आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

जीवन चलाउन परिश्रम, सीप र चेतना आवश्यक

जीवन चलाउन परिश्रम, सीप र चेतना आवश्यक


  • नवीन प्रताप जिसी
  • मंसिर २८ २०७७, आइतबार
स्तम्भ : गरे के हुन्न ?

मझौला कद, गहुँगोरो वर्णको अनुहार, टमक्क मिलेका सेता दाँत, हँसिलो चेहरा उनका बाहिरी विशेषता हुन् । खाटी जनजाति परिवारमा जन्मेकाले होला बोलीको लवजमा हल्का मगर टोन भेटिने अत्यन्तै मिलनसार र सहयोगी व्यक्तिको नाम हो यम बहादुर पुन । कपाल हेरी छुरा, मान्छे हेरी कुरा भनेजस्तै जो जस्तो छ त्यस्तै काम र कुरा गर्न सक्नु उनको अर्को विशेषता हो । उर्जााशील जीवनका १२÷१३ वर्ष विदेशको खाडीमा विताएका उनी जीवनमा कहिल्यै दुःखसँग सम्झौता नगर्ने संघर्षशील व्यक्ति हुन् । पाखुरा बजारेर र पसिना चुहाएर आर्जन गरेको २ पैसा भ्रष्टाचार गरेर कमाएको करोडौभन्दा कति हो कति बढी मूल्यवान हुन्छ भन्ने मान्यता छ उनको । कम्पनीले दिएको व्यक्तिगत गाडी, वासस्थान अनि मासिक २ लाख २० हजारसम्मको पारिश्रमिक सुविधा चटक्कै छाडेर आफ्नै देश र जन्मभूमिमा केही गर्नुपर्छ भन्ने मान्यताका साथ कृषि पेशामा होमिएका छन् उनी । करिब ६० लाखको लगानी गर्ने लक्ष्यसहित जैमिनी नगरपालिकाको केन्द्र कुश्मीसेरास्थित ठेउलेखोलाको बगरमा ७ रोपनी जग्गा भाडामा लिएर जैमिनी कृषि तथा पशुपंक्षी फार्म एण्ड रिसर्च सेन्टर साथै जैमिनी ब्लक उद्योग सञ्चालनमा ल्याएका छन् । आफ्नो विगत बिर्सनु भनेको आफैलाई बिर्सनु हो भन्ने मान्यता राख्ने यिनै मेहनती युवा व्यावसायी यम पुनसँगको भलाकुसारीको सारसंक्षेप ।
बाबा खडक बहादुर पुन र आमा तिल कुमारी पुनको कोखबाट वि.सं. २०३७ मंसिर २३ गते जैमिनी नगरपालिका वडा नं. १० राङखानी, माझगाँउ (साविकको राङ्खानी गाविस)मा उनको जन्म भएको हो । चार दिदीबहिनी र तीन भाइमध्येका जेठो छोराका रुपमा जन्मेका यम पुनको जीवनी बुझ्दै जाँदा अत्यन्तै रोचक र उर्जाशील लाग्छ । राङखानी मा.वि. डाँडाखानीबाट एसएलसी उत्तीर्ण गरेका पुन केही वर्ष लाहुरे हुने र जागिर खाने बहकाउमा कहिल्यै लागेनन् । वर्गीय राजनीतिमा आस्था राख्ने र जीवन शर्माका जनवादी गीतबाट प्रभावित हुँदाहुँदै पनि बाध्यताले अरबको खाडी होमिएको उनी बताँउछन् । आजभोलिका बाउआमाको काखमा पुलपुलिएर हुर्केका युवा एकपटक जसरी पनि विदेश जानुपर्छ भन्ने उनको मान्यता छ । ‘विदेश खुल्ला पाठशाला हो । संसारभरीका मान्छेसँगको चिनारी हुनुका साथै कम्पनी कसरी सञ्चालन हुँदारहेछन, दुःःख भनेको के रहेछजस्ता कुरा विदेशबाहेक कुनैपनि पाठशालामा सिक्न पाइन्न ।’ उनी थप्छन, ‘विदेश गएर पैसा मात्रै ल्याउने होइन सँगै सीप र जाँगर पनि लिएर आउनुपर्छ र त्यो सीपलाई आफ्नो देशमा लगानी गर्नुपर्छ ।’ आर्कषक तलब र सेवा सुविधासहितको विदेशी जागिर छोडेर आँउदा साथीभाई र आफन्तले पैसाले मातेर आएको भनी खिसी गरेपनि पहिल्यैदेखि आफ्नै गाउँठाउँमा केही न केही गर्ने भित्री मनको हुटहुटीलाई साम्य पार्न र आफ्नै ठाँउमा आत्मनिर्भर बन्न यो व्यवसाय सुरु गरेको उनी बताँउछन् । विदेशबाट फर्के पछिको २ वर्ष कुन क्षेत्रमा लगानी गर्ने भन्ने अन्योलमा बितेको र पछि कृषि क्षेत्रको सम्भावना ब्यापक देखेकाले यो फर्म सुरु गरेको उनको भनाई छ । हाल यस फर्ममा आधुनिक बंगुरपालन, लोकल कुखरा, बट्टाई, टर्की, कडकनाथ तथा कालिजलगायतका अण्डा उत्पादन तथा मासु वितरण, आधुनिक मत्स्य पालन गर्नुका साथै जैमिनीमै पहिलोपल्ट अत्याधुनिक ब्लक उद्योगसमेत सञ्चालनमा ल्याएका छन् । निर्माणको कार्य अन्तिम चरणमा नपुग्दै सेवा सुचारु गरिसकेका पुनले बंगुर पालनमा गर्भवती माउ, सुत्केरी, माउ छोडेको बच्चा, बिरामी तथा भाले (व्याडे) बंगुरहरु राख्ने छुट्टाछुट्टै व्यवस्थित कोठा बनाएका छन् । बंगुरलाई पानी खानको लागि आधुनिक निप्पलको ब्यवस्था गरिएको छ । जहाँ आफैंले तिर्खा लागेको वखत चुसेर खान सक्छन् । यसो गर्दा बंगुरले आफैंले सफा पानी खान पाउने उनको दाबी छ । हाल १४ वटा माउ बंगुरबाट सुरु गरेकोमा १० वटा ब्याउने भएको र साधारणतया एउटाले अनिवार्य जस्तो १० देखि १२÷१३ सम्म पाठा जन्माउन सक्ने भएकाले करिब १ महिनाभित्रमा १०० बंगुर हुने उनको ठम्माई छ । यस फर्मभित्र बढीमा ३०० पाल्ने लक्ष्य उनको छ । बंगुरको मासु वितरणका लागि पोखरा र बुटवलमा बजार तयार गरिसकेकाले मासु बिक्रीमा कुनै समस्या नभएको उनी बताउँछन् । ‘अब विस्तारै बंगुरलाई चाहिने दाना पनि आफैं उत्पादन गर्ने हो’ उनले आफ्नो योजना सुनाउँछन् । बंगुरको खोरबाट निस्केको फोहर तथा अन्य ठाँउबाट निस्केको फोहोरलाई प्यवस्थित गरि २० घनमिटरको खाडल बनाई आधुनिक तरिकाले ग्यास उत्पादन गरिसकेका छन् । ‘ऊ यो ग्यास बन्ने ट्याङ्की हो । यसबाट बंगुरको खाना बनाउन र मानिसको खाना बनाउन जति पनि पुग्छ’ उनी थप्छन् । हाल आएर कृषि क्षेत्रमा वास्तविक किसानभन्दा गैरकृषक बढी हावी भएकोमा उनको दुखेसो छ । ‘म अरुले जस्तो अनुदान खानका लागि मात्र नभएर साँच्चिकै काम गर्नका लागि कृषि कर्म गरेको हुँ ।’
उनले हाल बंगुर सँगसँगै ५०० बट्टाई पाल्न सुरु गरेका छन् । बट्टाइका चल्लाहरु अब उड्ने अवस्थामा पुगेकाले छुट्टै खोर निर्माण गर्नुपर्नेमा कर्मी अभावको कारण खोर बनाउन ढिलाई भएको बताउँछन् । गर्मी याम सुरु भएपछि जेठतिरबाट कालिज उत्पादन गर्ने उनको योजना छ । आफ्नो योजना अनुसारको ठाउँ भएको, पानी प्रसस्त, तातो प्रसस्त भएको भएपनि खोलाको किनारमा भएकाले ग्याभिन जाली राम्ररी नभरी नहुने समस्या छ । साथै हाल पोखरीको संरचना बनिनसकेकोले माछापालन गर्न नसकिएको उनको गुनासो छ । हाल जैमिनीमै पहिलोपल्ट अत्याधुनिक मेसिनबाट गुणस्तरीय ब्लक उत्पादन गरेको दाबी गर्छन् । ६ जनाको जनशक्तिले दिनमा सामान्यतया ३०० देखि ४०० गोटासम्म सजिलै ब्लक निर्माण गरेको उनको भनाई छ । ब्लकको बजारको बारेमा हाम्रो जिज्ञासामा उनी भन्छन् ‘मलाई बजारको कुनै समस्या छैन, अहिले ग्राहकहरुको माग पुरा गर्न नसकेर ढाँट्न परेको छ ।’ उनी थप्छन् ‘मसँग दुवईमा सेल्स म्यानेजर भएर काम गरेको अनुभव भएकाले मैले सजिलै बजार विस्तार गर्न सक्छु’ ठोकुवाका साथ भन्छन् ।
जीवन चलाउन परिश्रम, सीप र चेतना आवश्यक हुने बताउने उनी आफ्नो दैनिक जीविका चलाएर असल समाज निर्माण गर्नमा लाग्नु नै असल जिन्दगी हो भनी परिभाषित गर्छन् । धन पैसालाई व्यापारको रुपमा प्रयोग गरेको भएपनि यसमा चुर्लूम्मै डुब्न नहुने उनको तर्क छ । परिश्रममा विश्वास गर्ने तर भाग्यमा पटक्कै विश्वास नगर्ने उनको सिद्धान्त आम मानिसको भन्दा बेग्लै छ । ‘आत्मा र श्रम नै भाग्य हो, मूर्ति पूजा गर्नु मुर्खता हो’ उनी थप्छन् । जैमिनी नगरपालिकाले आफ्नो व्यवासाय देखेर खुशी भएको र सकेको सहयोग गर्ने बचन दिएको भएपनि निर्माणकै क्रममा भएकाले आफु अनुदान लिन जान नपाएको बताउँछन् । अहिले ३ वटा बैंक आफ्नो ब्यवसायमा लगानी गर्न ईच्छुक भई पटक पटक फोन गरेको र भेट्न आएको समेत उनी बताँउछन् । ‘सकेसम्म आफुले जति सकिन्छ त्यत्तिको व्यवसाय गर्ने हो, अन्तिम अवस्था आइनपरेसम्म बैंकको लगानी लिन्न’ उनी भन्छन् । मैले यो वर्षभित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्छु र बढीमा ६० लाखसम्म यहाँ लगानी गर्छु । वार्षिक ५० हजार भाडा तिर्ने गरी १२ वर्षको लागि जग्गा भाडामा लिएकोमा अबको २ वर्षमा लगानी उठाउने र बाँकी १० वर्षमा ८ देखि १० करोड आम्दानी गर्ने उनको योजना छ । ‘यदि खोलाले डिस्र्टव गरेन भने २ वर्षमा लगानी उठाएर ८÷१० करोड कमाउँछु ।’ उनलाई सबैभन्दा पीर खोलाको छ । अब निर्माण कार्य सकेपछि यो फर्मको बिमा गराउने र बर्खामा आफु यहाँ नबस्ने योजना रहेको बताउँछन् ।
आजभोलि आफ्नो फर्म अवलोकन गर्न थुप्रै मान्छेहरु आउने गरेको र थुप्रै नयाँपन भेटिएको बताएपछि आफूमा अझै उर्जा थपिएको बताउने पुनले यस ठाँउमा सफलता हाँसिल गरेपछि अहिले निकै पर्यटकीय सम्भावना बोकेको ठाउँ हाँडीकोटमा रिसोर्ट राख्ने बताउँछन् । ‘हाँडीकोटको आडैमा बाबाको टन्नै जग्गा छ, यहाँ कालिज लगेर रेष्टुरेन्ट खोल्ने धोका छ’ भन्छन् । शैक्षिक, नैतिक, राजनैतिक र आर्थिक उपलब्धीमा लगनशील नभएसम्म हामी कहिल्यै समृद्धमा पुग्न नसक्ने उनको बुझाई छ । कोरोनाको कहरले विश्व थला परेको सन्दर्भमा पुन भन्छन्, ‘हामी कृषिमा आत्मनिर्भर भयौं भने जुनसुकै रोग लागेपनि केही समस्या पार्न सक्दैन ।’ कृषि पेशाका अलावा वामपन्थी राजनीतिमा समेत रुची र चासो राख्ने पुन कृषि सँगसँगै राजनीतिलाई पनि अगाडि बढाउने सोचाइमा छन् । श्रमिकहरुको श्रमको उचित सम्मान हुनुपर्छ भन्ने मान्यता राख्ने यम पुन एक होनहार युवा उद्यमी र पौरखी व्यक्ति हुन् । जीवनमा दुःखसँग कहिल्यै नडराउने बरु सामना गर्ने र सदा हाँसीमुख बोल्ने साथै गाँउघरमै पसिना चुहाएर सुखद जीवनयापन गरेका उनले जस्तै हामी पनि यहि ठाउँमा यस्तै काम गरेर जीवन सजिलै बिताउन नसकिएला र ?

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->