आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

मैले देखेको माओवाद धर्मान्तरणको मुख्य कारक

मैले देखेको माओवाद धर्मान्तरणको मुख्य कारक


  • काशीराम पौडेल
  • पुष ६ २०७७, सोमबार

म अझै पनि झलझली सम्झन्छु गरिबीमा बाँच्नुको कष्ट र द्वन्दग्रस्त समयमा डर त्राससंगै जिउनुको पिडा । ठ्याक्कै सम्झना आएन सायद, ५४÷५५ सालतिर हुनुपर्छ । पुस माघको जाडो त्यसमाथि झन् साँझको समयमा लुगलुगी हातखुट्टा कमाउँदै हजुरआमा रातीको खाना बनाउने तरखर गर्दै हुनुन्थ्यो भने हजुरबुबा मझेरीमा गीता पाठ र आरतीमा व्यस्त हुनुन्थ्यो । बाहिरबाट कसैको कर्कस आवाज आउँछ । यो घरमा को हुनुन्छ ? हामी माओवादी आज तपाईंको घरमा बाँस बस्न आयको छौं । हामीलाई खानेबस्नेको बन्दोबस्त गर्नुपर्यो । हजुरबाले केही असहज र त्रास मन लिएर भन्नुभयो– ‘बाबु हामीजस्तो गरिबीले थिचिएका मान्छेको घरमा न ओढ्ने–ओछ्याउने, न त पेटभरि खाने अन्ननै छ । हामीजस्तो भुइँमान्छेले कसरी बाबुहरुलाई खानबस्न दिउ । यत्रा पाखुरा भएको जवानले त आफ्ना पाखुरा बजारेर बुद्धि विवेकले परिश्रमी भै खानुपर्छ ।’ यत्तिकैमा झोक्किदै एक जना बन्दुकधारीले भन्यो, तपाईंले हामीलाई अर्ति दिने ? हामीजस्तो दलाल पुँजीवादी शाही सत्तालाई निर्मुल पार्न ज्यानको आहुती दिएर सर्वहारा वर्गको उत्थानको लागि राज्यको विरुद्धमा शहिद हुन हिंडेको मुन्छेलाई ? जे छ, जस्तो छ, जसरी हुन्छ ५ जनाको लागि खाना बनाउनु, नत्र दुश्मनलाई उडाएजस्तै गोलीले उडाउन नपरोस् । यो आवाज सुन्दा बित्तिकै लुगलुग काम्दै गरेका बुढाबुढीका हातखुट्टा झनै चल्नै छाड्छन् । खाना दिउ राज्यद्वारा परिचालित सुरक्षाकर्मीको घेराउमा परिने डर, नदिउ त बिद्रोहीद्वारा आफ्नै घरभित्र मरिने त्रास । भोलिको दिन देख्न कस्लाई पो आशा नहोला र ? धेरै गलफत्ती गरेर आज माओवादीको हातबाट मारिनुभन्दा भोलिको दिन देख्ने आशामा हजुरआमाले हुँदा–नहुँदाको अन्न ऐचोपैचो खोजेर खाना खुवाउनु भयो ।
ठिक एक सातापछि अघिल्लो साता जस्तै साँझमा फेरि माओवादीको अर्को जत्था घरभित्र प्रवेश गर्यो । अघिल्लो साता जस्तै खाना बनाउने उर्दी जारी गर्यो । हजुरबुबाले कुनै हालतमा खाना दिन सकिदैन भन्दै अडान लिनुभयो । यत्तिकैमा हजुरबुबालाई झम्टिदै अस्ती हाम्रो कमरेडहरुलाई असहयोग गर्ने तै टपरे बाहुन हैन ? तँलाई हाम्रो जनअदालतले कारबाही गर्न जनमिलिसिया खटाएको छ । कमरेड ओली ! काम फत्ते गरेर जानुपर्छ । कमान्डरको आदेश भुँइमा खस्न नपाउँदै यान्त्रिक मानवले जस्तै गरि साँझमा आरती गर्दै गरेको मेरो हजुरबुबाको कठालोमा समातेर आँगनमा ल्याएर बन्दुकको बलमा जनै टुप्पी काटियो । मरणासन्न हुनेगरी कुटेर, धार्मिक ग्रन्थ बेद, गीता, रामायणलगायत अरु धर्म ग्रन्थहरुलाई च्यातिदिए । आजापुजा गर्ने स्थान भत्काइदिए । ए भगवानप्रतिको हाम्रो आस्था नभत्काउनुस् बरु जस्तोसुकै सजाय दिनुहुन्छ हामी भोग्छौ । हजुर बासंगै हामीहरु चिच्याउँदै दयाको भिख मागेको थियौं । तर त्यहाँ न त हाम्रो बिलौना नै सुन्ने कुनै मानव थियो न त नानीबाबुको चित्कार सुन्ने दया देखाउने कोही मनुष्य थियो । थियो त केवल मानवरुपी दानविय व्यवहार गर्ने केही विद्रोही मात्रै थियो । हजुरबालाई हातखुट्टा बाँधेर रुढीवादी, ढोंगी धर्म मान्ने, जजमान गर्दै टपरा सोहोर्ने अनि हामीलाई खाना खान दिन सक्दैनौं भन्ने ? अझै बडो धार्मिक बन्ने ? सामन्ती बाहुन ! धर्म भनेको अफिम हो हामी न धर्म मान्छौ न यस्तो ढोंगी धर्म मान्नेले हामीलाई अर्ति उपदेश दिएको नै सहन्छौ ।
मैले मानवीय धर्म भन्ने कुनै भाव तिनीहरुमा कही देखिन । देखे त सिरिफ एक आतंकवाद, अधर्मी, मानवताहिन जमात, एक क्रुरताको शासन मात्र देखे । मेरो मनमा डर त्राससंगै केही आक्रोशको भाव उत्पन्न भो, रातभर निदाउनै सकिन । बिहान सधैजसो सबै साथीभाइसंग त्यो कहालीलाग्दो क्षणलाई स्मरण गर्दै मन लागीनलागी स्कुल जाँदै थिए । विद्यालय नजिकै केही गोरालगायत सुकिलामुकिला नेपालीले स्थानीयलाई ख्रिष्ट, यशुको महिमा सुनाएर धर्म परिवर्तन गराउँदै रहेछन् । प्रभुले हामी सबैको रक्षा गर्नुहुन्छ । उहाँ तपाईंहरुको दुख कष्टको मुक्तिदाता हो । यो धर्ममा लाग्नुहोस् सुख शान्ति हुन्छ, स्वर्गको ढोका खुल्छ । तपाईंको छोराछोरीलाई राम्रो बोर्डिङ स्कुलमा पढाउने जिम्मा हाम्रो भयो । यस्तै यस्तै प्रलोभनमा पारेर बाइबल बाँड्दै गरेको देखे । हिजो धर्म अफिम भन्दै मेरो हजुरबाको टुप्पी र जनै काटेकाहरु रमिता हेर्दै थिए । हिजो मन्दिरमा पुजापाठ गर्ने पुजारी पण्डितको जनै, टुप्पी काट्दै, धर्म अफिम हो नास्तिक हुनपर्छ भन्दै जर्बजस्ती गर्थे । तर बाइबल बाँड्दा, धर्म परिबर्तन गर्दा चु बोल्दैनन् । यो दृश्यले कलिलो मन भक्कानियर आयो । विदेशीले यसरी खुलेआम अर्काको सार्वभौम मुलुकमा कानुनको बर्खिलाप गर्दै धर्म प्रचार प्रसार गर्दा मौन समर्थन गर्नेहरु के साँच्चिकै देशभक्त होलान ? समाज रुपान्तरण गर्न हिँडेको कि विदेशीको एजेन्डा बोकेर धर्म परिवर्तन गर्न सघाउन युद्ध लडेको ? मेरो कलिलो बाल मस्तिष्कमा अनेकौं प्रश्नको द्वन्द्व चल्यो । हिजो धर्म अफिम भन्दै मेरा हजुरबाको टुपी र जनै काटेर हिन्दु सनातन धर्मका गीता च्यात्नेहरु आज खुलेआम नेपालीलाई प्रलोभनमा पारेर बाइबल बाँड्दा तिनै माओवादीले विदेशीलाई किन कारबाही गर्न सक्दैन ? के हिन्दु धर्म मानेकै कारण मेरा घरमा घटेको घटनाजस्तै नेपालभर घट्नुपर्ने हो ? के आजको माओवादीको जनयुद्ध नामको धन्दा यिनै र यस्तै गोरा र क्रिश्चियन धर्मबाट परिचालन छ ? गाउँ गाउँमा खुलेआम चर्च बन्दा तिनै माओवादीद्वारा ताली पट्काइन्छ । अनि हिन्दु सनातन धर्म अनुरुप मन्दिरमा पुजापाठ गर्ने पण्डितको टुप्पी जनै काट्दै मठमन्दिर भत्काउने काम किन गरिन्छ ? के माओवादीको लागि हिन्दु धर्म मात्र अफिम हो, क्रिश्चियन धर्म चाहिँ अफिम हैन ? यी र यस्तै प्रश्नहरु मेरो दिमागमा घुमेको घुमै गरिरहे । कहिल्यै नमेटिने गरि मानसपटलमा डेरा जमाएर बसे । द्वन्द्वको घाउ समाल्दै यी प्रश्न न कोही कसैलाई सोध्ने आँट गर्न सके न त आजका दिनसम्म यो विषयमा माओवादी वा राज्य पक्षबाट जानकार नै हुन सके ।
गाई काटेर मन्दिरको पुजारीलाई जर्बजस्ती मुखमा कोचेर खुवाइथ्यो । भगवानको मूर्तिलाई गाइको रगत चढाइन्थ्यो । मन्दिर र गूठीको जग्गा कब्जा गरेर जनअदालत मातहत राखिन्थ्यो । माओवादीको मातहत नचल्ने नागरिकको जग्गा कब्जा गरेर जनअदालतमा राखिन्थ्यो रे । मेरा केही आफन्तको सम्बाद सुन्दा बुढाबुढी भएको मेरो हजुरआमा र हजुरबा डरले अचेत हुनुभएको थियो । त्यो कहालीलाग्दो क्षण आज सम्झिदा पनि उत्तिकै कहाली लाग्छ । अनि म सोचमग्न हुन्छु । जनक्रान्तीका नाममा चन्दा आतंक मच्चाउने, सामन्ती भन्दै जग्गा हडप्ने र निजी लगानी गर्नेलाई भाटे कारबाही गर्ने, सर्वहारा वर्गसंघर्ष भन्दै अरुलाई भाटे कारबाही गर्ने तिनै मानिस आजको समयमा सबैभन्दा धनी हुन कसरी सम्भावना छ ? तिनका वर्गसंघर्षका कुरा कहाँ गए ? किन राज्यदोहन जस्तो घृणित काम गरेर सम्पत्ति कमाउनमा लालायित छन् ? तिनै सर्वहाराका निजी कम्पनी, अस्पताल, स्कुल, कलेजको लगानी, सुबिधा सम्पन्न जीवनशैली कसरी सम्भाव छ ? कोही पाष्टर बनेर विभिन्न चर्च धाएको, सोझासाझा जनतालाई धर्म परिवर्तन गर्नमा उक्साएको देखेर निकैबेर एकान्तमा घोत्लिन्छु । जनयुद्व देशमा जनहितको काम गरेर देशको विकास र जनताको उत्थान गर्नभन्दा पनि विदेशीको एजेन्डामा संघीयता, गणतन्त्र र धर्म निरपेक्ष राज्य बनाउनकै निम्ति विदेशीद्वारा संचालित रहेछ भनेर भन्न अब कुनै आइतबार कुर्नुपर्छ र ?
विगत र वर्तमानलाई न्यायको तुलोमा राखेर निस्पक्ष माओवादी चरित्रलाई वास्तविक धरातलमा टेकेर अध्ययन गर्ने हो भने आजसम्मको जनयुद्ध देशको हितमा भन्दा पनि व्यक्तिगत लाभमा विदेशीको इसारामा चल्ने कठपुतली रहेछ भन्ने कुरा सङ्लो पानी जस्तै छर्लंग देखिन्छ । समाज र देश परिवर्तन भन्दै भुमिगत हुने र राज्यविरुद्ध मोर्चाबन्दी गरेर युद्ध गर्नेहरुको चरित्र किन र कस्को लागि थियो भनेर अब आम मानिसले प्रस्ट बुझ्नुपर्छ । हामी नेपालीलाई सधै उल्झनमा पारेर केही टाठा धुर्तले राज्य दोहन गर्ने र निर्धो जनतामाथि रजाइँ गर्ने नियति रहेछ । खासगरी यो माओवादी जनयुद्ध नामको द्वन्द्वात्मक अवस्था इन्डो, अमेरिकी र युरोपेली भ्याटिकन चर्चको पैसा र इन्डो, पश्चिमी योजना अनुसार राजसंस्था र सनातन धर्म विरुद्धमा बुनेको योजना रहेछ । धर्म अफिम हो भन्दै देशलाई इसाईकरण गर्ने र हामी नेपालीलाई गुमराहमा पार्ने, विदेशीलाई आफ्नो स्वार्थमा चल्न दिने र आफु सत्तामा पुग्ने बाटो रहेछ । देशलाई धर्मसापेक्ष बनाउन संघीयता खारेजी र दलिय भागबण्डाको राजनीति विरुद्धमा देशभक्त नेपाली बेलैमा एक हुनुको विकल्प छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->