आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

मर्दी हिमालको काखमा साइक्लिङ

मर्दी हिमालको काखमा साइक्लिङ


  • दिवस गुरुङ
  • मंसिर २९ २०७७, सोमबार

सिदिङबाट सुरु हुने नाकै ठोकिने उकालो । उस्तै अफ्ठ्यारो छ गोरेटो बाटो । हिंड्न पनि हम्मेहम्मे पर्ने सिंढीमा साइकल बोकेका छन्् काँधमा । टाउकोमा हेल्मेट, हातमा पञ्जा अनि सँगै भिरेका छन् आ–आफ्ना झोलाहरु । उचाइ बढेसँगै ह्वातै बढ्छ थकान, प्यास अनि भोक । पसिनाले निथु्रक्क रुझेको हुँदो हो ज्यान । मनमा भने उचाइसँगै नयाँ अनुभव, कौतुहलता अनि हुटहुटीको ककटेल चुलिएको छ । दाहिनेतिर आफ्नै गतिमा बगिरहेको छ मर्दी नदी, यसले मनमा केही राहत मिलेको छ । उनीहरुलाई उक्लन हतार, नदीलाई ओर्लन । सबैलाई आ–आफ्नै गन्तव्य प्यारो ।
दसैंको रमझम भर्खर निर्खिएको थियो । ओम अधिकारी आफ्नै घरतिर थिए, नौडाँडा कास्की । प्रायः उनी राजधानीतिर हुन्थे । पेशा उनको ट्रेकिङ अनि साइकलिङ गाइड । दस÷बाह्र वर्ष खरिएको मिठो अनुभव छ पर्यटन क्षेत्रमा उनको । हालसम्म कतिलाई नेपाल घुमाए कुनै यकिन छैन । होस् पनि कसरी ? बाह्रैमास । के सिजन के अफसिजन । पर्यटकहरुलाई घुमाइरहन्थे । सँगै घुमिरहन्थे उनी पनि नेपालका कुनाकन्दरा ।
कोरोना कहरपछि नेपालको पर्यटनमा प्रत्यक्ष असर देखियो । सबै पर्यटकीय गतिविधिहरु पूर्णविराम लागे । यस्तो बेलामा फरक केही अनुभव बटुल्ने रहर जाग्यो मनमा । घुम्न कै लागि पोखरा आएका थिए अर्का साइकलिस्ट समिर थापा । दुवैको योजना बन्यो, नामी मर्दी पदमार्गमा साइकलिङ गर्ने । अर्को दिन बिहानै काठमाडौंबाट फ्लाइटमा पोखरा झरे, तोरन सुनुवार । त्यही दिन हानिए । तिनै जना, तिन दिनका लागि मर्दी हिमालको काखमा । त्यो पनि साइकलमा ।
पहिलो दिन । पोखराबाट सुरु भयो साइकलिङ । हेम्जामा पहेलैं झुलेका धानका खेतहरु । छ्याङ्ङ खुलेको थियो आकाश । सँगै खुलेका थिए हिमालहरुसँगै साइकलेका मन पनि । माछापुच्छे«लाई पछ्याउँदै मिलनचोकबाट दायाँ लागे उनीहरु । पुग्नु पर्ने नै माछापुच्छ«ेको फेद । अझ भनौं लुटपुटिनु थियो माछापुच्छ«े कै काखमा । ‘ल्वाङ अनि घलेल गाउँ उस्तै लोभलाग्दा देखिएका थिए । घलेलको क्यानोनिङमा रमाउन रहर पलाएको थियो तर हामीलाई त्यसदिन सिदिङ पुग्नु थियो । अर्कोपटक ल्वाङ घलेल घुम्ने अभिलाषासहित हामी त्यसदिन सिदिङ पुगेका थिए,’ समीरले बताए ।
सिदिङसम्म छोएको छ सडकले । प्रायः पदयात्रीहरु पनि यहाँसम्म जीपमा अनि त्यसपछि पैदलयात्रा सुरु गर्छन् । यहाँबाट साइकल बोक्नुबाहेक अरु विकल्प थिएन उनीहरुलाई । अनि काँधमै बोकेर उक्ले तीनै जना । जंगलैजंगल । बाटो पुरै उकालो । दशकौं यही गोरेटो विदेशीलाई घुमाउँदै आएका ओम र तोरनलाई हरेक सिंढी अनि रुखका बुट्यानहरु नौला थिएनन् । यता समीरको भने पहिलोपल्ट मर्दी हिमाल यात्रा भएकाले कौतुहलता अनि उत्सुकता छचल्किरहन्थ्यो । हरेक चिज नौला थिए उनलाई । अनि नौलोपनमा रमाउने उनको आदत । तीन घण्टाको साइकल बोकाइपछि लो क्याम्प पुगेका थिए उनीहरु ।
‘भोक र थकानले आक्रान्त परेको थियो ज्यान । दुई थाल भात बजाएपछि केही राहत मिलेको थियो । भुसुक्कै बिर्सेछु, अझै साइकल बोक्नु पर्ने उतिनै समय लाग्ने पक्का थियो । भाते ज्यानले साइकल बोक्न झन् चुनौती पो दिएको थियो’, ओम सम्झन्छन् ।
चौध÷पन्ध्र किलो साइकलको भारी । त्यसमाथि झोलाको तौल । उचाई उक्लेसँगै ज्यानलाई सकस हुनु नौलो थिएन । उचाइसँगै नजिकिएका हिमाल अनि मनमोहक सुन्दरताले त्यो पीडा एकै क्षणमा बिर्साइदिन्थ्यो । बिलाइजान्थे थकान, भोक अनि तिर्खा जमेका हिउँ सरी । समीरलाई भने आश थियो, पक्कै साइकल चलाउन मिल्ने बाटो लो क्याम्प माथि कतै न कतै भेटिनेछ, जुन आखिर निराशामा बदलियो । ‘सिदिङबाट बिहान साइकल बोकेर हिँडेका हामी अबेर साँझमात्र हाई क्याम्प पुगेका थियौं, साइकल बोकेरै । साइकल फ्रेन्ड्ली ट्रेल त छदैँ थिएनन् । यता बाटामा देखिने भ्युज अनि सिनारियो भने फेन्टास्टिक । नो डाउट !,’ उनी थप्छन्, ‘सुर्यास्तको समय झन् हेरिरहुँ देखिएका थिए हिमालहरु । छिनभरमै चन्द्रमा पनि उदाएको थियो । क्या फोटोजेनिक थियो मुमेन्ट । तर यतिले मात्र एक राइडर सन्तुष्टि नबन्न सक्छ । साइकल चलाउन आएको एक विदेशी साइकल बोकेरै दिन बिताउनु पर्दा खल्लो महसुस गर्न सक्छ । मर्दी त के ऊ अर्कोपल्ट फर्केरै नेपाल नआउँला ।’
तेस्रो दिन । बिहानै छ्यांङ खुलेको थियो आकाश । हिमालहरु भmन् नजिकिएका भान हुन्थ्यो । सुर्योदयको क्षण उस्तै लोभलाग्दो । बीसौं वर्ष पर्यटन क्षेत्रमा लागेका अनुभवी व्यक्ति हुन् तोरन । हाई क्याम्पबाट सुर्योदय नियाल्दै गर्दा उनले सम्झे त्यो विगत, ‘मर्दी पदमार्ग भर्खर सुरुवात भएको त्यो त्यसबेला । कहाँ अहिलेको जस्तो होटलहरु र टि हाउस थिए र ती दिनताका ? एक दुई ठाउँमा एक दुई वटा भेडी गोठ मात्र थिए । अहिलेको जस्तो सिढीको बाटा पनि थिएनन् । एक जना त हँसियाले जंगल फाँड्दै बाटो बनाउनै ठिक्क हुन्थ्यो । अहिले साइकल बोकेरै मर्दी हाई क्याम्पसम्म आउनु आफैंमा एक उपलब्धी सम्झन्छु म यसलाई ।’
मर्दी हिमाल क्षेत्र । छोटो समयमै भिन्न पहिचान बनाउन सफल नेपालकै नामी पदमार्ग । छोटो टाइम फ्रेममा हिमालको काँखमा लुटपुटिन मर्दीबाहेक अन्त कहाँ मिल्छ र ? अझ अहिलेको कोरोनाकालिन समयमा यसले मार्केट पिटेको थियो । अर्को शब्दमा मर्दी पदयात्रा ट्रेन्डिङमा थियो भनम ।
मर्दी हिमाल आरोहण । अनि यही आयोजना हुने विश्व प्रसिद्ध अन्तर्राष्ट्रिय म्याराथुन प्रतियोगिता होस् वा मर्दी बेस क्याम्पबाट प्याराग्लाइडिङ गरेर पोखरामा ल्यान्डिङ गर्नै साहसिक खेल । अब नयाँ साहसिक कार्य थपिएको छ, माउन्टेन बाइकिङ इन मर्दी एरिया । यसले यस क्षेत्रको पहिचान चुलिनेमा कुनै शंका देख्दैनन्, तीनै जना ।
तेस्रो दिन तीनै जना डाउनहिलको मज्जा लिदैँ पोखरा फर्के, लो क्याम्प, फरेष्ट क्याम्प, पोथाना अनि धम्पुसहुँदै । डाउनहिल राइडको मज्जा बेग्लै थियो । त्यस क्षणको अनुभव पस्कदै समिरले बताएँ, ‘मर्दी हिमाल क्षेत्र हेली राइडको फेबरेबल डेस्टिनेसन बन्न सक्छ । त्योभन्दा अघि साइकल रुटको अध्ययन, निमार्ण र सुरक्षाका हरेक प्यारामिटरहरु पूरा गर्नु नितान्त आवश्य देखिन्छ । हेलीमा मर्दी हाइ क्याम्प ल्यान्ड गर्ने । वान नाइट स्टे त्यहीं गर्ने अनि बिहानै सुर्योदय नियालेर डाउनहिलको मज्जा लिएर पोखरा झर्ने । यतिको बेस्ट डाउनहिल माउन्टेन बाइकिङ रुट संसारमै बिरलै भेटिएला ।’
उनीहरु नै थिए, साइकलमै मर्दी क्षेत्र पहिलोपल्ट पुगेका । यो रेकर्ड बनाउने अभिलाषा बोकेर हानिएका भने थिएनन् उनीहरु । ‘मर्दी हिमाल साइकलिङ रुटको सम्भाव्यता अध्ययन, फिजिबिलिटी स्टडी र साइकलेहरुका लागि फरक स्वाद चखाउने हेतुले पुगेका थियौं, ओम थप्छन्’, ‘मर्दी ट्रेक पर्यटन व्यवस्थापन समितिमा पदमार्ग प्रर्वद्धन र स्तरोन्नतिका लागि यस वर्ष करिब २ करोड बजेट परेको छ । पहिलो चरणमा हामीले साइकलमैत्री पदमार्ग बनाउन सुझाएका छौं । यसले साइकलिङमा केही सहजता मिल्छ । विस्तारै छुट्टै स्तरीय साइकल ट्रेल नै बनाउन पनि हामी सल्लाह दिन्छौं । यसले यस क्षेत्रको पर्यटनको दायरालाई अझ बढाउनेछ । अन्ततोगत्व यहाँ साहसिक पर्यटनको नयाँ आयाम थपिनेछ, माउन्टेन बाइकिङ ।’
साइकल पर्यटन । नेपालको वर्तमान परिपेक्षमा एक साहसिक पर्यटन । पदयात्राका लागि कुनै समय नेपालको पहिचान बेग्लै थियो । अहिले त्यो साख जोगाउनै धौ धौ छ । नाम चलेका पदमार्गहरु सबै मासिए । सडकले ती पदमार्ग विस्थापित भए । धुँवा अनि धुलोको ककटेल चाख्न बाध्य छन् पदयात्रीहरु । ‘२६ दिने अन्नपूर्ण परिक्रमा पदयात्रा (अन्नपूर्ण सर्किट) अहिले खुम्चिएर ५÷६ दिनमा झरेको छ । अन्नपूर्ण बेस क्याम्प होस् वा लाङटाङ पदयात्रा, सबै खुम्चिएका छन्,’ तोरन भन्छन्, ‘त्यसैले अब नेपालको पर्यटन भनेकै साइकल पर्यटन हो । मनाङ र मुस्ताङजस्तै डोल्पा, हुम्ला, एभरेष्ट एरिया हाइ एल्टिच्युड माउन्टेन बाइकिङका लागि नयाँ गन्तव्यहरु बन्न सक्छन् । सँगै मर्दी हिमाल क्षेत्रले साइकलेहरुलाई एक भिन्न स्वाद चखाउन सक्छ ।’
अवसरसँगै चुनौतीहरु पनि थपिएका छन् साइकलिङमा । हरेक वर्ष कैयौं पदयात्रीहरु यस क्षेत्रमा हराइरहेका छन् । एक त अव्यवस्थित पदमार्ग अनि अपर्याप्त सूचना दिने बोर्डहरु । उस्तै अजंगका भिरहरु । चिप्लिएर लडिए बाँच्ने त परको कुरा, लाससमेत भेट्न मुस्किल छ यहाँ । डाउनहिल साइकलिङ पदयात्राभन्दा कैयौं गुणा रिस्की र चुनौतीपूर्ण रहन्छ नै । सम्पूर्ण सुरक्षाका रणनीतिहरु अवलम्बन गरिनुपर्छ नै ।
कोरोना कहरले थिलथिल परेको नेपालको पर्यटन । केही समयमा पर्यटन सञ्चालनमा आएपनि उस्तै गति लिन अझै केही वर्षहरु पक्कै लाग्नेछ । नेगेटिभ लेबलमा पुगेको नेपालको पर्यटन उकास्न साइकल पर्यटनले पक्कै केही मद्दत पु¥याउने छ नै । कुनै दिन मर्दी हेली राइड नेपालकै एक ब्रान्ड टुरिजम प्रोडक्ट बन्नेमा तीनै जना विश्वस्त छन् । समयमै सरोकारवालाहरको ध्यान जाओस् ।
जय साइकल । जय पर्यटन ।।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->