आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

बढ्दो आत्महत्या : जटिल समस्या

बढ्दो आत्महत्या : जटिल समस्या


  • कृष्ण अधिकारी
  • मंसिर १४ २०७७, आइतबार

हरेक वर्ष सेप्टम्बर १० तारिक अर्थात् भाद्र २५ गते नेपालमा पनि विश्व आत्महत्या दिवस मनाईन्छ । मानिसलाई आत्महत्याको नकारात्मक पाटोप्रति सचेत गराउन यो दिवस मनाउने चलन छ । अन्तराष्ट्रिय आत्महत्या रोकथाम संगठनले विश्व स्वास्थ्य संगठन तथा विश्व मानसिक स्वास्थ्य संगठन मिलेर सन् २००३ देखि आत्महत्या रोकथाम दिवस मनाउन थालेको हो । विश्व स्वास्थ्य संगठनले पहिलो आत्महत्या रोकथाम दिवस मनाउँदा ‘आत्महत्यालाई रोक्न सकिन्छ’ भन्ने नारा दिएको थियो ।
नेपालमा पनि यसपटक ‘आत्महत्या रोकथाममा सबैको सहकार्य’ भन्ने नाराका साथ स्वास्थ्यसंग सम्बन्धित विभिन्न गैरसरकारी संस्थाहरुले सिमित मात्रमा भएपनि विभिन्न कार्यक्रम गरेर वा अनुभवहरुको साटासाट गरेर यसलाई मनाएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भर्चुअल माध्यमबाट जनचेतनामुलक कार्यक्रम सप्ताहव्यापी गरिरहेको बताएको थियो । सरकारी तवरबाट मानसिक स्वास्थ्य सम्बन्धि जति गम्भिर बनेर देशव्यापी कार्यक्रम हुनुपर्ने हो त्यो देखिएन । न कुनै प्रदेश र स्थानीय तहले नै त्यति चासो दिए ।
विश्वमा एक वर्षमा मृत्यु हुनेहरुमध्ये १.५ प्रतिशत अर्थात् ८ लाख ५० हजारको मृत्यु आत्महत्याका कारण हुने गरेको तथ्यांकले बताउँछ । यसरी हरेक ४० सेकेण्डमा एकजनाले आत्महत्या गर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा कुल जनसंख्याको ५ प्रतिशतको मृत्यु आत्महत्याले हुने गरेको तथ्यांकले बताउँछ । नेपाल विश्वमा आत्महत्याका कारण मृत्यु हुनेहरुको देशहरुमा ८ औँ स्थानमा छ । प्रथम स्थानमा रहेको दक्षिण अमेरिकी देश गुयानामा हरेक एक लाखमा ४४.२ जनाका दरले आत्महत्या हुने गरेको छभने नेपालमा यो संख्या हरेक एक लाखमा करिब २५ जना पुगेको तथ्यांक छ । अझ लकडाउन यता यो संख्या वृद्वि भएको अनुमान छ । गएको चैत्रदेखि श्रावणसम्मकै तथ्यांक हेर्ने हो भने दुई हजार दुई सय अठार जनाको आत्महत्याकै कारण मृत्यु भएको छ ।
अझै बन्दाबन्दीको अवस्था कहिलेसम्म पुग्ने हो कुनै ठेगान छैन । र, यसको असरले अर्थ व्यवस्था तंग्रिन कति समय लाग्ने हो त्यो पनि थाहा छैन । माथिका ५ महिनाको मृत्यु दर हेर्ने हो भने निश्चित छ कोरोनाका कारण आर्थिक चपेटामा परेर अझै ठूलो संख्यामा आत्महत्याको दर बढ्ने छ ।
विभिन्न अध्ययनले सन् २०३० पछि संसारका तीनमध्ये एकजना मनोपीडित हुने दाबी गर्दै आएका थिए । तर कोरोना आतंकका कारण दश वर्ष अगाडि नै अर्थात् २०२० भित्र संसारले यो नियति झेल्नु पर्ने देखिन्छ । अमेरिकाको कोलम्बिया विश्वविद्यालयका मनोविज्ञानका प्राध्यापक युवल नेरोईको भनाईमा ‘कोरोनाको प्रकोप मानसिक रुपमा कति दर्दनाक हुन्छ अहिले भन्न गारो छ ।’ तर यसअघिको महामारीभन्दा कोरोनाले दीर्घकालसम्म आघात पर्ने उनको अनुमान छ ।
प्रष्ट छ, हाम्रो जस्तो अविकसित पिछडिएको मुलुकको हालत झन् के होला ? ‘लकडाउन जति लम्बियो, मानसिक रोगको मात्रा त्यति बढ्दै जान्छ । कोरोनाको संकट सकिएपछि पनि समस्या रोकिन्न, त्यसैले अहिल्यैबाट तयारी गर्नु पर्दछ ।’ वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्याय भन्नुहुन्छ– नेपालमा भूकम्पपछि मानसिक समस्या आकाशिएको थियो । मनोविश्लेषक वासु आचार्यले बेलैमा सचेत नभए कोभिड–१९ ले निम्ताउने मनोवैज्ञानिक असरले दीर्घकालसम्म सताउने चिन्ता व्यक्त गरेका छन् ।
अमेरिकाको न्युयोर्कका गभर्नर एन्ड्री क्युमोरले कोभिड–१९ नियन्त्रण नहुँदै मानसिक परामर्श दिनका लागि ६ हजार कर्मचारी नियुक्त गरेका छन् । अन्य देशले पनि मानसिक समस्या सामना गर्न आफ्नो गृहकार्य गर्दैछन् । नेपालमा भने भाद्र २५ गते मात्र नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखासमेत गठन गरेको र सोही दिनदेखि पाटन मानसिक अस्पताल र त्रिवि शिक्षण अस्पतालमा आत्महत्या रोकथाम हेल्पलाईन संचालन गर्न थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. फडिन्द्र प्रसाद बरालले जानकारी गराएका छन् ।
गत भाद्र २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले आत्महत्या रोक्नका लागि के गर्न सकिन्छ भनेर मनोचिकित्सकसँग छलफल गर्नुभएको बुझियो । सर्वविदितै छ प्रधानमन्त्रीले धेरै कुरामा चासो लिनुहुन्छ । उहाँबाट विकासका आश्वासन पनि नेपाली जनताले धेरै सुनिसकेका छन् । तर फेरि उनै पाका नेता चित्र बहादुर केसीको थेगो जस्तै– ‘कुराले चिउरा भिज्दैनन् सम्धी ज्यू ।’ भन्ने भयो भने नेपालमा आत्महत्याको स्थिती भयावह हुनेछ ।
गत वर्षनै सन् २०२० सम्म आत्महत्याको मृत्युदर १० प्रतिशतले घटाउने विश्व स्वास्थ्य संगठनको योजना अनुसार नेपालमा पनि स्वास्थ्य मन्त्रालयले आत्महत्या कम गराउनका लागि ९० लाखका दरले सातैवटा प्रदेशमा बजेट विनियोजन गरेको मानसिक स्वास्थ्य शाखका प्रमुख डा. फडेन्द्र बरालको भनाई छ । नेपाली जनताको गरिबीलाई धितो राखेर दातृ संस्थाहरुसँग सहायता लिने र सूको काम नगरिकन सिमित व्यक्तिहरु मोटाउने पुरानै परम्परा हाम्रो नीति कार्यान्वयन गर्ने तहमा जर्बजस्ती छ । यस्ता कुराहरुमा जनता पनि निदाएर हुँदैन, जनदवाब सृजना गर्नुपर्छ ।
आत्हत्या, मनोरोग सम्बन्धि दृष्टिकोण र लक्षणहरुः
आत्महत्या भन्नाले कुनैपनि व्यक्तिले जानी–जानी आफ्नो जीवन आफैले समाप्त पार्ने कार्यलाई बुझिन्छ । जसले आत्महत्याको प्रयास अथवा आत्महत्या नै गर्दछन्, त्यसमध्ये ९५ प्रतिशत व्यक्तिलाई कुनै न कुनै किसिमको मानसिक रोग हुन्छ भन्ने अध्ययनले पुष्टि हुँदै आएको छ । त्यसमध्ये धेरै जसो व्यक्तिहरुमा आत्महत्याको कारण उदासिनता वा डिप्रेसन हुने गर्दछ । बाँकी ५ प्रतिशत भने कहिलेकाहीँ एक्कासी तनावपूर्ण अवस्थामा पनि आत्महत्या गर्दछन् । यो मानसिक रोगले नभएर अचानक हुने घटनाक्रमसँग अथवा तनावसंग लड्न नसकेर हुने गर्दछ भन्ने भनाई नसा तथा मनोरोग विशेषज्ञ डा. कमल गौतमको छ ।
मानसिक रोग र विभिन्न दृष्टिकोणः
जीव शास्त्रः मानसिक रोग जिन(GENE), वंशाणुगत गुण (Heridity) का कारणले हुन्छ ।
मनोवैज्ञानिक सिग्मण्ड फ्रयाडः सामजिकीकरणको प्रक्रियाको कारणले हुन्छ, जसमा अचेत, सचेत र उच्चचेतको भूमिका हुन्छ ।
समाजशास्त्रि ईमाइल दुर्खाइमः सामाजिक संरचनाको कारण ।
बाईवलः मानसिक रोग असाधारण व्यवहार हो ।
माक्र्सवादः शोषण र असमान अवसरका कारण मानसिक रोग हुन्छ ।
मानसिक रोगका लक्षणहरुः
– मनमा लगातार कुरा खेलिरहनु ।
– एक ठाउँमा बस्न नसक्ने, छटपटी भैरहनु ।
– मुटुको धड्कन असमान्य रुपमा बढ्नु ।
– निद्रा नलाग्नु ।
– बेहोस हौला कि भन्ने डर हुनु ।
– मानसिक सन्तुलन गुमाउला कि र मृत्यु होला कि भन्ने डर हुनु ।
– हातखुट्टा काम्नु ।
– बेसुरले बोल्नु र बेला बेलामा बेहोस हुनु ।
– सामन्य अवस्थामा भन्दा यौनेच्छामा कमी हुनु ।
– बढी रिसाउनु, झर्किनु र काममा मन नलाग्नु ।
– कसैसँग बोल्न मन नलाग्नु, एक्लै टोलाई रहनु ।
– मनमा हिम्मत नै नआउनु, मर्न मन लाग्नु । आदि ।
कानुनको नजरमा आत्महत्याः
नेपाली समाजमा किरातकालदेखि २०२० सालको मुलुकी ऐनले निर्दिष्ट गरुन्जेल आत्महत्या यसको उद्योग वा दुरुत्साहनलाई अपराधको रुपमा हेरिएको थिएन । नेपालको प्रमाण ऐन २०३१ ले मृत्युकालिन घोषणालाई अंगिकार गरेको छ, दफा ११ ले मरेको व्यक्तिले होस छँदै व्यक्त गरेका कुरा कुनै मरेका व्यक्तिले आफु मर्न लागेको अवस्थामा होस छँदै आफ्नो मृत्युको कारणका सम्बन्धमा व्यक्त गरेका कुरा प्रमाण लिन हुने भनिएको छ । आत्महत्या दुरुत्साहनलाई कारवाहीको व्यवस्था हुनुअघि पनि नेपालमा त्यस्तै प्रकृतिका उजुरीहरु पर्ने गरेको तर कार्वाही गर्न अन्य मुद्दा लगाईने गरेको वा मुद्दा दर्ता नहुने गरेको र केहीलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलेको पाईन्छ ।
नेपालमा आत्महत्यालाई अपराध मानेर कानुन कहिल्यै नबने पनि युरोपेली मुलुकमा भने आत्महत्यालाई अपराधकै रुपमा ठहर गर्दै कानुनी मान्यता थियो । सन् १६७० मा फ्रान्सका राजा लुई चौधौले आत्महत्यालाई अपराध ठहराउँदै पहिलो कानुन निर्माण गरेका थिए । जस अनुसार आत्महत्या गर्ने व्यक्ति अपराधी मात्र ठहरिँदैनथ्यो, आत्महत्या गर्नेको सर्वस्वसहित मृत शरीर घिसारेर शहर घुमाईन्थ्यो, दुनियाँले त्यस उपर घृणा वयक्त गर्नुपथ्र्यो ।
फौजदारी न्यायका क्षेत्रमा ‘अपराधीसँगै अपराध मर्छ ।’ जस्ता अवधारणाको मान्यता बलशाली हुन थालेपछि आत्महत्यालाई अपराध मान्ने तर्क कमजोर हुन थाल्लो । नेपालको सनातन विश्वास प्रणालीले कर्म र मोक्षको साझा मान्यता अवलम्बन गरेको छ, त्यसैले जो व्यक्ति आत्महत्या गरेर मृत्यु हुन्छ उसले मोक्ष प्राप्त गर्न सक्दैन भन्ने धार्मिक विश्वास छ । अतः आत्महत्यालाई अपवित्र मानिन्छ ।
आज आत्महत्या सम्बन्धि दुई प्रतिस्पर्धी विधिशास्त्रीय धार देखिन्छन्– पहिलो आत्महत्या क्षति हो र यसको रोकथाम हुनुपर्छ भन्ने उपयोगितावादी मन्यता र दोश्रो आफ्नो जिउको आफ्नै खुशी भन्ने छनौटवादी मान्यता । ‘मर्ने अधिकार हुनुपर्छ ।’ (च्ष्नजत तय मष्भ) छनौटवादी मान्यताको नारा हो । मर्न पाउने अधिकारको वकालत गर्दै स्वीजरल्याण्डका विभिन्न छ संगठनहरुले मानिसलाई आत्महत्याका लागि सहयोग गर्दछन् । यस्ता संगठनहरूको सहयोगमा यहाँ वर्षेनी ६ सयभन्दा बढी मानिसहरुको आत्महत्या हुने गरेको छ । त्यसैले त्यहाँ आत्महत्या पर्यटन मौलाउँदै गएको बताईन्छ । आत्महत्या सम्बन्धि कानुनमा अस्पष्टताले त्यहाँ छनौटवादी धार मौलाएको मानिएको छ ।
जानी–जानी आफुले आफैलाई मार्ने कार्य आत्महत्या हो । यस्तो अवैध काममा उक्साउने चाहिँ दुरुत्साहन हो । अतः दुरुत्साहनको कार्यलाई विश्वका धेरै जसो मुलुकहरुले अपराधको कानुनी दायरामा राखेका छन् ।
नेपालले २०७५ भाद्र १ गतेदेखि लागु गरेको मुलुकी फौजदारी संहिताको दफा १८५ मा आत्महत्या दुरुत्साहन गर्नेलाई पाँच वर्षसम्म कैद र ५० हजार सम्मको जरिवानाको व्यवस्था गरेको छ । यो धाराको औचित्य प्रष्ट पार्दै फौजदारी संहिता निर्माणका बेला संसदीय समितिका संयोजक रहेका कृष्णभक्त पोखरेलले ‘आत्महत्या आफैमा कसुर होईन, तर दुरुत्साहनलाई हामीले कसुर भनेका छौ’ भनेका थिए । दाईजो र घेरेलु हिँसाका कारण महिलाहरुले आत्महत्या गर्नुपर्ने अवस्था निर्माण हुने तर दोषी कार्वाहीमा नपर्ने अवस्था अन्त्य गर्न दुरुत्साहनको व्यवस्था गरिएको उनले थप बताएका थिए ।
सँहिता दफा १८५ लागु भएयता नाम लिएकै भरमा आत्महत्यामा दुरुत्साहन ठहर गर्ने हो भने यो व्यवस्थाको सिकार जो–कोही हुन सक्दछ भन्ने चिन्ता स्वयम् कतिपय कानुनविदहरुले व्यक्त गरेका छन् । फौजदारी कानुनका जानकार वरिष्ठ अधिवक्ता प्राध्यापक रञ्जितभक्त प्रधानांग भन्छन्, ‘आत्महत्या गर्ने बेलामा कसैको नाम लेखेर वा बोलेर गयो भन्दैमा त्यो प्रमाण बन्छ भन्ने हुँदैन । कानुनी रुपमा प्रमाण हुनेगरि त्यो कुरा स्थापित हुनुपर्छ । ‘दुरुत्साहन सम्बन्धी यो दफा कार्यन्वयनमा आएको छोटो अवधि भएको र कुनै नजिर स्थापित भै नसकेकाले यसलाई सापेक्षिक रुपमा हेर्नुपर्छ भन्ने धेरैको बुझाई छ ।
अन्त्यमा,
मनोरोग एक प्रकारको जटिल रोग हो । यसको न कुनै घाउ देखिन्छ न रगत जाँच र एक्सरे गरेर रोग पत्ता लाग्छ वा अपरेसन नै गरेर ठिक हुन्छ । नजाँनिदो प्रकारले यसले भित्र/भित्र मानिसलाई जलाईरहको हुन्छ । र मानिस आत्महत्या गर्ने निर्णयमा पुग्दछ ।
‘आत्महत्या रोक्न सकिन्छ’ यो धेरै अनुसन्धानपछि विश्व स्वास्थ्य संगठनले ठहर गरेको नारा हो । मानिसको मन घोडाको लगाम जस्तै हो, यसलाई नियन्त्रण गरेर सही तरिकाले चलाउन सक्ने हो भने यसले दुनियाँमा ठूलो तरक्की गर्न पनि सक्छ । यदि मनलाई नियन्त्रण गर्न सकेन भने यसैका कारण खाल्डोमा पनि जाकिन पुग्छ ।
समाजले मनोरोग सम्बन्धी धारणा बदल्नु पर्छ र मनोरोग पनि अन्य सामान्य रोग जस्तै हो भनेर ग्रहण गर्नुपर्छ । मनोरोगीलाई पागल ठान्ने, तर्किने र दुव्र्यवहार गर्ने व्यवहार गर्नु हुँदैन । यसलाई सामाजिक प्रतिष्ठाको विषय बनाइनु हुँदैन । समाजले मनोरोगीलाई सहजै स्विकार गर्ने वातावरण बन्यो भने मनोरोगीलाई समाजमा आफु खुल्न सजिलो हुन्छ । यी कार्यहरु मात्र पनि गर्न सक्यौ भने मनोरोगको ठूलो संख्या घट्ने छ र अवश्य आत्महत्याको दर कम हुनेछ । सरकारले मनोरोग भएकाहरुलाई प्रोत्साहन स्वरुप केही कार्यक्रम ल्याउनु पर्छ । स्थानीय तहसम्म नै मनोरोग परामर्श केन्द्र स्थापना गर्नुपर्छ । मनलाई नियन्त्रणमा राख्नका लागि उपयुक्त ध्यान विधिको स्कुल तहदेखि नै विद्यार्थीलाई गराउनु पर्छ । सबैमा यो ध्यान पुगोस् भन्ने अपेक्षा गरिएको छ । धन्यवाद !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->