पोखरा, १० पुस- प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) ले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकारी पद खोस्दा गण्डकी इञ्चार्ज पृथ्वीसुब्बा गुरुङको पद भने थमौती भएका छन् । प्रचण्ड–माधव नेपाल खेमाले आफूलाई कारवाही गरेको भोलिपल्ट ओलीले प्रचण्डको कार्यकारी पद खोसेका हुन् ।
आफू नै सक्कली नेकपा भएको दावी गरिरहेका दुबै समूह एक समूहले अर्को समूहकालाई कारवाही गर्ने लहर चलेको हो । गण्डकीका मुख्यमन्त्री तथा इञ्चार्ज पृथ्वीसुब्बा गुरुङ ओलीले नेतृत्व गरेको नेकपामा छन् । उनी अन्य प्रदेशमा इन्चार्ज फेरबदल गर्दा गण्डकी र लुम्बिनी प्रदेशका इन्चार्ज त्यही कारणले यथावत् रहेका हुन् । गण्डकीमा प्रचण्ड–नेपाल पक्षका हितराज पाण्डे अध्यक्ष, ओली पक्षका खगराज अधिकारी सहइन्चार्ज र सोहीइ समूहका गोविन्द नेलाी सचिव रहेका छन् । यता, ओली इन्चार्ज नै ओली समूहको मात्रै घोषित भएपछि गण्डकी प्रदेशमा प्रचण्ड–नेपाल समूहले पनि शनिबार बैठक बोलाएको छ । बैठकको अध्यक्षता अध्यक्ष हितराज पाण्डेले नै गर्ने र त्यो बैठकले आन्दोलनको कार्यक्रम तय गर्ने सो समूहका एक नेताले जानकारी दिए ।
‘हाम्रोतर्फबाट अहिले प्रदेश र जिल्ला नेतृत्व चलाउने काम हुँदैन, यो स्थायी कमिटीले निर्णय गर्छ’, पार्टीका एक नेताले भने,‘ वैधानिक पार्टी हामी नै भएकाले कोही अल्मलिने कुरै छैन ।’ यता, प्रचण्ड–नेपाल समूहले आउँदो शनिबार सबै केन्द्रीय कमिटी सदस्य माइतीघरमण्डलामा उपस्थित भएर विरोध जनाउने र निर्वाचन आयोगमा जाने तय गरेको छ । सो समूहले ११ गते सातै प्रदेशका कमिटीको बैठक आयोजना गर्ने, १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला आयोजना गर्ने जनाएको छ भने पुस १४ गते राजधानी र सबै जिल्लामा विरोध प्रदर्शन आयोजना गरिएको छ ।गण्डकीमा हुने प्रदर्शनमा स्थायी कमिटी सदस्य देव गुरुङ र देवेन्द्र पौडेल नै सहभागि हुने कार्यक्रम तय भएको छ । उता,गण्डकीमा बहुमतमा रहेको ओली पक्षले अर्का पक्षमा भएकाहरुलाई कारवाहीको तयारी गरेको छ । यसअघि नै माधव नेपाल पक्षका धेरै नेतालाई केन्द्रीय सदस्यमा तानिसकेको ओली समूहले बाँकी नेतालाई कारवाही गरेर आफूलाई नै मूलधार बनाउने तयारी गरेको हो । ओली समूहका युवाहरुको शुक्रबार पोखरामा भेला राखिएको छ । यसैबीच केन्द्रीय सदस्यमा मनोनित गरिएका नेता दलबहादुर गुरुङले सो पद अस्वीकार गरेका छन् । धम्पुसका गुरुङले पार्टी फुटेकोमा दुःख लागेको बताउँदै सो पद स्वीकार्न नसक्ने जनाएका हुन् ।





