म्याग्दी, ९ मंसिर – नाता सम्बन्ध नभए पनि भावनात्मक सम्बन्ध बढ्दै गएपछि मित लगाउने चलन नेपाली समाजमा पुरानै हो । तर पछिल्लो समय संस्कृतिमाथि आएको बाह्य प्रभाबका कारण ‘मित –मितिनी’ साइनो हराउँदै गएको छ । त्यसैले यो संस्कृति जोगाउने अभियान पनि थालिएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले मितेरी साइनो जोडेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– २ भुरुङतातोपानीमा सोमबार साँझ आयोजित एक कार्यक्रममा मुख्यमन्त्री गुरुङ र गाउँपालिका अध्यक्ष पुनले पारिवारिक वातावरणमा मितेरी साइनो लगाएका हुन् ।
यस माध्यमबाट मित संस्कृति जोगाउन सन्देश दिने प्रयास गरिएको छ । मित लगाउने बिषयमा पहिले नै समझदारी भए अनुसार मुख्यमन्त्री गुरुङ जिल्लामा आएको अबसरमा एक अर्काले टिका, माला र नेपाली ढका टोपि ललगाएर ‘मित’ साइनो माजोडिएको गाउँपालिका अध्यक्ष पुनले बताए । जनप्रतिनिधि भएपछि केहि कार्यक्रममा मुख्यमन्त्री गुरुङसंग संगै हुने अवसर मिलेको र धेरैले दुई भाई जस्तै भनेर चिनाउन थालेपछि आफुहरुबिचको भावनात्मक सम्वन्ध बढेको अध्यक्ष पुनले बताए ।
राजनीतिक रुपमा दुई फरक पार्टीमा भएपनि भावनात्मक निकटताले मितेरी साइनोसम्म पु¥याएको पुनको भनाई छ । सो अवसरमा मुख्यमन्त्री गुरुङ र गाउँपालिका अध्यक्षले टिका र माला एक अर्कालाई लगाउनुको साथै केक समेत काटेर खुसीयाली साटासाट गरिएको थियो ।
यसअघि अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको प्रथम अन्नपूर्ण पर्यटन महोत्सवकै अवसरमा मुख्यमन्त्री गुरुङ र गाउँपालिका अध्यक्षबिच मितेरी साइनो लगाउने तय भइसकेको थियो । खासगरी गण्डकी क्षेत्रमा हजारौं हजार वर्ष अघि देखि मितेरी साइनो लगाउने संस्कृति रही आएको छ । तर पछिल्लो वर्षहरुमा नयाँ पुस्तामा यसको आकर्षण घट्दो छ । यसलाई जोगाउन विशेष प्रयास गर्नु पर्ने संस्कृतिविद्हरुको भनाई छ । मितेरी साईनोले समाजमा मित्रता र सद्भाव कायम राख्न ठुलो भुमिका खेल्ने गरेको संस्कृतिविद्हरुको भनाई छ ।





