मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

संसद विघटनपछिको तरंग : बामपन्थी गठजोड र बिकासमा असर

संसद विघटनपछिको तरंग : बामपन्थी गठजोड र बिकासमा असर

‘संविधानको सफलता भन्दा असफलता बढी’


  • ढोरपाटन संवाददाता
  • पुष ७ २०७७, मंगलबार

बागलुङ, ७ पुस– प्रधानमन्त्रीले संसद बिघटन गरेपछि राजनीतिमा नयाँ तरंग सिर्जना भएका छन् । आगामी निर्वाचनको बिषय एकातिर छ भने जिल्लाका बिकास निर्माणको कति के हुने ? जिल्ला र प्रदेश तहमा भएका समीकरणहरु के कसरी अगाडि बढ्लान् भन्ने अर्को बिषयले स्थानीय रुपमा बढी शंका उपशंका समेत जन्माएको छ ।
जिल्लामा बिरोधका स्वर छरपष्ट देखिन थालेका छन् । संविधानकै सफलता र असफलता समेतमा बहस सुरु भएको छ । त्यस्तै गुट उपगुटले पार्ने असरबारेपनि बहस र छलफल सुरु भएको छ । कतिपयले सार्वजनिक रुपमा सामाजिक संजालमै भोलीका दिनको अबस्था बारे लेखेका छन् ।
बिशेषगरी बागलुङ जिल्लामा भएका राजनीतिक निर्वाचन देखि सामाजिक अभियान सम्म बाम गठबन्धनको लहर नै थियो । गत निर्वाचनमा बागलुङको संघिय संसद २ जना र प्रदेश संसदमा ४ जना गरी ६ वटै सिटमा बामपन्थीहरुको बर्चस्व रहेको थियो । यो अबस्था आउनुमा बागलुङको नेकपा मात्र नभइ राष्ट्रिय जनमोर्चा समेतको गठबन्धन थियो ।

गण्डकी प्रदेश सभामा पनि तीन जना सदस्य राजमोका छन् । जसले आगामी सत्ता समीकरणमा पनि प्रमुख भूमिका खेल्न सक्छ । बामपन्थीहरु अलग अलग निर्वाचनमा जाँदा २०७० सालको निर्वाचनमा कांग्रेसले एकलौटी बनाएको थियो । अहिलेको नेकपा र कांग्रेसबीचको कडा प्रतिष्पर्धामा राजमो बिशेष सहयोगी देखिन्छ । राजमोको आफ्नै उमेदवार उठेको बेला बागलुङमा कांग्रेस बर्चस्व हुने गरेको छ भने बाम घटक मिल्दा बामपन्थीकै बर्चस्व ।
राजमोका जिल्ला अध्यक्ष अमर थापाले राजमोको साथबाट जिल्लाको समीकरण बामपन्थीमय भएको बताए । उनले आगामी निर्वाचन कुन तहमा कसरी अगाडि जान्छ भन्ने यकिन नभएपनि संसद बिघटनले जिल्लाको सामाजिक एकता र बिकास निर्माणमा असर पर्ने बताए । ‘संसदको निर्वाचनमा जाने बिषय एउटा मोर्चाबन्दी मात्रै हो, तर जिल्लाका धेरै सामाजिक सास्कृतिक घटनाक्रममा भने संसद बिघटन र नेकपाको बिभाजन उन्मुख राजनीतिले ठूलो असर गर्छ’ थापाले भने, ‘उनीहरुकै मेलमिलाप नभएको स्थानमा हामी गएर मिल्ने र मिलाइदिने कुरापनि भएन ।’
नेकपा बिभाजन भैहालेको खण्डमा बागलुङमा ओली पक्ष भन्दा प्रचण्ड र नेपाल पक्ष अझै सशक्त हुन सक्ने कार्यकर्ताहरुनै बताउँछन् । ‘ओली गुट यहाँ कमजोर छ, त्यसैले पार्टी संचालनमा समस्या हुँदैन’ नेकपाका सेक्रेटरी ज्ञामनाथ गैरेले भने, ‘बिकास निर्माण र सामाजिक एकतामा भने गम्भिर असर पर्ने देखियो ।’ एकता अघि तत्कालिन माओवादी र नेपालसमूहको गुट बलियो भएको उनले समेत दाबी गरे ।

पार्टी बिभाजन प्राविधिक कुरा भएपनि वडा तहसम्मको कार्यकर्ताहरुको बिभाजनले बिकास निर्माण भने पूर्ण रुपमा असफल हुने देखिएको छ । ‘सबै मिलेर दवाव दिएकोले मध्यपहाडी लोकमार्गमा ठेकेदारले काम थालेका थिए’ जिल्ला समन्वय समितिका उपप्रमुख बिष्णु भुषालले भने, ‘अब यो काममा समेत प्रभावित हुने भयो ।’ निर्वाचन भएको खण्डमा बिकास निर्माणको बजेट समेत कटौती भएर बिकासपछि पर्ने उनले बताए ।
जिल्ला समन्वय समितिको निर्वाचनमा पनि बामपन्थी गठजोठले ठूलो उपलब्धी हसिल गरेको थियो । कुल २० जना मतदाता मध्ये कांग्रेसका ८, तत्कालिन एमालेका ६, माओवादीका २, राजमोका ३ जना र राप्रपा १ जना थिए । उनीहरु सबै एकतृत भएकै कारण समन्वय समिति समेत बामपन्थीको पोल्टामा गएको थियो ।
कांग्रेस सभापति दिपेन्द्रबहादुर थापाले भने कांग्रेस सधै एक्लै लडिरहेको बताए । ‘हामी एक्लै लडेका छौं, बामपन्थी मिल्दा कतिपय पद गुमायौं, कतिपय स्थानमा अझै पहिलो शक्ती बनिरहेका छौं’ थापाले भने, ‘अर्काको घरभित्रको झगडाले देशै बर्बाद पार्न भने पाईदैन ।’ संसद बिघटन र निर्वाचनमा पुग्दा राज्यको अर्बौ रकम सकिने उनले बताए । त्यो खर्चले बिकासको गति अबरुद्ध भएको उनको धारणा छ । ‘हामीले राजिनामा मागेका थिएनौं, ५ बर्ष टिक्ने सरकार बनाउ भनेकै थियौं’ उनले भने, ‘आफ्नो बिबाद मिलाउन नसकेर देशलाई भड्खारोमा धकेल्न पाइदैन ।’

‘संविधानको सफलता भन्दा असफलता बढी’
जनता दल नेपालले भने संविधानको सफलता भन्दा असफलता बढेको टिप्पणी गरेको छ । उक्त दलका अध्यक्ष तिलक रिजालले बागलुङमा आयोजना गरेको सर्बदलीय सर्बपक्षिय अन्तरक्रियामा संविधान लेखनमै कमजोरी भएको भन्दै पुर्नलेखनको माग समेत गरे । मौलिक हक कायम गराउन सरकार असफल रहेको उनको टिप्पणी पनि थियो । ‘मौलिक हक कार्यान्वयनकालागि संवैधानिक आयोग गठन नहुनुनै यसको कारण हो, तर अहिले चोरबाटोबाट गठन भएको आयोगले काम गर्न सक्दैन’ उनले भने, ‘संघियताका केही पक्ष र धर्म निरपेक्षता लेखेर मात्र भएन, कार्यान्वयन हुनै सक्दैन ।’ उनले हिन्दु बौद्ध बहुधार्मिक राष्ट्र लेख्न आग्रह गरे ।
एकैदिन ३ सय बढी अस्पताल शिलान्यास गर्दापनि पूजापाठ गरेर हिन्दु धर्मको विधि प्रयोग भएको भन्दै उनले काम एउटा गर्ने, संविधाना निरपेक्ष लेखेर मात्र कार्यान्वयन नहुने उनले टिप्पणी पनि गरे । यो संविधानले प्रधानमन्त्री, राष्ट्रपति र मन्त्री निर्वाचन गर्न मात्रै सफल भएको उनको धारणा थियो । यो अभियान देशव्यपी बनाउन अन्य दलको सहकार्य खोजेको उनले बताए । सोमबार उनले आयोजना गरेको बैठकमा कांग्रेस, राजमो, जनता समाजवादी पार्टी, नेकपा माले र राप्रपा सहभागि थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->