पोखरा, २६ मंसिर- आर्थिक अवस्थाका कारण थप उपचार गर्न नसक्दा नवलपुरमा कोरोना संक्रमित ७० वर्षीया वृद्धाको मृत्यु भएको छ । कोभिड संक्रमणपछि स्वास्थ्यमा थप जटिलता उत्पन्न भएपछि हुप्सेकोट गाउँपालिका वडा नं. ४ शंखदेवकी एक वृद्धाको बुधबार मृत्यु भएको हो ।
मंसिर १४ गते कोभिड–१९ संक्रमण पुष्टि भएकी ती महिला नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा रहँदै स्वास्थ्यमा झन् जटिलता आएपछि भेन्टिलेटरसहितको आइसीयूमा थप उपचारका लागि भरतपुर लैजान डाक्टरले सुझाव दिँदा परिवारले आर्थिक अवस्थाका कारण उपचार गर्न नसक्ने भन्दै घरमा लगेकै भोलिपल्ट मृत्यु भएको हो ।
अस्पतालले भरतपुर रिफरको सुझाव दिँदा ती वृद्धाका छोराले आर्थिक तथा पारिवारिक अवस्था कारण बिरामीको भरतपुरमा उपचार गराउन नसक्ने भएकाले घर फर्काउने प्रक्रिया मिलाइदिन मन्जुरीनामा दिएका थिए । अस्पतालका कोरोना फोकल पर्सन डा. शिवराज न्यौपानेका अनुसार श्वासप्रश्वाससम्वन्धि समस्या भएर मंसिर १० गते अस्पतालमा ल्याइएकी ति बृद्धाको फोक्सोको दुबै भागको तल्लोपट्टि निमोनिया थियो । कोभिडसँग मिल्दोजुल्दो लक्षणको आशंकामा १२ गते स्वाव संकलन गरि परीक्षण गर्दा १४ गतेको रिपोर्टमा पोजेटिभ देखियो । कोरोना पुष्टि भएपछि आइसोलेसनमा राखिएकी उनमा दम र निमोनियाको समस्या बढ्दै गएकाले भरतपुर रिफर गर्दा लैजान नसक्ने भन्दै परिवारले मंगलबार घर लगेको डा. न्यौपानेले बताए ।





