तनहुँ, ६ पुस– तनहुँका स्थानीय तहमा नेकपाबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले संसद विघटनले आम नागरिकलाई निराश बनाएको बताएका छन् । ५ वर्षसम्म स्थिर सरकार बन्ने र विकास निर्माणले गति पाउने आशमा दिएको जनमतको कदर नभएको उनीहरुको भनाई छ ।
ढोरपाटनकर्मीसंगको टेलिफोन कुराकानीमा देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले केही नेताको व्यक्तिगत स्वार्थका कारण जनताले चाहेको स्थिर सरकार र दिगो बिकासको सपना पुरा हुन नपाएको दुखेसो गरे । उनले अगाडी थपे, ‘जुन जोगी आए पनि कानै चिरेको भन्ने उखानलाई चरितार्थ गर्ने काम भएको छ ।’ स्थानीय, प्रदेश र संघ सरकार एउटै माला भएकाले अब आफुहरुलाई काम गर्न अप्ठ्यारो पर्ने उनी बताउँछन् । हाल भइरहेको विकासको गतिमा बाधा आउने उनको बुझाई छ ।
भिमाद नगरपालिकाका मेयर मेखबहादुर थापाले इतिहासमा जनताले बिकास गर्नलाई दुई तिहाई मत दिएर ५ वर्षसम्मलाई पठाएकोमा बिचमै संसद विघटन हुनु दुर्भाग्यपूर्ण रहेको बताए । ‘स्थानिय सरकार सञ्चानार्थ पर्याप्त अधिकार दिइएको छैन् । ऐन कानून संशोधन गर्दै अधिकार प्रदान गर्नुपर्ने बेला यसो नहुनुपर्ने हो’, उनले भने । मेयर थापाले अब वैशाखमा हुने निर्वाचनले स्थानिय तहको चौतर्फी विकासमा बाधा पु¥याउने उल्लेख गरे ।
शुक्लागण्डकी नगरपालिका–१२ का वडअध्यक्ष मनराज गुरुङले संसद विघटनले सम्बृद्धिको यात्रामा बाधा पु¥याएको धारणा राखे । उनले भने, ‘संघीय शासन व्यवस्थामाथि कुठराघात भयो । राजनीतिक अस्थिरता बढाउने त निश्चित नै छ ।’





