बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

स्वास्थ्य संस्थाका भवन बने, उपकरण पुगेनन्

स्वास्थ्य संस्थाका भवन बने, उपकरण पुगेनन्


  • ढोरपाटन संवाददाता
  • मंसिर २७ २०७७, शनिबार

बागलुङ, २७ मंसिर– ग्रामीण बस्तीमा धमाधम स्वास्थ्य चौकी भवन बनिरहेका छन् । तर ती भवनमा आवस्यक उपकरण अभावले प्रभावकारी उपचार हुन नसकेको स्वास्थ्यकर्मीले गुनासो गर्न थालेका छन् ।
पुराना र जीर्ण भवन हटाएर करोडौंका भवन बनिसक्दा सामान्य उपकरणमा भने जिल्ला र नगरबाट सहयोग नभएको हो । बागलुङ नगरपालिकाको सबैभन्दा टाढाको वडा नं. ११ र १२ का स्वास्थ्यचौकीमा यो समस्या देखिएको हो । ‘करोडौंको भवन बनेको छ, तर उपकरणहरु छैनन्, त्यसले बर्थिङ सेन्टर संचालन र नियमित उपचार सेवामै असर गरेको छ’ स्वास्थ्यचौकी इन्चार्ज कृष्णप्रसाद शर्माले भने, ‘हेर्दा राम्रो भवनले भन्दा उपकरणबाट सेवा दिन सकेमा जनताले राम्रो मान्छन् ।’ पटक पटक नगर र जिल्ला तहमा समस्याबारे जनाए पनि माग पुरा नभएको उनले बताए ।
अमलाचौर स्वास्थ्य चौकीमा वर्षमा ४० जनासम्मले सुत्केरी सेवा लिने गरेका छन् । गत साउनदेखि पनि ११ जनाले सेवा लिएको अनमी कल्पना घिमिरेले बताइन् । ‘तालिम प्राप्त दक्ष प्रसुतीकर्मी भएर पनि उपकरण नभएमा सदरमुकाम पठाउनुपर्छ’ घिमिरेले भनिन्, हरेक चौकीमा न्युनतम उपकरण नगरपालिकाबाटै उपलब्ध भएपनि हुन्थ्यो ।’ एक्सरे, भिडियो एक्सरे र ल्याब अनिवार्य भएमा उपचार सेवा सहज हुने उनले बताइन् ।
वडा नं. ११ रायडाँडामा पनि उपकरण र दक्ष जनशक्ती अभाव छ । हरेक वर्ष बर्थिङ सेन्टरका लागि उत्कृष्ट काम गरेको रायडाँडा स्वास्थ्य चौकीमा इन्चार्जसमेत अभाव छ । केही दिनअघि सरुवा भएर गएका अहेव कृष्ण पौडेलको स्थानमा पनि कोही गएको छैन । त्यस्तै यहाँ अनमी र हेल्थ असिस्टेन्टको दरबन्दीसमेत लामो समयदेखि खाली भएको हो । नगरपालिकामा पहल भैरहेकोले आवस्यक दरबन्दी छिट्टै प्राप्त हुने वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले बताए ।
हालै सारिएको स्वास्थ्यचौकी भवन भने चुहिने अवस्थाको रहेको स्थानीयले बताए । लामो समयदेखि हस्तान्तरण रोकिएको यो भवन ठेकेदारले हस्तान्तरण गरेका छन् । तर स्वास्थ्यचौकीमा प्रवेश गर्ने बाटो पुरा नभएको हो । गुणस्तरहिन भएको भन्दै लामो समय विवादपछि गुणस्तर परीक्षण पनि गरिएको थियो । उक्त परीक्षणमा गुणस्तरिय देखिएकोले हस्तान्तरण गरिएको भवन निर्माण आयोजना कार्यालय बागलुङका सव इन्जिनियर हरिशंकर रजकले भने, ‘सामान्य त्रुटी भएको भए आगामी वर्षको बजेटबाट मर्मत गरिन्छ ।’ भवन बनेको दुइ वर्षसम्म चौकी नसारिएकोले केही समस्या आएको हुनसक्ने उनले बताए ।
उपकरणको समस्या भएपनि स्वास्थ्यचौकीबाट दिने सेवा प्रवाह भने गुणस्तरीय भएको स्थानीयले बताए । केही समयदेखि अमलाचौरमा नियमित गर्भ परीक्षण गर्ने महिलाका लागि अण्डा, आइरन चक्की र साबुन दिने गरिएको छ । गर्भ रहेदेखि सुत्केरी हुने बेलासम्म महिलाले चारपटक गर्भ परीक्षण गर्नुपर्छ । गर्भ परीक्षण गर्नेलाई दुइपटकसम्म एक÷एक क्रेट अण्डा दिने गरिएको हो । ‘पौष्टिक आहार पुगोस् भनेर अण्डा दिइन्छ’ घिमिरेले भनिन्, ‘सुत्केरी हुने बेलामा आमा र शिशुलाई न्यानो कपडा पनि दिने गरिन्छ ।’ भिडियो एक्सरे राख्न सकेमा जटिल समस्या हुने नहुने समयमै खबर गर्न सकिने र स्वास्थ्य चौकीको विश्वास अझै बढ्ने उनले बताइन् । आमा सुरक्षा कार्यक्रमले ग्रामीण महिलाको स्वास्थ्यमा सुधार आएको समेत उनले दाबी गरिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->