
बागलुङ, २१ मंसिर– जिल्लाको जैमिनी नगरपालिकाको सक्रियतामा २०७६ फागुन १० गते वडा नं. ७ जैदीमा १ सय २१ जना महिलामा पाठेघर क्यान्सरको परीक्षण गरियो । शिविर सञ्चालन गरेर जैदीका महिलामा मात्रै गरिएको परीक्षणमा ८ जनामा खतरायुक्त अवस्था देखियो । ९ जना शंकास्पद थिए, उनीहरुमा क्यान्सरका लक्षणहरुसँग मिल्दाजुल्दा लक्षण देखिए । समयमा परीक्षणको अवसर पाएकाले खतरामा रहेका महिलाहरु समयमै पाठेघरको मुखको क्यान्सरको उपचार गराए । ९ जनाले आफ्नो अवस्थाको विषयमा जानकारी पाए र सतर्क छन् ।
जैदीमा जस्तै जैमिनी नगरपालिकाका विभिन्न वडा, काठेखोला गाउँपालिका, बागलुङ र गलकोट नगरपालिकाले मात्रै पाठेघरको मुखको क्यान्सरको विषयमा खोजी भयो । दश स्थानीय तह रहेको बागलुङका बाँकी ६ स्थानीय तहले भने बहानाबाजीमा प्रजनन् स्वास्थ्यका कार्यक्रमनै चलाएनन् । पाठेघरको मुखको क्यान्सर र पाठेघर खस्ने समस्या महिलाहरुमा धेरै हुने समस्या हो । सामाजिक मान्यता र उपचारको विषयमा जानकारी नभएका कारण यस्ता समस्यामा महिला खुल्दैनन् ।
संघीयताको कार्यान्वयनसँगै जिल्ला स्वास्थ्य कार्यालय खारेज भएर महिलाको प्रजनन् स्वास्थ्य सम्बन्धि कार्यक्रमहरु स्थानीय तहमा रुपमान्तरण भए । महिलाको पाठेघरको क्यान्सरको संवेदनशिलता बुझेका स्थानीय तहले शिविरमार्फत सम्भावित बिरामीको खोजी र उपचार गराए ।
जिल्लाको बडिगाड, निसीखोला र बरेङ गाउँपालिकाले आफ्नो वार्षिक कार्यक्रममा राखेर पनि कार्यान्वयनमा कोभिड–१९ बहाना बनेको अनौपचारिक क्षेत्र सेवा केन्द्रले उल्लेख गरेको छ । चारवटा पालिकामा मात्रै भएको परीक्षणमा ६ सय १२ जना महिला सहभागि भए । परीक्षणमा सहभागी महिलामध्ये २२ जनामा क्यान्सर पहिचान भएको तथ्यांक छ । ७ जनामा क्यान्सरको लक्षण देखिएको थियो । चार स्थानीय तहमा भएको परीक्षणमा पाठेघर खस्ने समस्या भएका महिलाको संख्या धेरै भेटिएको थियो । जाँच गर्न आएका महिलामध्ये ९१ जना महिलालाई पाठेघर अड्याउनका लागि रिङ राखिएको तथ्यांक स्थानीय तहका स्वास्थ्य शाखामा छन् ।
‘चौमासिकमा हुने कार्यक्रमअन्र्तगत हामीले पहिलो चौमासिकको मात्रै कार्यक्रम सञ्चालन गर्न सक्यौं’ बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले भने ‘बाँकी दुई चौमासिकको कार्यक्रममा कोभिड–१९ को प्रभाव रह्यो ।’ बरेङमा जस्तै निसीखोलाले पनि कोभिड कारण देखाउँदै कार्यक्रम कार्यान्वयनमा ल्याएन ।
पाठेघर खस्ने र मुखको क्यान्सर संवेदनशिल विषय भएको चिकित्सकहरु बताउँछन् । कुनैपनि बहानामा यस्ता समस्याहरुको पहिचान गर्न चुक्न नहुने चिकित्सकहरुको सुझाव छ । ‘पाठेघरको मुखकको क्यान्सर समयमा पहिचान भएमा उपचार गर्न सकिन्छ’ डा. गिरीधारी शर्मा भन्छन् ‘यसका विभिन्न चरणहरु हुन्छन्, तिनको पहिचान आवश्यक छ ।’
शर्माले भनेको जस्तै पाठेघर खस्ने र क्यान्सरको पहिचानका लागि नियमित जाँचको आवश्यकता पर्छ । महामारीको बहानामा सञ्चालन नभएका कार्यक्रमले महिलाहरुको स्वास्थ्य लाभको अधिकार खोसीएको अनौपचारिक क्षेत्र सेवा केन्द्र बागलुङका सिर्जना पन्तले बताईन् ।
चालु आर्थिक वर्षको लागि भने स्वास्थ्य कार्यालय बागलुङले नै विभिन्न शिविरमार्फत बिरामीको पहिचान गर्नेछ । ‘पाठेघरको समस्या भएका महिलाको लागि सजिलो विधिबाट उपचार गर्न सकिन्छ’ स्वास्थ्य कार्यालय बागलुङका स्रोतव्यक्ति देव प्रकाश घिमिरेले भने ‘रिङ राख्ने, व्यायम गर्ने र अप्रेसन गरेर खस्ने समस्याको समाधान हुन्छ भने उपचार गरेर शंकास्पद क्यान्सरको ।’
समयमा परीक्षण गर्न सके पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ । पाँच वर्षभित्र पाठेघरको मुखमा हुन सक्ने क्यान्सरका बारेमा जानकारी हुने भएपनि जनचेतनाको अभावमा वर्षेनी धेरै महिलाको यो रोगबाट मृत्यु हुने गरेको विपि कोईराला क्यान्सर अस्पताल भरतपुरले उल्लेख गरेको छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार सन् २०१८ मा विश्वमा पाँच लाख ७० हजार महिलाको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु भएको छ । नेपालमा सन् २०१७ मा ४ हजार ९७५ जना नयाँ क्यान्सरका बिरामी थपिएकामा ५४४ जनालाई पाठेघरको मुखको क्यान्सर देखिएको थियो । अहिले पनि क्यान्सरमध्ये २० प्रतिशत पाठेघरको मुखको क्यान्सर भएका बिरामी भेटिने गरेको तथ्यांक रहेकाले पाठेघरको क्यान्सर जाँच र उपचारमा स्थानीय तह संवेदनशिल हुनुपर्ने सरोकारवाला बताउँछन् ।





