प्रविधिले पछिल्लो दश वर्षमा मारेको फड्को आम मानिसलाई अचम्मित तुल्याउने खालको छ । नेपालका प्राय सबै शहरका युवाले इन्टरनेट चलाउनको लागि प्रयोग गर्ने 4G सेवा १० वर्ष अगाडी कल्पना बाहिरको कुरा थियो । विश्व प्रशिद्ध कम्पनी एप्पलको आइप्याड सन २०१० सम्म धेरैलाई थाहै थिएन । उवर र एअरबीएनबी जस्ता कम्पनी पनि विगत दश वर्षमै अस्तित्वमा आएर अहिले समाजनै परिवर्तित गरिदिएका छन । मोबाइल फोन को एण्ड्रोइड सप्mटवेयर र एलइडी वल्व पनि पछिल्लो १० वर्षका प्रगति हुन ।
प्रविधिको द्रुत विकासले मानिसका काम गर्ने शैलि फेरिएको छ । मानिसले गर्ने धेरै काम प्रविधि जडित यन्त्र मानवले गर्न लाएका छन । आगामी दश वर्षमै मानिसका धेरै पेशालाई यन्त्रले विस्थापित गर्ने निश्चित छ ।
नेपालको अवस्थाः
नेपाल सन् १९७१ मा २५ वटा अन्य देशसंगै पहिलोपटक अति कम विकसित राष्ट्रको सूचीमा परेको थियो । त्यसपछिको करीब आधा सताब्दीमा राष्ट्रलाई माथी उठाउनका लागि अनेक प्रयास गरिएको भएपनि अपेक्षित परिणाम हासिल हुन सकेको छैन । नेपालको आर्थिक विकासको वाधक तत्कालिन राज्य व्यवस्थालाई मानेर सन १९९० र २००६ मा भएका ठूला आन्दोलनले यहाँको राजनैतिक व्यवस्था परिवर्तन गरिदिए । ती परिवर्तन सिमित व्यक्तिलाई सत्तामा पुर्याउने भर्याङ त बने तर आम नेपालीको जीवनलाई समृद्धिको बाटोमा डोर्याउन पूरै असफल रहे । बरु मुलुक हरेक क्षेत्रमा निस्किनै नसक्ने जस्तो गरी अराजकताको व्यूहमा फसेको छ ।
पछिल्लो समय राष्ट्रिय छापाहरुमा लोकतान्त्रिक समाजमा कल्पना पनि गर्न नसकिने संगठित आर्थिक भ्रष्टाचारका समाचार निरन्तर आइरहेका छन । भ्रष्टाचारका जरा समाजको तल्लो तहसम्मै उखेल्नै नसकिने जस्तो गरी गडेको छ । कानून बनाउने तहमा विभिन्न “स्वार्थी” व्यावसायिक समूहका व्यक्ति पुगेका छन । तिन्लाई आप्mनो स्वार्थ बाहेक जनताको बारेमा सोच्ने न चाहना छ न ज्ञान नै । भविष्यका कर्णाधार पनि भनिने स्कूल र क्याम्पसका धेरै विद्यार्थीको एउटै चिन्ता पढाई सकेपछि विदेशको भिषा कसरी लगाउने ? भन्ने छ ।
अवस्था यस्तो छ कि कसैले केही नयाँ गर्छु भन्ने सपना देख्यो भने उ या त “हावा गफाडी” कहलिन्छ या “पागल” । सपना देख्नु उद्देष्य लिनु हो । कुनै उद्देष्य नै भएन भने कहाँ पुग्ने ? कुन बाटो हिंड्ने ? उद्देष्यले जीवनलाई गतिशील बनाउँछ । जीवनमा व्यावहारिक अर्थमा प्राण भर्दछ । यो कुरा व्यक्तिमा मात्र नभएर संघ, संस्था, दल र समाजमा कृयाशील सबैमा लागू हुन्छ । दुनियाँमा सम्भव भइसकेको विकासको कुनै कार्य नेपालमा गर्छु भन्दा यदि “गफाडी” भइन्छ भने सोचौं हाम्रो समाज कहाँ छ ?
आशाको त्यान्द्रो :
तर कालो बादलको वरिपरि चाँदिको घेरा हुन्छ भने जस्तै नेपालमा आशा गर्ने ठाउँनै नभएका भने होइनन । विगतका दशकमा नेपालले गरिवि निवारणमा उल्लेख्य प्रगति गरेको छ । सन १९९५ मा ४२% रहेको गरिविको संख्या २०१५ सम्म आइपुग्दा घटेर २३.८% भएको छ । त्यस्तै सन १९९० मा ०.३७८ रहेको मानव विकास सूचकांक २०१५ मा ०.५५८ पुगेको छ । महिला सशक्तीकरण र वच्चाहरुलाई स्कूलमा भर्ना गर्ने जस्ता सामाजिक कार्यहरुमा पनि नेपालले लोभलाग्दो सफलता प्राप्त गरेको छ । विश्व बैंकले आगामि वर्ष नेपालको आर्थिक वृद्धिदर ५% को हाराहारीमा रहने प्रक्षेपण गरेको छ । आ.व.२०७३/७४ मा प्राप्त भएको ७.५% को आर्थिक बृद्धिदर भन्दा कम भएपनि बाढी र पहिरो जस्ता प्राकृतिक प्रकोपहरुका बीचमा प्रक्षेपित बृद्धिदर हासिल भएमा सन्तोष नै मान्नु पर्दछ ।
नेपालका व्यापारिक र व्यावसायिक गतिविधीमा केही नवीनता देखिन थालेका छन । पढेलेखेका यूवाले कृषी पेशा अँगाल्दा होस या कथित उपल्लो जातिका भनिने व्यक्तिले फलामका काम गर्दा हेयको दृष्टिले हेर्ने पुरानो नेपाली समाज अव छैन । परम्परागत पेशा व्यावसायमा प्रविधिले हस्तक्षेप गर्दै आएको छ । खेती प्रणालीको व्यावसायीकरण सँगै परम्परागत हाते औजार विस्तारै यन्त्रद्वारा विस्थापित हुँदैछ । वस्तु वा सेवा खरीद गर्दा भुक्तानीका लागि नगद वा चेकनै चाहिने आवश्यकता अव छैन । स्मार्ट कार्डद्वारा भुक्तानी गर्न सकिने प्रविधिको अवलम्बन र ई–सेवा वा खल्ती र हरेक जसो बैंकका आइपिस प्रणालीको विकासले विद्युतिय भुक्तानी प्रणालीमा नेपालले ठूलै फड्को मारेको छ । टुटल र पठाओ वा अन्य इन्टरनेटमा आधारित व्यापारको सफलताले उद्यमीलाई केही उर्जा अवस्य प्रदान गर्दछ । नेपालका गाउँगाउँमा प्राविधिक शिक्षालयको स्थापना भएका छन । यूवाहरुको चाहना साधारण शिक्षामा भन्दा प्राविधिक सीप हासिल गर्नमा बढी छ । नेपालमा देखिएका यी परिवर्तनले नेपालमा भोलिको कामको दुनियाँ निकै फराकिलो रहेको संकेत दिएको छ ।
रोजगारीको भावि आयाम :
विश्वव्यापीकरणसँगै भविष्यमा नेपालको अर्थव्यवस्थामा पनि दुईवटा मूख्य परिवर्तन देखिने निश्चित जस्तै छ । पहिलो “हरित अर्थव्यवस्था (Green Economy)” र दोश्रो “गिग अर्थव्यवस्था (Gig Economy)” ।
नेपाल, जलवायु परिवर्तनले पार्ने प्रभावको निकै ठूलो जोखिम भएको मुलुक हो । प्रविधिमा आएको परिवर्तनले ल्याएका यस्तो नकारात्मक असरलाई न्यून गर्न सक्ने ज्ञान र सीप सहितका दक्ष जनशक्ति नेपालकोे अहिलेको आवश्यकता हो ।
दीगो विकाससंगै जोडिएको अवधारणा, हरित अर्थतन्त्रमा, सार्वजनिक वा निजी लगानी गर्दा कार्वन उत्सर्जन र प्रदुषण कम गर्ने, उर्जा र श्रोतको प्रभावकारी प्रयोग गर्ने र जैविक विविधतामा हुने हानीलाई रोक्ने कुरालाई विशेष ध्यान दिइन्छ । यस्मा स्वच्छ र स्वस्थ पर्यावरणको अभावमा दीगो आर्थिक तथा सामाजिक विकास हुन सक्दैन र बलियो अर्थतन्त्र बिना पर्यावरणको उचित संरक्षण गर्न सकिंदैन भन्ने मान्यताले काम गर्दछ ।
काठमाडौं उपत्यकामा १० वर्षभित्र पेट्रोलियम पदार्थबाट चल्ने गाडीलाई बन्द गरेर विद्युतिय सवारी साधन मात्र चलाउने संकल्प प्रस्ताव ३ वर्ष अगाडीनै संसदमा पेश भइसकेको थियो । भविष्यमा विद्युतिय गाडी नचलाई सुखै छैन । यसप्रकार भविष्यको अटोमोवाइल उद्योग, हरित उद्योग हुनेछ । यो एउटा उदाहरण मात्र हो । अन्य क्षेत्रको पनि अवस्था यही हुनेछ । तसर्थ पर्यावरण संरक्षणको विषयमा जानकार जनशक्ती तयार गर्ने समग्र शिक्षा प्रणालीको नै हरितीकरण गर्न आवश्यक छ ।
सूचना प्रविधिमा भएको विकासले व्यक्तिको दैनिक जीवन मात्र होइन विभिन्न व्यापार र व्यावसायका सांगठनिक संरचना पनि परिवर्तन गरिरहेको छ । गिग अर्थव्यवस्था त्यसैको एउटा उदाहरण हो । सूचना प्रविधिले नीकै खुम्च्याएको यो विश्वमा व्यक्ति आजीवन कुनै एउटा संगठनमा आवद्ध भएर संकुचित हुन चाहदैन । कोही व्यक्तिसँग भएको सीप, विज्ञता वा खुवीलाई “अन्लाइन प्लेटफर्म (Online Platform)”को माध्यमबाट बेच्न सकिने प्रणालीको शुरुवात भइसकेको छ । भविष्यका जनसक्ति पढाई सकिए पश्चात रोजगारीका लागि भौंतारिने खालका हुने छैनन । उनीहरुले आप्mनो लागि आफैं काम सिर्जना गर्ने छन । विभिन्न अन्लाइन प्लेटफर्मले यिनीहरुको बजारिकरण र प्रवर्धनमा भूमिका खेल्नेछन । उवर (Uber), एअरबीएनबी (Airbnb)जस्ता अन्लाइन प्लेटफर्महरु यस्तै व्यावसायकालागि विश्वमा प्रशिद्ध छन । नेपालमै पनि पठाओ र टुटल जस्ता यस्तै प्रकृतीको व्यावसाय शुरु भइसकेको छ ।
एक दशक लामो द्वन्द र त्यतीनै लामो राजनैतिक संक्रमणमा फस्दा समेत सहश्राब्दी विकास लक्ष्य निर्धारित समयमै हासिल गरेको नेपालले दीगो विकास लक्ष्य पनि समयमै प्राप्त गर्ला । तर विश्वमै रोजगारीका नयाँ शैलीको खोज र अभ्यास भइरहेको बेलामा त्यसको प्रभाव नेपालमा नपर्ने कुरै भएन । तसर्थ यहाँ भविष्यका पेशा र व्यावसायहरु हरित र गिग अर्थव्यवस्थामा आधारित हुनेछन भन्ने तथ्यलाई बुझेर अहिले देखिनै त्यसको तयारी गर्दा निर्धारित समयमै लक्ष्य हासिल मात्र नभएर नेपाललाई विश्वव्यापी अर्थव्यवस्थासँग अुनुकुलन गर्न पनि निकै सहज हुनेछ ।
मो.नं.: ९८४१२६४२४३/ ट्वीटरः navin_kiran





