मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

अब आँगनमै अस्पताल, सुस्त छ पोखरा महानगर !

अब आँगनमै अस्पताल, सुस्त छ पोखरा महानगर !

जनशक्ति व्यवस्थापन चुनौतिपूर्ण छ । किनकि, समयैमा काम सकिए यी अस्पताललाई २ वर्षपछि ३७६ जना डाक्टरहरु र ३ हजार ४२२ जना स्वास्थ्यकर्मीहरु चाहिन्छ ।


  • ढोरपाटन संवाददाता
  • मंसिर १६ २०७७, मंगलबार
आफ्नो जन्मगाउँ लमजुङको क्होंलासोथर गाउँपालिकाको मालिङमा आधारभूत अस्पतालको शिलान्यास गर्ने क्रममा गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ । तस्वीर : मुख्यमन्त्रीको फेसबुक

पोखरा, १६ मंसिर– धेरै पालिकाले तामझामका साथ अस्पतालको उद्घाटन गरिरहँदा पोखरा महानगरपालिकाले भने अस्पताल उद्घाटनमा पछि प¥यो । संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक स्थानीय तहमा अस्पताल खोल्न बजेट विनियोजन गरेपछि तातेको महानगरले तोकिएको समयमा जग्गा खोज्नै सकेन । जग हाल्ने ठाउँ नै नभएपछि अस्पतालको शिलान्यास हुने कुरै भएन ।
‘हामीले त्यसको(अस्पताल) शिलान्यास) को व्यवस्थापन गर्दैछौँ’, महानगरका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष धनबहादुर नेपालीले भने,‘हामी पनि अस्पताल चाहिँ बनाउँछौँ ।’
महानगरको मंसिर ४ गते बसेको ४३ औं कार्यपालिकाको बैठकले जग्गा व्यवस्थापनको लागि डाक्टर नारायण ओझाको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिलले हालसम्म पनि जग्गाको टुंगो लगाउन नसकेकोले अस्पताल कहाँ बनाउने भन्ने निर्णय हुन नसकेको समितिका सदस्य तथा वडा नम्बर २६ का वडाध्यक्ष नारायण बरालले बताए ।‘समिति बनेपछि एकपटक बैठक बसियो, हामी मंगलबार पनि बैठक बस्दैछौँ’, उनले टेलिफोनमा भने,‘केही ठाउँमा जग्गा हेरिएको छ, छिट्टै टुंगो लाग्ला ।’ उनका अनुसार वडा नम्बर २७,२५ र ३० का विभिन्न ठाउँमा समितिले जग्गा हेरेको थियो । जग्गाको टुंगो लागेपछि मात्रै समितिले महानगरलाई अस्पताल बनाउने ठाउँबारे सिफारिस गर्ने उनले सुनाए । उता, बागलुङ नगरपालिकामा भने मुलपानी वा पैयुँपाटामा कता बनाउने भन्ने बिबाद भएपछि काम रोकिएको छ । देशभर सुरु भएका अस्पतालले जनताको स्वास्थ्यमा सुधार आउने स्थानीयले विश्वास गरेका छन् ।
गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो गाउँ लमजुङको क्लोंलासोथर गाउँपालिकाको मालिङमा पर्ने साल्मेभञ्याङमा स्थानीय तहस्तरको अस्पतालको शिलान्यास गरेका छन् । शिलान्यास गरिएको अस्पताल १५ शैयाको रहेको छ । लमजुङका ७ वटा स्थानीय तहमा अस्पतालको शिलान्यास हुँदा ६ वटा अस्पताल १५ शैयाका रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कात्तिक २६ गते स्थानीय विकास मन्त्रालयव र २८ गते स्थानीय निकायहरुलाई पठाएको पत्र अनुसार गण्डकीमा विभिन्न जिल्लामा कुल ५३ वटा अस्पताल निर्माण हुँदैछन् । तीमध्ये ११ वटा ५ शैया, १४ वटा १० शैया र २८ वटा १५ शैयाका रहेका छन् । पत्रमा दिइएको विवरण अनुसार कास्कीको अन्नपूर्ण गाउँपालिकाको नौडाँडामा रहेको स्वास्थ्यचौकी अब १५ शैयाको अस्पताल बन्नेछ । अस्पतालको लागि ३ करोड २२ लाख रुपैयाँ विनियोजन भएको छ । यसको कूल लागत भने १८ करोड ६ लाख ८२ हजार रुपैयाँ रहेको छ । अस्पतालको मंगलबार गाउँपालिका अध्यक्ष युवराज कुँवरले शिलान्यास गरे । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीका अनुसार अस्पताल निर्माणको टेण्डर प्रक्रिया सुरु भइसकेको छ ।‘हामी तोकिएको भन्दा पनि छिटो अस्पताल बनाउने अभियानमा छौं’, उनले भने,‘ मध्यपहाडी लोकमार्गमा रहेको एवं गाउँपालिकामै पनि ३० हजार जनता रहेकाले यो अस्पताल पूर्ण क्षमताका साथ संचालनमा ल्याउनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’
कास्कीकै मादी गाउँपालिकाको थुम्सीकोट स्वास्थ्यचौकीको पूर्वस्वास्थ्यमन्त्री तथा सांसद खगराज अधिकारीले शिलान्यास गरेका मादीका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले जानकारी दिए । सोमबार नै पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षको शिलान्यास गरेका छन् । रुपा गाउँपालिकाको रुपा स्वास्थ्यचौकी पनि १५ शैयाको अस्पताल बन्दैछ । अस्पतालको गाउँपालिका अध्यक्ष नवराज ओझाले नै शिलान्यास गरे । कास्कीको माछापुच्छे«मा भने अस्पताल बनाउने योजना नै परेको थिएन ।
गोरखाको अजिरकोट भच्चेक,चुमनुब्रीको सिद्धिबास र धार्चे गाउँपालिकाको माछेचौकीमा ५,भिमसेन गाउँपालिकाको अश्राङ स्वास्थ्यचौकीमा १० तथा आरुघाट, शहीद लखन तथा सिराचोकका क्रमशः आरुननौटै, घैरुङ, जौबारीमा १५ शैयाको अस्पताल बन्दैछ । उता, गोर्खाकै बारपाक सुलिकोटमा पनि स्थानीयले छानेको ठाउँमा १५ शैयाको अस्पतालको लागि बजेट विनियोजन भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिकाको राइपुरमा १५ शैयाको अस्पताल बन्दैछ भने ऋसिङको भीरकोट र म्याग्देको म्याग्दे,देवघाटको देवघाट, स्वास्थ्यचौकीमा १०, भानुको पुरन्डिही तथा भिमाद नगरपालिकाको भिमाद स्वास्थ्यचौकीमा १५ शैयाको अस्पताल बन्दैछ । यता, तनहुँकै पर्वतका ६ वटा स्थानीय तहमा अस्पतालको लागि बजेट विनियोजन हुँदा कुस्मा नगरपालिको ठूलीपोखरी प्राथमिक स्वास्थ्यकेन्द्र,फलेबास नगरपालिकाको फलेबास–देविस्थान स्वास्थ्यचौकी,जलजला गाउँपालिकाको माझफाँट,पैंयुको हुवास र मोदीको देउपुरमा १० शैयाको अस्पताल बन्दैछ । महाशिलाको लुङ्खु देउरालीमा भने १५ शैयाको अस्पताल बन्नेछ । बागलुङको तमानखोलाको बांगादोभान र ताराखोलाको अर्घलमा ५ शैया,निसीखोलाको वडा नम्बर ४ र बरेङको हुग्दीशीरमा १० शैया तथा बडिगाडको ग्वालीचौरमा १५ शैयाको अस्पताल बन्दैछ । यसैगरि बागलुङकै बागलुङ नगरपालिकाको पैंयुपाटामा १५ शैयाको अस्पताल बन्ने भएको छ । सोमबार बडिगाड गाउँपालिकाले निर्माण गर्न लागेको १५ शैयाको अस्पतालको सांसद मनकुमारी केसीले शिलान्यास गरिन् ।
निसीखोला गाउँपालिकामा गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले अस्पतालको शिलान्यास गरे । ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्ती र बरेङका अध्यक्ष कृष्णप्रसाद शर्माले पनि अस्पताल शिलान्यास गरेका थिए ।सोमबारै निसीखोला, बडिगाड र बरेङमा कोरोना अस्थायी अस्पतालको उद्घाटन समेत भएको छ । तीनै स्थानमा ५ बेडको कोरोना अस्थायी अस्पताल संचालनमा आएको हो । ताराखोलाले बहुउद्देश्यीय सभाहलमै केही समय अघिदेखिनै अस्पताल संचालन गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले बताए । बागलुङकै तमानखोला गाउँपालिकाले आगामी २२ गते भवन शिलान्यास कार्यक्रम राखेको अध्यक्ष जोकलाल बुढाले बताए ।
म्याग्दीको अन्नपूर्णको दोवा र धवलागिरीको ताकममा ५ शैया,मंगलाको अर्गल र रघुगंगाको पिप्लेमा १० शैयाको अस्पतालको शिलान्यास भएको छ ।नवलपुरको गैंडाकोट नगरपालिकाको पितौरीघाट,देवचुली गाउँपालिकाको दुम्कौली तथा बौदिकालीको डेढगाउँमा मा १५ शैयाको अस्पताल बन्दैछ । यसैगरि मनाङको नासोँमा पनि ५ शैयाको एउटा अस्पतालको मात्रै कोटा परेको छ । मुस्ताङमा भने लोमान्थाङको लोमान्थाङमा र बाह्रगाउँ मुक्तिक्षेत्रको कागबेनीमा ५ तथा थासाङको लेतेमा १५ शैयाको अस्पताल बन्दैछ । स्याङ्जा भीरकोट नगरपालिकाको खिलुङ,वालिङ नगरपालिकाको गह्रौंमा १५ र हरिनास गाउँपालिकाको मल्याम चिसापानीमा पनि १५शैयाको अस्पताल बन्दैछ । फेदीखोलामा भने ४ शैयाको अस्पताल बन्नेछ ।
अस्पताल निर्माणको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ करोड रुपैयाँ विनियोजन गरेको छ । मन्त्रालयले देशैभर एउटै डिजाइनमा अस्पताल बनाउने निर्णय गरे अनुरुप सो अस्पतालको कूल लागत १८ करोड ६ लाख ८२ हजार रुपैयाँ रहेको छ । पाँच शैयाको अस्पतालको लागि ७ करोड ११ लाख ९८ हजार तथा १० शैयाको लागि १० करोड ८३ लाख ३६ हजार रुपैयाँ छुट्याइएको छ । तर, पहिलो चरणको रकम विनियोजनमा भने ठाउँ हेरेर फरक–फरक परिणामको रकम दिइएको छ । यद्यपि, मन्त्रालयले स्रोतको सुनिश्चितता गरेकाले काम गर्ने पालिकाहरुले पैसा नपाउने सम्भावना भने छैन । आउँदो २ वर्षमा अस्पताल निर्माण गरिसक्नुपर्ने प्रावधानसहित मन्त्रालयले सो रकम विनियोजन गरेको हो । लमजुङको मध्यनेपाल नगरपालिकाको सूर्यपाल,राइनास नगरपालिकाको धमिलीकुवा,सुन्दरबजार नगरपालिकाको चन्द्रेश्वर,दूधपोखरी गाउँपालिकाको बिचौर,दोर्दीको नौथर सेरामा १५ शैया र मस्र्याङ्दीको भुलभुलेमा १० शैयाको अस्पताल बन्ने भएको हो । कास्कीको रुपा गाउँपालिका भानु गाँउपालिकाले कूल बजेटको ४.७ प्रतिशत र गोर्खाको बारपाक, लमजुङको दूधपोखरी गाउँपालिका एवं लमजुङकै राइनास गाउँपालिकाले पहिलो चरणमा २२.२ प्रतिशत बजेट पाएका छन् । सरकारले १० शैयाको अस्पतालमा अस्पतालमा एकजना मेडिकल अफिसरसहित १२ स्वास्थ्यकर्मी, १० शैया अस्पतालमा दुईजना मेडिकल अफिसरसहित १७ जना र १५ शैयाको अस्पतालमा तीनजना मेडिकल अफिसरसहित २७ स्वास्थ्यकर्मी राख्ने घोषणा पनि गरेको छ । समयैमा काम सकिए यी अस्पताललाई २ वर्षपछि ३७६ जना डाक्टरहरु र ३ हजार ४२२ जना स्वास्थ्यकर्मीको आवश्यकता पर्छ । अस्पताल बनेपनि जनशक्ति व्यवस्थापन चाहिँ चुनौतिपूर्ण रहेको डाक्टरहरुले बताएका छन् । डाक्टर मिङ्मार शेर्पाले ट्विटरमा भनेका छन्,‘भएको अस्पताल चलाउन डाक्टर र स्वास्थ्यकर्मी पु¥याउन सकेको छैन, के को भूत चढेको होला यस्तो ? बजेट खर्च गर्नुपर्ने भएर हो कि स्थानीयलाई काममा लगाउनु पर्ने भएर हो ?’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->