आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

यस्तो छ तनहुँको वुल्दी खोला पुल उद्घाटनको वास्तविकता

यस्तो छ तनहुँको वुल्दी खोला पुल उद्घाटनको वास्तविकता


  • प्रतापलाल श्रेष्ठ
  • मंसिर २९ २०७७, सोमबार

चर्चामा तनहुँ, आरोप प्रधानमन्त्रीमाथि
आजका दिनहरुमा पनि तनहुंको बुल्दी खोलाको पुल उद्घाटनको कार्यक्रमको घटना सेलाइरहेको छैन । कुनै न कुनै रुपमा चर्चामा छ । प्रधानमन्त्रीले मंसिर २३ गते बालुवाटारमा आयोजना गर्नुभएको सर्वदलीय बैठकमा पनि रामचन्द्र पौडेलले उठाएर गुनासो गर्नुभयो । नयाँ पत्रिका, कान्तिपुरमा दिनु भएको अन्तरवार्तामा पनि खुलेर यो घटना बताउनु भएको छ । यो घटना घटनुमा प्रधानमन्त्रीको हात रहेको भनी प्रधानमन्त्रीलाई गम्भिर आरोप लगाउनु भयो । आफु लोकतन्त्रका लागि जेल बसेको तर प्रधानमन्त्री केपि ओली ज्यान मारेर हत्याकाण्डको आरोपमा जेल बसेकोसम्म पनि भन्न भ्याउनु भयो । मोहनचन्द्र अधिकारी, केपि ओली, राधाकृष्ण मैनालीहरु नेपालको राजनीतिक आन्दोलनको उच्चस्तरको राजबन्दी भएको कु्रा भुतुक्क विर्सनु भयो । नेपाली काँग्रेसका बन्दीहरु कप्तान यज्ञबहादुर थापा र भिमनारायण श्रेष्ठलाई नख्खु जेलबाट निकालेर गोली हानेर मारेपछि जेलमा कुनै काँग्रेस कार्यकर्ता थिएन । परिवर्तनको लागि राजसंस्था अन्त्यको लागि झण्डै २० वर्ष देशको विभिन्न जेलहरुमा कम्युनिष्ट नेता कार्यकर्ताहरु मात्र रहे । २०४२ सालमा भने जनवादी मोर्चा (रामराजा सिङ) का कार्यकर्ताहरु थपिए । त्यसवेलाको राजाले नेतृत्व गरेको पंचायति सरकार केवल कम्युनिष्टहरुलाई मात्र दवाउन लाग्यो । तर जनताको साथ पाएको कम्युनिष्ट पार्टीहरुको विकास र प्रगति पंचायतको कुनै हथकण्डाले रोकिएन । त्याग र बलीदानको अनुपम इतिहासहरु कोर्दै गए कम्युनिष्टहरुले ।
चर्चामा रामचन्द्र पौडेल र निर्वाचन
बुल्दीखोला पुल उद्धघाटन कार्यक्रमले नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पनि निकै चर्चामा हुनुहुन्छ । उहाँमाथि सद्धभाव, सदासयता, माया पनि थपिएको छ । पुर्वसभामुख, भुपु उपप्रधानमन्त्री, कांग्रेसको बरिष्ठ नेताले एउटा मामुली रकमको पुल उद्घाटनमा अवरोध पुराउनु सरकार र नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले रोक्नु वा विरोध गर्न हुने थिएन । अझ निषेधित क्षेत्र घोषणा गरेर रोक्न खोज्नु सत्ता र शक्तिको दुरुपयोग हो, आज रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा विरोध हुन्छ भने भोली के होला भन्दै कार्यकर्ताहरुलाई आन्दोलनमा उतार्न कोशिस गरिएको छ । त्यसो हो भने यो घटनाको वास्तविकता के हो ? यहाँ यही विषयलाई पस्कने कोशिस गरिएको छ ।
०४६÷४७ सालको सफल आन्दोलनपछि भएको निर्वाचनहरुमा तनहुँमा रामचन्द्र पौडललाई सधैं सफलता हात लाग्यो । उहाँ विरोधीलाई निकै पछाडि पारेर विजयी हुनु हुन्थ्यो । २०४८ सालको निर्वाचनपछि कांग्रेस पार्टीमा उहाँको उम्मेदवारीलाई लिएर पार्टी भित्र विरोध र वागि उम्मेदवार नभएको होइन । तर पनि उहाँले उम्मेदवारी पाउने कुरा र विजय हुने कुरा गा‐हो विषय बनेन ।
तर गत निर्वाचनमा भने रामचन्द्रलाई भने त्यस्तो सफलता हात लागेन । लाग्ने सम्भावना नै थिएन । नेकपा एमालेको सुर्यध्वजावाहक संयुक्त बाम उम्मेदवारवाट पछारिनु भयो । त्यो पनि धेरै मतले । चुनावका वेला कांग्रेस पार्टीको सरकार भएको वेला भए पनि कार्यकर्ता हरेक मोर्चामा निडरकासाथ डटेर चुनावको परिणाम आफनो हातमा पारे ।
२०७४ सालको निर्वाचनमा उहाँले पराजय हुने निश्चित थियो । पहिलो, नेकपा एमाले र नेकपा माओवादी केन्द्र विच चुनावी गठबन्धन थियो । एउटै वाम उम्मेदवार थियो । कम्युनिष्टहरु निकै उत्साहित थिए । कांग्रेस पार्टीबाट पिडित कार्यकर्ताहरु जसरी पनि जित्ने र विवाद वा मतभेदहरु केही छन् भने कहि पोख्न नपाइने भन्ने कुरामा नेतृत्वले कडाइ गरेको थियो ।
दोस्रो, नेकपा एमालेले विगतका निर्वाचनहरुमा पराजित हुदाँ पनि थोरै थोरै मतले पराजित भएको थियो । सधैं दुइ कम्युनिष्ट पार्टीका दुई नेताहरु मैदानमा देखिन्थे तर अहिले यस्तो अवस्था थिएन । विगतमा कम्युनिष्टहरुले नजितेको भए पनि २०६४ सालको संविधानसभाको निर्वाचनमा नेकपा माओवादीले एक्लै जितेको थियो भने दोस्रो मत नेकपा एमालेको थियो । फेरि २०७० सालको निर्वाचनमा भने नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए । त्यसबेला दुई कम्युनिष्टहरुको १४ हजारका भोटका विरुद्ध १८ हजार थियो । त्यसो हुँदा यसपालीको निर्वाचनमा कम्युनिष्टहरुले जित्ने करिव निश्चित जस्तै थियो र परिणाम पनि त्यही आयो ।
तेस्रो, नेपाली कंग्रेसमा निकै प्रभाव राख्नुहुने पुर्व सहमहामन्त्री गोविन्दराज जोशी उहाँसंग निकै असन्तुष्ट हुनुहुन्थ्यो र उहाँले वागि उम्मेदवार पनि हाल्नु भएको थियो । रामचन्द्र पौडेलले दिनु भएको निवेदनका आधरमा निर्वाचन आयोगलाई प्रभावपारी गोविन्दराज जोशीको उ्रम्मेदवारी खारेज गरिएको थियो । जवकी मुद्धा किनारा लागेको थिएन, विचराधीन थियो । यो घटनापछि गोविन्दराज जोशीले पोजिसन लिनु स्वाभाविक थियो ।

उद्घाटनको विवादले चर्चित बनेको बुल्दीखोला पुल । तस्बिर : ढोरपाटन

विकासमा कम्युनिष्ट सरकार
यो घटनाको समस्या कहाँ रहेको थियो भने पराजित भएको नेपाली कांग्रेस जसरी आफनो ठांउमा रहनु पर्ने थियो रहनु भएन । हारेपछि पनि तनहुँ जिल्ला त हाम्रै हो । अन्त, अर्काे कुरा अरु जिल्लामा हाम्रो सरोकार छैन तर यहाँ त हामीले नै भनेको हुनुपर्छ । यस्तो कुरा ६ मा ६ सिट जितेको कम्युनिष्टहरुलाई पच्ने कुरा भएन । हिजो हामी पराजित भएका थियों यस्तो कुरा खोज्दै हिडेनौं । सहेरै बस्यौं तर अहिले पनि सहनु पर्छ भन्ने केही छैन र सहन पनि सक्दैनौं । रामचन्द्र पौडेलले तनहुँमा जे विकास भएको छ त्यो सवै मैले गरेको हो । जे हुन वाँकी छ त्यो पनि सवै मैले गर्छु भन्दै हिडनु हुन्छ । यस्ता कुरा कोही सुन्न तयार छैन । लमजुङ तनहुँको सिमा बनेर बगेको रिस्ति खोलामा जहाँ रामचन्द्र पौडेलको जन्मस्थान हो । यहि मंगसीर १९ गते एक कार्यक्रमका विच ४ करोड ४७ लाखमा रिस्ति खोला पुलको शिलान्यास माननीय सदस्य राम बहादुर गुरुङले गर्नु भयो । केही पहिले मात्र त्यही खोलाको सोतीवेसी र स्वतिपसल जोडने करीव यति नै रकमको पुल माननीय मन्त्री रामशरण बस्नेतले शिलान्यास गर्नुभयो । यसै वर्ष त्यस ठाउंमा पुलैमा मात्र करिव ९ करोड विच्छाएको छ गण्डकी प्रदेश सरकारले । कार्यक्रममा जनताले भने के गर्नु हाम्रो मानिसले मौका पाउदा पनि गर्नु भएन । अहिले धमाधम कम्युनिष्टहरुले गर्दैछन । धेरै भएको छैन तल शिलान्यास गरेको अहिले यहाँ । यो त्यहाँको जनताले रामचन्द्र पौडेललाई नै भनिएको थियो । अझ जनताले भनेका थिए, कम्युनिष्ट सरकारले वास्तवमा धेरै गरेको छ है । गाउँमा आएर हेर्नु पर्छ बजेट कसरी परिचालन गरिएको छ ।
लोकतन्त्रवादी नेता, सिमा र विवाद
रामचन्द्र पौडेल राष्ट्रियस्तरको लोकतन्त्रवादी नेता हो, यसमा विवाद छैन । कांग्रेस पार्टीको बरिष्ठ नेता हो, यसमा पनि विवाद भएन । तर सवै आआफनो ठाउँमा बस्नुपर्छ । जनताबाट जे सिमा तोकिएको छ, त्यो सिमामा बस्नुपर्छ । संविधान कानुन अरुलाई जस्तै उहाँलाई पनि लागु हुन्छ । उहाँ संविधान र कानुन भन्दा माथि हुनुहुन्न । चुनावमा विजयी हुदाँ निकै माथि पुग्नु भयो । मान सम्मान पाउनु भयो । ठूलो शक्तिको अभ्यास गर्नुभयो तर अहिले त हार्नु भयो नि । हुन सक्छ उहाँ जस्तो नेता अहिले पनि जित्नु पर्दथ्यो होला ।, उहाँजस्तो संसदीय अनुभव भएको व्यक्ति संसदमा खोजिभयो होला तर के गर्नु ? हार्नु भयो । जनताले विश्वास गरेनन् । जिताउन लागेनन् । कम्युनिष्टहरु जनताहरु एक भएर हराउन लागे, हराए तर पनि आफै सर्वेसर्वा हुन खोज्ने ? सुहांउछ । हिजैको जस्तो गर्नु त भएन नी !
सुढे मोटरेवल पुलको उद्धघाटन, मन्तव्य र फैलाएको उत्तेजना
मंसिर १६ गते प्रशासनले नगर्ने भन्दाभन्दै निर्माण सम्पन्न सुंढेको मोटरेवल पुल उद्घाटन गरी छाडनु भयो । सरकार प्रशासनको आदेश मान्नु भएन । त्यो केन्द्रको बजेटले बनाएको थियो । संघको सरकार आयोजक हुनुपर्दथ्यो । व्यास नगरपालिकाको के योगदान छ ? व्यास र रिसिङ्गले कुनेै रकम छुटयाएको छैन । शिलान्यास गर्दा केन्द्रले गरेको थियो । तीन तहको सरकार मध्ये जुनले वनाएको छ, त्यसैले आयोजक बनी गर्नुपर्ने कार्यक्रम थियो । तर वेसरोकार संस्था वा मानिस आयोजक बनेर गर्यो । कहिकतै समन्वय गरेन । यस्तो वारे बोल्नु पर्दैन र ?
उहाँजस्तो व्यक्तिले सुंढेको मोटेरेवल पुल उद्धघाटन गर्दा सरकार, प्रशासन र कम्युनिष्ट पार्टी विरुद्ध तं तं र मं मं भनि राख्नु भएको मन्तव्यले केही कांग्रेसका कार्यकर्ताहरुलाई निकै मज्जा लागेको भए पनि केही कांग्रेस कार्यकर्तालाई भने लाजले शिर निहुरेको थियो ।
बुल्दी खोलाको पुल उद्घाटन र मन्त्रीको विज्ञप्ति
रामचन्द्र पौडेलको मन्तव्यले चिढिएका कार्यकर्ताहरुले मंसिर १७ गते बुल्दिखोलाको पुल पनि उद्धघाटन हुदैछ भन्ने खवरले उत्तेजित हुनु स्वाभाविक थियो । प्रदेश सरकारको आयोजनामा हुनु पर्ने थियो । त्यसैले राष्ट्रिय युवा संघको एक जुलुुसले जिल्ला प्रशासन कार्यालय घेराउ पनि गर्यो । नारावाजी गर्यो । घेराउकै क्रममा राष्ट्रिय युवा संघका जिल्ला संयोजक ईश्वर बस्याल, सहसंयोजक भगवान श्रेष्ठ र अन्य युवा नेताहरु ज्ञानेन्द्र बसौला, सूर्य बहादुर केसी र बादल आलेहरुलाई गिरफतार गरियो । यस घटनााले युवाहरु झन उत्तेजित भएका थिए । प्रशासनले यस्तो नगर्नु पर्ने थियो । छोडदिनुस् भन्दा भन्दै पनि आज दिन भरी छोडन सकिदैन स्थिति नियन्त्रणमा आएपछि मात्रै भन्ने जवाफ आयो । नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुको रिहाइपछि राति मात्र छोडियो ।
पौडेलको उद्घाटन गरी छाडने प्रयास
यसरी विकास भएका घटनाहरुलाई नेपाली कांग्रेसले देखेको नदेखै सुनेको नसुनै गर्यो । मुलत रामचन्द्र पौडेलकै विशेष चाहनामा बुल्दीखोला पुल उद्घाटन गर्नै लाग्नु भयो । मन्त्रालयबाट नगर्नु नगराउनु आदेश आएपछि स्थगित गर्नु भनेर दिएको जानकारीको वास्तै गरिएन । जसरी पनि गरि छाडने धुनमा रहनु भयो । यो कार्यक्रम रोकिने छांटकांट नदेखिएपछि प्रशासनले माथिको आदेशवाट सम्भावित दुर्घटनालाई रोक्न निषेधाज्ञा जारी गर्यो । तर पनि रामचन्द्र पौडेल रोकिनु भएन । यसलाई ठूलो प्रतिष्ठाको विषय बनाउनुभयो । जसरी पनि उद्घाटन गर्न लाग्नुभयो । प्रशासनको अगाडि सम्भावित दुर्घटना रोक्न र उद्घाटन रोक्न पनि चुनौतिको विषय बन्यो ।
विगतका केही तिता घटनाहरुको सम्झना
यहाँका मानिसहरुलाई थाहा छ । २०५४ सालको स्थानीय निकायको निर्वाचनमा जिल्लाभरीमा नेपाली कांग्रेस नराम्रो गरी पराजित भए पनि व्यास नगरपालिकामा भने १२०३ मतले नेपाली कांग्रेसले विजय पाएको थियो । २०५४ साल जेष्ठ ४ गते विजय जुलुस बजार परिक्रमा गरी सभामा परिणत नभइ सिदै जिल्ला प्रशासन छिर्यो । तत्कालीन जिल्ला प्रमुख अधिकारीमाथि नेपाली कांग्रेसका नेताहरुको उपस्थितिमा जथाभावि गरियो र जिल्लामा रहने अवस्था नै बनेन । उहाँले जिल्ला छाडनु पर्यो । यस्तो घटनाहरु दोहोरीरह्यो । २०५४ साल भाद्र १० गते शिक्षकहरु सरुवा गरेको निहुँ पारी जिल्ला शिक्षा कार्यालय घेराउ गरियो । पुरै हुलभित्र पसेर जिल्ला शिक्षा अधिकारी माथि अपमान गरियो । त्यसबेला सुरक्षामा रहनु भएका इन्सपेक्टर रत्न प्रसाद नेपालको टाउकोमा गम्भिर चोट लाग्यो र घाइते हुनुभयो । यो घटनापछि उहाँहरु दुवै यस जिल्लाबाट सरुवा भएर जानु भयो । कांग्रेसले चाहयो भने जे पनि गर्न सक्छ भन्ने देखायो । त्यसैले अहिले पनि नेपाली कांग्रेसका कार्यकर्ताहरु यहांको कार्यलय प्रमुखलाई राम्रोसंग काम गर्नु नत्र भने जिल्लामा छोटो बसाई होला भनेर धम्क्याउने गर्छन ।
पौडेलको अड्डी र गिरफतारी
त्यसोहुंदा अहिलेको आदेश नेपाली कांग्रेसको विरुद्द हुनेहुंदा प्रशासन सचेत थियो र सचेतनताका उपायहरु अपानाएको थियो । समय, अवस्था, जनमत, जनतामा आएको परिवर्तनका कारणले नेपाली कांग्रेसले संयमता अपनाउछ भन्ने ठानिएको थियो, त्यस्तो भएन । जुनसुकै हालतमा उद्घाटन गर्ने अडडी लियो । उद्घाटन गर्न कसले रोक्दो रहेछ भनी रामचन्द्र पौडेल दलवल सहित जानुभयो । सुरक्षा घेरा तोडन कोशिस गर्नुभयो । स्थिति असमान्य हुन थालेपछि सुरक्षामा रहेका पुलीसहरुले उहाँलाई सम्मानका साथ पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्यायो र करिव ३ घण्टा राखियो र सम्मानका साथ छोडियो । त्यो दिन उद्घाटन हुन सकेन ।
उद्घाटन गरी छाडियो प्रशासनको संयमता
रामचन्द्र पौडेलको जुनसुकै हालतमा उद्दघाटन गरी छाडने अडान कायम रहयो । यस गण्डकी प्रदेशभरीका जिल्लाहरु, काठमाडौ र चितवनवाट पनि पार्टीका कार्यकर्ताहरु झिकाइए । यो अवस्थालाई देखेर प्रशासनले संयमता अपनायो । यहि घटनाले कुनै दुर्घटना हुनुभन्दा थोरैपछि हटनु राम्रो हुने भएकोले पछाडि हटयो । जव रामचन्द पौडेल जसरी पनि उद्घाटन गर्न खोज्नु हुन्छ भने उहाँलाई उद्घाटन गर्न छाडिदियो ।
पर्दाभित्रका केही प्रश्नहरु
अहिलेको यो विषय सर्वत्र चर्चाको विषय भए पनि, रामचन्द्र पौडेल चर्चित भै रहनु भए पनि पर्दा भित्र केही प्रश्नहरु छन । त्यो पनि उल्लेख गर्नु राम्रो हुनेछ । नियम कानुस सवैको लागि बराबरी हुदारेहेछ । कसलाई के ? कसलाई के ? हुंदोरहेनछ । ठूलो भए पनि, सानो भए पनि, नेता भए पनि कार्यकर्ता वा जनता भए पनि, मन्त्री भए पनि वा कुनै लाभको पदमा नभए पनि नियम, कानुन, आदेश लाग्दो रहेछ । अहिलेको यो प्रशासन तनहुँले देखायो । सत्ताधारीका कार्यकर्तालाई पनि वाँकी राखेन् । प्रहरी प्रशासनको प्रयोग प्रतिपक्षलाई मात्र होइन सत्ताधारी माथि पनि प्रयोग भयो । सुनुवाई प्रतिपक्षको मात्र होइन सत्ताधारीका नेताहरुको पनि भएन । प्रशासनले कुनै भेदभाव गरेन । झुकेन । यो घटनामा कुनै केही प्रदर्शनकारी पक्राउदेखि बाहेक अंगभंग भएन । कुनै दुर्घटना भएन । कुनै मानविय क्षति भएन । यदि भएको भए सवभन्दा आलोचक तनहुँ प्रशासन र सरकार हुने थियो । दुइ पक्ष विच हुने सम्भावित भिडन्त किन ? आकलन गर्न सकिएन, सम्भावित सुरक्षाका उपायहरु किन अपनाइएन भनी नालायक प्रशासनको रुपमा दर्ज हुने थियो । त्यसबाट मुक्त भयो । आवश्यक पर्यो भने सम्भावित दुर्घटन रोक्न जुनसुकै कदम चाल्न सक्छ भन्ने देखायो ।
रामचन्द्र पौडेलले चुनाव हार्नुभयो, त्यसबेला निकै चर्चा भयो । अनि सेलाउदै थियो । अव त आउने चुनावको पनि चर्चा हुन थालिसकेको छ । सवैले चुनाव यस्तै हो हारजित भै रहन्छ । चुनावमा कसैले जित्छ धेरैले हार्छ तर यो घटनापछि रामचन्द्र ज्युले चुनाव हार्नु भएपछि हारको घटना फेरि बरकरार अगाडि आएको छ । हारको पिडा उहाँमा पुन बल्झिएको छ ।
कांग्रेस सरकार हुंदाको प्रशासनले यहांको कम्युनिष्ट कार्यकर्तामाथि बर्बर यातना दिइएको थियो । मदन भण्डारीको दुखान्त घटनाको आन्दोलनमा होस् वा लाउडा ऐर प्रकरणमा होस् वा हरक्षेत्रमा कांग्रेसीकरणको विरोधको आन्दोलनमा होस् वा महंगी तथा जनताको सरोकारको विषयको आन्दोलनमा होस धेरै कम्युनिष्ट कार्यकर्ताले दुख पाएका थिए । गिरफतारी र लाठीहरु वर्षेका थिए । यस्तो थाहा पाएका कांग्रेसी कार्यकर्ताहरुले हामी पनि सत्तामा हुदाँ सत्ताको शक्ति प्रयोग भएको थियो । जिल्लाको शान्ति अमन चयन गर्ने सरकारको कामै हो नी यस्तो त हुन्छ है भनेर पनि लिएको देखियो ।
रामचन्द्र पौडेल गिरफतार पर्नु साँच्चै चानचुने घटना होइन । ०६२÷६३ को आन्दोलनपछि सायद यो पहिलो घटना होला तर अन्य बेलाको गिरफतारीले उहाँको मान वढदथ्यो होला तर यसपालीको गिरफतारीले उहाँको मान बढेको छैन । नियम, कानुन र प्रशासानिक आदेश त मान्नु पर्छ हो भन्ने पनि देखाएको छ । तर पनि यहि घटनाको कारण देशव्यापी आन्दोलन सुरु गरिएको छ । के यसको औचित्य पुष्टि होला र ?
अब यस्तो नहोस्
जेहोस् आज तनहुँमा जे भयो, हिजोको प्रतिगमन, निरंकुशता विरोधि आन्दोलनका सहयात्री विच जे भयो राम्रो भएन । तर पनि यो घटना भयो आफनो निर्धारित सिमाको पहिचान हुन नसकेर वा चिनेर पनि उल्लंघन भएर भयो । हामी सवैले आफैले मनन गर्न जरुरी छ । अव यस्तो नहोस् ।
(श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य तथा तनहुँ जिल्लाको सहइन्चार्ज हुन् ।)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->