प्रसिद्व विद्वान जांन आस्टिनले भने जस्तो– ‘मैले इच्छा पुर्ति गरेर होइन, दमन गरेर सफलता प्राप्त गर्न सिकें’ सहज रहेन छ यहाँ इच्छाहरु दबाएर राखिरहन, असंभव जस्तै रहेछ सफलता प्राप्त गर्न । यो पंक्तिकार कोरोनाको कारण मात्र होईन, जिवन जिउँदै गर्दा आफ्नो र समाजको तुलनात्मक अध्ययन गर्दै धेरै तीव्र इच्छा आकांक्षाहरुलाई आफैभित्र दबाउदै जानु केवल व्यक्तिगत अनुभुति होला तर, लामो समय राष्ट्रसेवामा रहँदा व्यक्तिगत रुपमा पेशागत र सामूहिक एवं सामाजिक रुपमा साझा हृदय बिदारक स्थितिले सधैं घचघचाइ रहन्छ । ५० बसन्तहरु स्मृतिमा बाचिरहँदा म जस्ता धेरै मानव इच्छाहरु मेरै जसरी नदबिएका हुन्, तर स्वस्फुर्त थिएनन् । बाघले झम्टिनु अघि उफ्रिरहने मृगका पाठा जसरी कहिल्यै फुरेका थिएनन् । आत्माले क्रान्ती चाहन्थ्यो, नेपाल प्रहरीमार्फत एउटा कारवाहीको माध्यमबाट स्वचालित समाजको कल्पना साकार पार्ने आधार बन्यो । केही हदसम्म, आधिकारिक स्थलसम्म व्यक्तिगत एवं पेशागत रुपमा सफल भयो होला । अर्कोतर्फ सामाजिक, साँस्कृतिक तथा राजनीतिक उद्देश्यले संगठित विद्रोही राजनीतिक क्रान्तीको बिगुल फुक्दै सिंहनाद गर्न लागेको शक्तिसामु कसैको केही लागेन, सबै बेलगाम प्रगतीहरु कुकुरले पुच्छर लुकाएझै डर तथा अन्यौलपुर्ण स्थितिमा लुरुलुरु हिड्न बाध्य भए, आफ्नो अस्तित्व सुम्पन बाध्य भए तर सफल प्रतिकार गरेनन् । शक्ति बन्दुकको नालबाट आउँछ भन्दै बन्दुक तथा बम पड्काउदै, बिरोधी राजनीतीक शक्ति विद्रोहीको नियन्त्रणमा आउँदा प्रकृति प्रदत्त कुनै पनि अंकुरण स्वतःस्फुर्त बढ्न र हुर्कन पाएनन् । दशैमा केराका पातले छोपेर हुर्पाएका जमाराजस्तै भित्रभित्रै पहेंलिंदै हाम्रा निधारमा आशिरवचन साथ सिउरिए । आजसम्म पिल्सिई रहे । केवल क्षणिक इच्छा दमन गरेर राख्दा सफलता प्राप्त हुन सक्छ भन्ने कोरा कल्पना तथा दिवा सपना आजसम्म कुहिरोमा कागझै रुमल्लीईरहेका छन् ।
यमराजलाई चुनौती दिदै दिदीबहिनीले मखमली फुलका माला पहिर्याउने गलाहरु रेटिएपछि, स्वयं दिदीबहिनीनै सेरिएपछि र दैवले अनेक तरहबाट चुंडेर लगेपछी दिदीबहिनीका कोमल हातले माला बुन्न नपाउदै ओईलाउदै जान लागेको पनि धेरै भयो । दाजुभाईकै लागि भनेर मखमली फुल लगाउन छाडेको पनि धेरै भयो । जहाँ ओईलाएर झरेका थिए फुलहरु, पटक पटक निद्राबाट झस्के जसरी उम्रिदै, फक्रंदै, ओईलाउँदै अनि मर्दै र झर्दै गइरहेका छन् । दुःखीमाथी दैव भनेझै कोभिड–१९ (कोरोना भाईरस) रोगका कारण करिब १ वर्ष अन्य कार्यक्रमका साथै ढिलागरि पर्न आएको दीपावली पनि फिक्का भयो ।
सास रहेसम्म आस रहन्छ भनेझै वर्षौदेखि दबिइरहेका इच्छा तथा ओईलिईसकेका फुलहरु स्याहारेर सुखी संसारको सपना साकार पार्ने हाम्रो महत्वकांक्षा अझै जिवित छ । जटिल अवस्थाको बिरामी आईसियुहुँदै भेन्टिलेटरमा पुग्दा पनि हामी अरु दबाई (औषधी) जस्तै कोरोनाको दवाई वा भ्याक्सिन मिलोस् भन्दै ब्यग्र प्रतिक्षा कायमै छ । हाम्रो देशमा आजसम्म २,११,४७५ संक्रमितमध्ये १२४७ को मृत्यु हुँदा १,७९,२४२ जनाले कोरोनाविरुद्व सफलता प्राप्त गरिरहंदा ५,५१,,७४,९९० संक्रमितमध्ये १३,२९,८७५ को मृत्य हुँदा ३,५४,७९,१३३ जना निको भएर घर फर्कीसकेका छन् । कोरोना संक्रमणबाट हतास हुनुपर्ने होइन कि धैर्यता, आत्मबल र सहनशीलताका साथ कोरोनाविरुद्व थप सुरक्षा सतर्कता र व्यवस्थापनलाई कडाईका साथ पालना गर्न भीडभाडबाट बच्दै एक अर्का व्यक्तिबाट कम्तिमा २ मिटरको दुरीमा रहनुका साथै मास्क र सेनिटाईजरको प्रयोग तथा साबुन पानीले हातधुने लगायतका सुरक्षा साथ रहन सकौं । निकट भविष्यमा कोरोनाको दवाई ( भ्याक्सीन) उपलव्ध हुने विभिन्न समाचार माध्यमबाट पाईरहेको सुचनालाई तपाई हामी जस्तै दुनियाँले ब्यग्र प्रतिक्षा गरिरहेको छ ।





