पोखरा, ३० मंसिर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर मिनेन्द्र रिजालले ओली सरकारलाई संविधानको एउटै धारा २९८ प्यारो रहेको टिप्पणी गरेका छन् । सोमबार दमौलीमा आयोजित बिरोध सभालाई सम्बोधनको शुरुवातमै गर्जदै रिजालले भने, ‘ओली सरकारलाई संविधानको एउटै धारा प्यारो छ, । त्यो २९८ धारा, जसबाट प्रधानमन्त्री ओली निर्वाचित भएका थिए ।’ उनले अन्तरिम व्यवस्थामा संविधान बनाउने क्रममा पटकपटक बैठमा बसको स्मरण गर्दै अगाडी थपे, ‘ओलीका मानिसहरुलाई संविधानका कुनै धारासँग मतलब थिएन् । ओलीलाई सधैँ संविधान जारी भएपछि एक हप्ताभित्र संसदको अधिवेशन बोलाउने र त्यो एक हप्ता भएपछि प्रधानमन्त्री छान्ने, त्यो बाहेक अर्को कुनै धारा ओलीका लागी आवश्यक थिएन् ।’ नेपाली कांग्रेस संविधानको हरेक धारा जोगाउनलाई प्रतिबद्ध भएर उभिएको उनले दावी गरे । संसदमा नेकपाको दुई तिहाई बहुमत भएपनि जनताको भने झिनो मतले कांग्रेस पराजित भएको नेता रिजालले दावी गरे । संसद अधिवेशनमा शक्तिशाली मानिएका ओली संसद अधिवेशन अन्त्य गरेर संसदबाट भागेको उनले आरोप लगाए । उनले कांग्रेसलाई सत्ताभन्दा जनता प्यारो भएको टिप्पणी गरे ।
तनहुँमा भएको बिरोधसभामा कोरोना संक्रमणको कहर भुलेर गाउँ– गाउँबाट कांग्रेस समर्थक दमौली बजार ओर्लिएका थिए । दमौलीस्तिथ नेपाली कांग्रेसको जिल्ला कार्यायलबाट निस्किएको बिरोध ¥याली खुलामैदानमा पुगेर सभामा परिणत भएको थियो । ¥यालीमा सहभागीले कांग्रेसको झण्डा फहराउँदै ओली सरकारविरुद्ध चर्को नारा लगाएका थिए । यता नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले बर्तमान सरकारको बिरुद्धमा नेपाली कांग्रेस सडकमा उत्रेको बताउँदै सर्वसत्तावादको अन्त्य आजको आवश्यकता भएको बताए । नेपाली कांग्रेस नवलपुरले सोमबार आयोजना गरेको विरोध प्रदेर्शनमा बोल्दै उनले नेपाली कांग्रेस सधैं लोकतन्त्रको पक्ष र सर्वसत्तावादको विपक्षमा भएको बताए । नेपाली काग्रेसले सोमबार नवलपुरमा सरकारको बिरोधमा प्रर्दशन गरेको थियो ।
कांग्रेस नवलपुरको आयोजनामा सोमबार फलफुल चोकबाट निस्केको विशाल ¥याली कावासोती बजार परिक्रमा गरि फलफूल चोकमा आएर विरोध सभामा परिणत भएको थियो । नेपाली कांग्रेसका नवलपुर जिल्ला सभापति एवं प्रदेश सांसद विष्णु लामिछानेको अध्यक्ष्यतामा भएको सो कार्यक्रममा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली ,पूर्ब सांसद महेन्द्रध्वज जिसीलगायतले कम्युनिष्ट सरकारको सर्वसत्ताबादको अन्त्य नेपाली जनताको चाहाना भएको बताएका थिए ।
यसैगरि नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले केपी ओली नेतृत्वको सरकारलाई लोकतन्त्र मास्ने भष्मासुरको संज्ञा दिएका छन् । ‘अहिले लोकतन्त्र मास्ने भष्मासुरहरुको जन्म भएको छ । लोकतन्त्रको जामा र खोल ओढेर संविधानको खोस्टोमा बसेर एकदलीय रुपले निरकंशतातर्फ कम्युनिष्ट साथीहरु जानुभएको छ’,सोमबार कांग्रेसले पोखरामा आयोजना गरेको विरोधसभालाई संवोधन गर्दै उनले भने,‘ जसले गर्दा नयाँ संघर्षका थालनी गर्न परेको छ । सरकारको आलोचनामा अधिकांश समय खर्चेका उनले ओली सरकारले संसारमै विचित्र हुने काम गरेको बताए । किसानले ऋण लिएर खेती गरेको उखुको रकम लिन संसारमै नभएको संघर्ष ओलीको राज्यमा गर्नुपरेको उनको भनाई थियो । सभाको सम्बोधन गर्दै पूर्वसभामुख तारानाथ रानाभाटले भ्रष्टाचारमा लिप्त सरकारले जनमतको सहि सदुपायोग नगरेको बताए । जनताले काम गर्न पठाउँदा उल्टै जनतालाई लुटेर दुःखमात्र दिएको बताए । विरोध सभाको सम्बोधन गर्दै पूर्वकानूनमन्त्री यज्ञबहादुर थापाले भ्रष्टाचारमा लिप्त भएको अधिनायकवादी ओलीले कांग्रेसको जवाफ नदिई आफ्नै पार्टिभित्रको नेताहरुको जवाफ दिन आग्रह गरे ।
‘भ्रष्टचारको आहालमा चुर्लुम्म्म डुवेको छ कम्युनिष्टहरुको सरकार । यो कांग्रेसले भनेको होइन त्यही पार्टिभित्रका सचिवालयका बहुमत सदस्य, पार्टी अध्यक्ष प्रचण्ड , दुई जना पुर्व प्रधामन्त्रीहरुले भनेका हुन । हाम्रो जवाफ नदेऊ तर तिमै्र पार्टिका सदस्यहरुको जवाफ देउ न’, उनले भने । उनले कांग्रेसलाई बाघको संज्ञा दिँदै सडकमा बाघ गर्जेपछि,सडकमा कांग्रेसको घोडा गुडेपछि फ्याउराहरु स्यालहरु किनारा लाउने दिन आएको उनको भनाई थियो । कोण सभामा अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुवँर, कांग्रेस नेता महादेव गुरुङ, खेमराज पौडेल लक्ष्मी पाण्डे कृष्ण केसीलगायतले कम्युनिष्टको दम्भ अब कांग्रेसले पन्छ्याउने धारणा राखेका थिए । यता बागलुङमा बोल्दै कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सहमहामन्त्री अर्जुन नरसिंह केसीले वर्तमान सरकार हिटलर शैलीको भएको आरोप लगाएका छन् ।
बागलुङमा सोमबार आयोजित आमसभामा सहभागि हुन आएका केसीले निरंकुशता र भ्रष्टाचारको नाइकेको रुपमा सरकारले काम गरेको आरोपसमेत लगाए । कार्यक्रममा आमन्त्रित केन्द्रीय सदस्य किरणराज पौडेल र पूर्व सभापति गोबिन्दप्रसाद शर्मा कंडेलले पनि बोलेका थिए । पार्टी सभापति दिपेन्द्रबहादुर थापाको अध्यक्षता, सचिव नवराज पौडेलको संचालन र उपसभापति तुलासिंह घर्तीमगरको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमअघि कांग्रेसका कार्यकर्ताले विरोध ¥याली गर्दै बागलुङ बजार परिक्रमा गरेका थिए । कांग्रेसले चारवटा समूह बनाएर कार्यकर्ता बजारमा ओरालेको थियो । जैमिनी नगरक्षेत्रमा महासमिति सदस्य जगदिशचन्द्र उपाध्यायको नेतृत्व, गलकोट क्षेत्रमा मणीभद्र कंडेलको नेतृत्व, काठेखोलामा होमबहादुर हमाल र बागलुङ बजार क्षेत्रमा प्रकाश पौडेलको नेतृत्वमा कार्यकर्ता भित्राउने योजना बनाएको थियो ।





