पोखरा, ५ मंसिर– दुई वर्ष अघि कास्कीको माछापुच्छ«्रे ८ खोरामुखकी ७९ वर्षीया कौशिला गुरुङको हत्या भयो । गुरुङको पोष्टमार्ट रिपोर्ट अनुसार हत्या भएको पुष्टि भएको थियो । तर तत्कालिन कास्की प्रहरी प्रमुख ओम राना सहित डिएसपी रविन्द्रमान गुरुङले घटनाको टुङ्गो लाग्नै लागेको बताएपनि असफल भए । लगत्तै कास्कीमा आए दानबहादुर कार्की प्रहरी प्रमुख बनेर । एसपी कार्कीले पनि घटनाबारे चासो देखाएनन् । डिएसपी राजकुमार केसिसंग त पिडित परिवारको चर्काचर्कि समेत हुन पुग्यो । तर कौशिलाले न्याय पाइनन् । प्रहरी असफल भयो ।
गुरुङका हत्यारा प्रहरीले अझै समात्न सकेको छैन । घटना घटेको २ वर्ष बितिसकेको छ । कास्कीको प्रहरी प्रमुख तथा प्रवक्ता ३ पटक सम्म फेरिए तर पनि हत्या कस्ले ग¥यो भन्ने अहिले सम्म यकिन भएको छैन । प्रहरी चेकपोष्ट भेडावारी देखि घटना करिब २ किलोमिटर टाढाको दुरिमा भएको हो । गुरुङको शव तन्नाले बेरिएको अवस्थामा खाटामुनि भेटिएको थियो । दराजमा राखेको कपडा, थैली, टाँसीमा राखिएका भाँडाकुडा पनि छरिएका थिए । उनले लगाएका कुनै गहना भेटिएनन् । पोस्टमार्टम रिपोर्ट अनुसार घाँटीमा ५ औंलाको डाम र टाउकोमा चोट थियो । प्रहरी अनुसन्धान गरिरहेको बताउँछ । गुरुङको हत्या भएको पनि २ दिनपछिमात्र थाहा भएको थियो । आफ्नो हजुरआमालाई न्याय दिलाउन दुईवर्ष देखि प्रहरीको घरमा पुगे २१ वर्षिय नाती । कौशिलाको प्रसङ्ग सत्य गुरुङ प्रत्येक प्रहरी प्रमुख र प्रवक्ता फेरीदा घटनाबारे बुझ्न जिल्ला प्रहरी कार्यालय कास्की धाउने गर्दछन । उनी प्रहरीको वरिपरि धाउन थालेको पनि २ वर्ष पुरा भयो । २०७५ साल कात्तिक १२ गते घटनाको बारेमा परिवार तथा स्थानियले थाहा पाएका थिए । नाती सत्य प्रहरी देखि निराश छैनन् छन त केबल प्रहरी व्यवस्थापन देखि । ‘यहाँको सिस्टम नै गतिलो छैन । मुखले भने हामि अनुसन्धानमा छौ भन्छन् तर निचोडमा पुग्न सक्दैन्’ सत्य भन्छन ‘डिएसपी रविन्द्रमान गुरुङ सरले घटनाको अन्तिम अवस्थामा पुगेका छौ भन्दा भन्दै सरुवा हुनु भयो । त्यसपछि राजकुमार सर आउनुभयो उहाँले त झन गालि नै गर्नुभयो । अहिले भने केहि आश जागेको छ ।’ प्रहरीले भने घटनाको प्राविधिक अनुसन्धान प्रदेश प्रहरीले गरिराखेको जानकारी दिएको उनले सुनाए । जिवन कुमार श्रेष्ठ कास्की प्रहरी प्रमुख भएर आएपछि सत्य २ पटक घटनाको बारेमा बुझ्न आइसकेका छन । तत्कालिन समयमा घटनास्थलबाट प्रमाणहरु लिएपनि प्रहरी प्रभावकारी काम गर्न नसकेको सत्यले गुनासो गरे ।
डिएसपी सुवास हमाल आफैले लिए फाइल, परिवारमा अझै आश जागेन्
कौशिला हत्या प्रकरणमा कास्की प्रहरी प्रवक्ता सुवास हमाल आफैले चासो देखाएका छन । कास्की आएसंगै फाइल आफैले लिएर पिडिललाई समेत फोन गर्न भ्याए । अहिले कास्की प्रहरीले टोली नै गठन गरि घटनाको अध्ययन गरिरहेको छ । प्रहरी निष्कर्षमा नपुगेपनि हत्याको सम्भाव्यता अर्थात प्रहरीले केहि व्यक्तिलाई भने शंकाको घेरामा राखिरहेको छ । प्रवक्ता हमाल आफै घटनास्थल पुगि अवलोकन समेत गरेका थिए । ‘अहिले यकिनले यसैले हत्या गरेको भन्न सकिएको छैन तर हामिले केहि व्यक्तिलाई भने शंकका दायरामा ल्याएका छौ’ प्रवक्ता हमालले भने । ‘यो घटना र तनहुँको घटनाको प्रकृति केहि फरक छैन । हामिले उक्त घटना (तनहुँको घटना) लाई समेत हेरेर सम्भाव्यता बनाएका छौ । निष्कर्षमा पुग्नमात्र बाकिँ छ’–फाइल म आफैँले राखेर एउटा टिम गठन गरि अघि बढेका छौ ।’ घटनाको चाडै टुङ्गो लाग्ने उनको भनाइ छ । शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोलाका ६७ वर्षीया तेजकुमारी ढकालको हत्याको अभियोगमा प्रहरीले शिव गौतमलाई पक्राउ गरेको थियो । गोरखा भीमसेन थापा गाउँपालिका–१ का ४६ वर्षीय गौतम गरेको हत्या र कास्कीको हत्याको प्रकृति एकै नाशको भएको कारण प्रहरीले सोधपुछ समेत गरेको थियो । तर गौतमले सोधपुछको क्रममा भने अनेक कुरा गरेका थिए । ‘घटना एकै प्रकृतिको भएकाले हामिले सोधपुछ गरेका थियौ । तर उनले आडेँटुङ्गो जवाफ दिए’ प्रवक्ता हमालले भने । गुरुङ र ढकाल दुवै घरमा एक्लै बस्दै आएका थिए । ढकालको पनि गुरुङको जसरी घरभित्रै शव फेला परेको थियो । ढकालको शव आफ्नै घरभित्र भुइँमा दुवै हात खुट्टा र घाँटीमा कपडाले बाँधेको अवस्थामा फेला परेको थियो । उनको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार भएको थियो । ढकालको हत्यारा पक्राउ पर्नुले पनि कास्की प्रहरीलाई केहि राहत भने पक्कै मिलेको छ । एकै प्रकृतिको घटना भएकाले र सो क्षेत्रमा समेत बाहिर बाट काम गर्ने आएको हमालको भनाइ छ ।





