प्रचण्डले साना कुराहरु कुर्सी हटाएको, १ नं मै हुँ भनेको जस्ता पितुर्के कुरालाई बढाइचढाई गरी पार्टी फुटाउने षड्यन्त्र गर्नु भएको छ । प्रधानमन्त्रीका नियमित काम कारवाहीमासमेत हस्तक्षेप गर्ने, अधिकांश समय बैठक र छलफल भन्दै प्रधामन्त्रीको काममा अवरोध पु¥याउने काम मात्रै गर्नुभयो । नियुक्तिहरु गर्न नदिने सक्षम होइन, आफ्ना नातागोता र चाकडी गर्नेहरु असक्षम व्यक्तिहरुलाई नियुक्ती गर्न प्रधानमन्त्रीलाई दवाव दिने काम गर्दै आउनुभएको छ । त्यति मात्रै होइन, सरकार संचालनको दुई बर्ष पूरा हुन नपाउदै अल्पमत र बहुमतको आधारमा अवरोध पु¥याउने जुसुकै तरहले प्रधानमन्त्रीलाई अफ्ठेरोमा पार्ने काम भएको छ ।
नेकपा एमालेको नेतृत्वकर्ता प्रधानमन्त्री ओली र पार्टीको लोकप्रियताका कारण प्राप्त दुई तिहाई मत प्राप्त भएको हो । आम निर्वाचनमा केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको आइकन मानिएको मतदाताले बिर्सेका छैनन् यो जनमत माधव नेपाल वा प्रचण्ड प्रधानमन्त्री बन्नका लागि होइन । नेकपा एमाले र माओवादी केन्द्र एकिकरण हँुदा अल्पमत र बहुमतका गर्ने भन्ने छैन । सहमतीय आधारमा हो । तर अहिले पार्टीभित्र बहुमतको आधारमा प्रधानमन्त्री ओलीलाई नै हटाउन खोज्ने असफल प्रयास कदापि सह्य हँुदैन । पार्टी भित्र अल्पमत र बहुमतको सवाल आउथ्यो प्रधानमन्त्री ओलीले नबुझेको अवश्य होइन तर उहाले गुटको राजनीति नगरेको कारण विवेकहीन नेताका हुनुमानहरु पार्टीमा निर्णायक बनेका छन् । महाधिवेशनमा उनीहरुको अवस्था कस्तो हुनेछ त्यो भविश्यले देखाउनेछ ।
अर्को कुरा ०७२ सालमा केपी ओलीको प्रयासमा संविधान जारी भए पछि उहाको सरकार बन्नु अगावै भारतले नाकाबन्दी लगायो । भारतको नाकाबन्दीबिरुद्ध राष्ट्रियताका खातिर कडा रुपमा प्रस्तुत हुनु भयो । सायद अरु नेताहरु भएका भए त्यो आँट गर्न सक्दै थिए । नौ महिना पुग्न नपाउदै ओली ढालियो । केपी ओली आफैले पार्टीको पोजिसन बनाउनु भयो,स्थानीय तहमा राम्रो परिणाम आयो । तर बरिष्ठ नेता माधव नेपालले पार्टीमा अध्यक्ष हारेकोमा सार्वजिक रुपमा कुण्ठा ब्यक्त गर्ने । संसदमै बिरामी, रोगीले देश चलाउन सक्दैनन भनेर प्र.म. ओलीलाई हतोत्साह गर्ने गर्नुभयो । जवकी बरिष्ठ नेता निरोगी हष्टपुष्ट भएर अहिलेसम्म कुन चै उलेख्य काम गर्नुभयो ? नेता नेपाल २०६४ सालको चुनावमा दुई ठाउबाट हारेर प्रधानमन्त्री भएका बेला माओवादीले दिनदिनै सडक आन्दोलन गरेका बेला प्रम ओलीले नै साथ दिनुभएको थियो । सत्ता टिकाई दिनुभएको थियो । अहिले नेता नेपाललाई हारेपछि पनि अध्यक्ष पद चाहिने भयो । पदका लागि दिनदिनै बार्गेनिङ । माधव नेपालले बिगत २०५० सालदेखि नै महासचिव भएर नेतृत्व गर्नुभयो । उहाले पार्टीलाई कुन ठाउमा पु¥याउनुभयो । १५ बर्ष एउटैले नेतृत्व गरेर नपुग्ने ? फेरी पनि आफै आउन खोज्ने प्रवृत्ति । नेतृत्व पुस्तान्तरण गर्नु पर्ने होइन र ?फेरि पनि आफै मात्रै हुनु पर्छ भन्ने केन्द्रीकृत सोच बोकेका नेताहरुको पछि युवाहरु नेताहरु किन लाग्ने ? के भविष्य देखेर लाग्ने ? त्यस कारण पार्टी बिभाजनको पीडा भोगेकाहरु नेकपा भित्रै भविष्य देखेका युवा पुस्ताले निन्तान्त स्वार्थका लागि पार्टी फुटेफुटोस् भन्ने नचाहिने हर्कत गर्नेहरुलाई अंकुश लगाउनु पर्छ । पार्टीको सचिवालयको नाउमा पुरानो पुस्ताका नेताहरुले धित छोडेर षडयन्त्र नगर्दा राम्रो हुन्छ । पार्टीको माया छ भने पार्टी जोगाउनतर्फ लाग्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->