शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

ताराखोलामा सुरु भयो ५ शैयाको अस्पताल, गाउँमा पुगे डाक्टर

ताराखोलामा सुरु भयो ५ शैयाको अस्पताल, गाउँमा पुगे डाक्टर

अस्पतालमा मेडिकल अधिकृत सुवास लामिछाने सहितको टोली नियुक्ति लिएर सेवा दिन गाउँपालिका पुगेका हुन् ।


  • ढोरपाटन संवाददाता
  • मंसिर ९ २०७७, मंगलबार

बागलुङ, ९ मंसिर – नेपाल सरकारको नीति अनुसार बागलुङको ताराखोला गाउँपालिकामा पाँच शैयाको अस्थायी अस्पताल सञ्चालनमा आएको छ । अस्पताल सञ्चालनमा आएसँगै गाउँपालिकामा पहिलोपटक चिकित्सक पुगेका छन् । अस्थायी कोरोना अस्पतालमा सरकारले तोकेको एकजना मेडिकल अधिकृत, दुई स्टाफ नर्स र एक कार्यालय सहयोगी नियुक्ति भएर हाजिर भएकाका छन् । अस्पतालमा मेडिकल अधिकृत सुवास लामिछाने सहितको टोली नियुक्ति भएर सेवा दिन गाउँपालिका पुगेका हुन् ।
सरकारले प्रत्येक पालिकामा अस्थायी कोरोना अस्पताल बनाउने नीतिअनुसार बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा पाँच श्ययाको कोरोना अस्थायी अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ । ताराखोला गाउँपालिकाले हालै निर्माण सम्पन्न गरेको बहुउद्देश्यीय सभाहलमा पाँच शैयाको अस्थायी कोरोना अस्पताल सञ्चालन गरी सेवा प्रदान गर्न थालिएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले वताए ।
सरकारले पाँच श्ययाको कोरोना अस्पताल निर्माण गर्न पठाएको १० लाख बजेटबाट शैया सेट, आवश्यक उपकरण खरिद गरी अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिकाका स्वास्थ्य संयोजक उदित थापाले जानकारी दिए । अस्पताल तयारी अवस्थामा छ, गाउँपालिकामा जम्मा एकजना मात्रै सक्रिय सङ्क्रमित भएकाले उनी गाउँपालिकाको आइसोलेसनमा छन् ।
अस्पतालले कोरोनाको लक्षण देखिएका बिरामीको मात्रै उपचार गर्नेछ । स्वास्थ्य संयोजक थापाका अनुसार, अस्पताल स्थापनासँगै पहिलोपटक चिकित्सकद्वारा स्वास्थ्य सेवा प्रदान गर्न थालिएको छ । सरकारले ‘एक गाउँपालिका–एक अस्पताल’ निर्माण गर्ने लक्ष्यअनुरुप सो गाउँपालिकाले सोही स्थान नजिकै अस्पताल भवन निर्माण गर्न थालेको छ । अस्पताल बनाउनका लागि नेपाल सरकारले ७० लाख बजेट विनियोजन गरी पठाएको छ । अस्पताल निर्माणका लागि आवश्यक सात रोपनी जग्गा व्यवस्थापन भइसकेर निर्माणको चरणमा पुगेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकामा हालसम्म सङ्क्रमितको सङ्ख्या २० पुगेको छ भने सक्रिय सङ्क्रतिको सङ्ख्या भने एकजना मात्रै रहेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । कोरोनाका कारण गाउँपालिकामा पहिलो पटक चिकित्सक आउँदा अन्य स्वास्थ्य समस्यासमेत समाधानमा सहयोग पुग्नेछ । कोरोना अस्पतालमा आइसियु र भेन्टिलेटरबाहेक अन्य सबै सेवा प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->