म्याग्दी, ११ पुस- म्याग्दीका ६ स्थानीय तहमा नेपाल टेलिकमको फोरजी इन्टरनेट सेवा पुगेको छ । म्याग्दीको बेनी नगरपालिका, मंगला, मालिका, धवलागिरि, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा फोरजी सेवा विस्तार गरिएको हो ।
देशका सबै जिल्लामा इन्टरनेटको फोरजी सेवा उपलब्ध गराउने सरकारको नीति अनुसार फोरजी सेवालाई अगाडि बढाइएको टेलिकम म्याग्दीका कार्यालय प्रमुख विष्णुदेव शाहले बताए ।
विद्युतीकरण नभएको ठाउँमा टेलिकमले आफ्नो संरचना निर्माण गरिरहेको हुँदा विद्युत सेवा सञ्चालनमा आउनेबित्तिकै टेलिकमको फोरजी इन्टरनेट सेवा सञ्चालन गरिने तयारी भैरहेको प्रमुख शाहले जानकारी दिए ।
इन्टरनेटको चौथो पुस्ता अर्थात् फोरजी सेवा जिल्लाको सबै स्थानीय तहमा पुगेको टेलिकमले दाबी गरेको भएपनि धवलागिरि गाउँपालिकाको केन्द्र मुनामा भने विद्युतीकरण पुगिनसकेको हुँदा सञ्चालन भएको छैन ।
यसैबीच, चालु आर्थिक वर्ष २०७७÷७८ को साउनदेखि मंसिर मसान्तसम्म म्याग्दी जिल्लामा फाइरबर टु दि होम (एफटिटिएच)का १ सय ९५ जना र ल्याण्डलाइन टेलिफोन अर्थात् भ्वाइस प्याकका ५१ जना नयाँ ग्राहकहरु थपिएका छन् ।
गत आर्थिक वर्षको असार मसान्तसम्म जिल्लाको कुल ९० हजार ३१ जना अर्थात् ८० प्रतिशत जनसंख्या सञ्चार सेवाको पहुँचमा पुगेको तथ्यांक छ ।





