पोखरा, २४ मंसिर- पोखरामा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखराको गण्डकी मेडिकल अस्पतालमा उपचाररत २ जना, मणिपाल हस्पिटलमा उपचाररत एकजना र फिस्टेल हस्पिटलमा उपचाररत एकजनाको कोरोनाबाट मृत्यु भएको हो ।
मंसिर १७ गते कोरोना पुष्टि भई उपचाररत पोखरा १४ का ७४ वर्षीय पुरुषको मंसिर २३ गते बिहान सवा ७ बजे तथा मंसिर २१ गते कोरोना पुष्टि भई उपचाररत पोखरा १५ का ६७ वर्षीय पुरुषको मंसिर २४ गते बिहान सवा ४ बजे गण्डकी मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्माले जनाए । उता,मंसिर २२ गते कोरोना संक्रमण पुष्टि भई मणिपाल शिक्षण अस्पतालमा उपचाररत पोखरा–१३ का ७७ वर्षीय पुरुषको मंसिर २३ गते राति तथा मंसिर १७ गते कोरोना पुष्टि भई फिस्टेल हस्पिटलमा उपचाररत पोखरा १६ की ५९ वर्षीया महिलाको मंसिर २४ गते बिहान सवा ५ बजे मृत्यु भएको निर्देशनालयले जनाएको छ । कोरोनाबाट गण्डकी प्रदेशमा हालसम्म १७६ जनाको मृत्यु भइसकेको छ । गण्डकीमा पछिल्लो २४ घण्टामा ९६ जनामा संक्रमण देखिएको छ । गण्डकीमा अहिले ५ हजार २३९ जना सक्रिय संक्रमित छन् ।





