शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

कांग्रेस र समाजवादीले मागे विशेष अधिवेशन

कांग्रेस र समाजवादीले मागे विशेष अधिवेशन


  • ढोरपाटन संवाददाता
  • पुष १ २०७७, बुधबार

पोखरा, १ पुस– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशसभाको विशेष अधिवेशन बोलाउन माग गरेका छन् । दुई दलका १७ जना प्रदेशसभा सदस्यहरुले मंगलबार प्रदेश प्रमुख अमिक सेरचनसँग लिखित रुपले नै सभा बोलाउन माग गरेका हुन् ।
गण्डकी प्रदेशसभाका नेपाली कांग्रेसका १५ जनार जनता समाजवादीका २ जना सभासद रहेका छन् । प्रदेशसभाका २५ प्रतिशत सदस्यले विशेष अधिवेशन माग गरे विषेध अधिवेशन बोलाउने कानूनी व्यवस्था रहेको छ । नेपाली कांग्रेसले सरकार कोभिड–१९को व्यवस्थापनमा चुकेको र जनताप्रति अनुत्तरदायी भएको भन्दै यसअघि नै विशेष अधिवेशन बोलाउनु पर्ने अडानमा थियो । नेपाली कांग्रेसले गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग पनि सो आग्रह गरेको थियो । मंगलबार नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता कृष्णचन्द्र नेपाली र जनता समाजवादीका प्रदेशसभा सदस्य हरिशरण आचार्यले प्रदेश प्रमुखको कार्यालयका उपसचिव यामप्रसाद सुवेदीलाई सदन बोलाउने पत्र बुझाएका हुन् ।
कांग्रेस दलका नेता नेपालीले जनस्वास्थ्य र जीवनसँग सम्वन्धित संवेदनशील विषयमा प्रदेशसभा मौन र मुकदर्शक रहन नहुने जिकिर गर्दै संसदमा छलफल आवश्यक भएकाले नेपालको संविधानको धारा १८३ को उपधारा तीन अनुसार विशेष अधिवेशन माग गरिएको बताए । जनता समाजवादीका प्रदेशसभा सदस्य आचार्यले जनसरोकारका विषयमा छलफलका लागि सदन माग गरिएको जनाए । पत्रमा संविधानले नागरिकलाई स्वास्थ्य सम्वन्धी मौलिक हक प्रदान गरेको भएपनि विपन्न र असहाय नागरिकले परीक्षण र उपचार नपाएर मृत्युवरण गर्न बाध्य हुनु परेको जिकिर गरिएको छ । यसैगरि बजेट कार्यान्वयन निराशाजनक रहेको र जनसरोकारका ज्वलन्त मुद्दालाई सम्वोधन गर्न सरकार असफल भएको पनि दुई दलको आरोप छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->