बेनी, १५ मंसिर – श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि गण्डकी अस्पताल पुर्याइएकी मालिका गाउँपालिका-५ देविस्थानकी एक सुत्केरीको मृत्यु भएको छ । बेनी अस्पतालका अनुसार अक्सिजनको मात्र ह्वात्तै घटेपछि अक्सिजन दिएर थप उपचारका लागि पोखरा रिफर गरिएकी मालिका-५ की २२ वर्षीया मुना पुन बुढाथोकीको सोमबार दिउँसो गण्डकी अस्पताल पोखरामा मृत्यु भएको हो ।
बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कुटुवालका अनुसार लक्षणको आधारमा मृतकमा कोरोना संक्रमण आशंका गरिएको र मृत्युपछि स्वाब संकलन गरी पीसीआर परीक्षण गर्न लागिएको छ । गत कात्तिक ६ गते पोखराको गण्डकी अस्पतालमा शल्यक्रिया गरी सुत्केरी गराइएकी बुढाथोकी १५ दिनपछि रिफर भइ घर आएकी थिईन । श्वासप्रश्वासमा समस्या भएपछि आइतबार राति प्राथमिक स्वास्थ्य केन्द्र दरबाङ ल्याइएकी बुढाथोकीलाई सोमबार बिहान १० बजे बेनी अस्पताल ल्याइएको थियो ।





