बागलुङ, १९ मंसिर– खाली रहेको विद्यालय भवन उपयोग गरेर बागलुङको काठेखोला गाउँपालिकाले अस्थायी कोभिड–१९ अस्पताल निर्माण गरेको छ । काठेखोला वडा नं. ६ बिहुँमा रहेको भीमसेन प्राथमिक विद्यालयको भवनमा अस्थायी कोभिड–१९ अस्पताल बनाईएको हो ।
गाउँपालिकामा कोरोना संक्रमितहरुको उपचारका लागि दश शैयाको अस्पताल निर्माण भएको हो । विद्यार्थी संख्या कम भएर नजिकैको अर्को विद्यालयमा प्राथमिक तह गाँभिएपछि खाली रहेको भीमसेन प्राविको भवन उपयोग गरिएको गाउँपालिका अध्यक्ष अमर थापाले बताए ।
भीमसेन प्रावि नजिकै रहेको भीमसेन माविमा गाँभिएपछि भवन खाली थियो । ‘अस्थायी अस्पताल बनाउन अन्य भवनहरु थिएनन्, विद्यालयको खाली भवनको उपयोग गर्यौं’ अध्यक्ष थापाले भने ‘कोभिड अवधिभर यो भवनमा अस्पताल रहनेछ ।’
पहिले क्वारेन्टाईन बनाईएको भवनमा शैयाका लागि आवश्यक पूर्वाधारहरु निर्माण गरेर अस्पतालको रुपमा विकास गरिएको हो । अस्पताल सञ्चालनका लागि गाउँपालिकाले जनस्वास्थ्य अधिकृत सातौं तहका रामचन्द्र लामाको नेतृत्वमा चार जना खटाएको छ । दुईजना स्टार्फ नर्स करार सेवाका परिचालन भएका छन्भने एक जना कार्यालय सहयोगीले उनीहरुलाई सघाउने छन् ।
‘अस्थायी भएपनि अस्पताल हो, आवश्यक पूर्वाधार सम्पन्न बनाईएको छ’ प्रमुख प्रशासकीय अधिकृत चुर्ण बहादुर कार्कीले भने ‘मितव्ययी हिसाबले बिरामीको हितमा अस्पताल चल्नेछ ।’ अस्पतालको अनुगमन गाउँपालिकाले गर्नेछ भने आवश्यक पूर्वाधार, उपकरण र औषधिको व्यवस्था गरिएको उनले बताए ।
गाउँपालिकालाई संघिय सरकारले अस्थायी कोभिड अस्पतालको लागि १० लाख उपलब्ध गराएको थियो । पाँच लाख रुपैयाँ कर्मचारीको व्यवस्थापन र बाँकी पाँच लाखमा पूर्वाधार निर्माण गर्ने कार्यविधि छ । कोभिड–१९ अस्थायी अस्पतालको गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापाले उद्घाटन गरे ।
‘सरकारले पाँच शैयाको अस्पताल बनाउन भनेको थियो, हामीले दश शैयाको बनायौं’ अध्यक्ष थापाले भने ‘सम्भावित बिरामी, जनशक्ति र पूर्वाधारको आधारमा शैया बढाईएको हो ।’ गाउँपालिकाले चिकित्सकको लागि आवेदन मागेपनि नपरेपछि जनस्वास्थय अधिकृतलाई जिम्मेबारी दिएर थप प्रक्रियामा लागेको छ ।
काठेखोलामा हालसम्म ७८ जना संक्रमितमध्ये ७४ जना निको भइसकेका छन् । अस्थायी अस्पतालमा दुई जनाले उपचार गराईरहेका छन् । अस्पतालमा रहेका संक्रमितहरुलाई आइसोलेसनमा दैनिक ३ पटक खानाको व्यवस्था गरिएको र कोभिड महामारीमा काम गर्ने स्वास्थ्यकर्मीलाई ५० र ७५ प्रतिशत जोखिम भत्ताको व्यवस्थापन गरेको गाउँपालिकाले जनाएको छ ।
यो अस्पताल सञ्चालनपछि अक्सिजन आवश्यक बिरामीको काठेखोलामै उपचार हुनेछ भने भेण्टिलेटर र सघन उपचार कक्षको आवश्यक बिरामीलाई मात्रै सदरमुकाम बागलुङ बजार पठाईने छ ।





