बागलुङ, ११ पुस– झोलाभरि किताबकापी बोकेर शान्ति मावि पुग्ने जैमिनी नगरपालिका–१ कुश्मीशेराकी खुस्वु परियारलाई सधैं खाजाको चिन्ता । बजारमा पाईने खाजा खान सधैं अभिभावकसँग पैसा नहुने । घरको खाजा विद्यालयमा लैजाँदा साथीहरुले गिज्याउँथे । अहिले खुस्वु निकै खुसी छन् । नत उनलाई विद्यालयमा खाने खाजाको चिन्ता छ नत साथीभाईको भन्दा फरक खाजा हुन्छ की भन्ने चिन्ता । उनी र उनका साथीहरुले विद्यालयमा एकैखालको खाजा खान्छन् ।
विद्यालयले केही साता पहिलादेखि विद्यार्थीलाई खाजा खुवाउन थालेको हो । विद्यालयमा नै खाजा पाउने भएपछि खुस्बु मात्रै होईन शान्ति माविको प्राथमिक तहमा अध्ययन गर्ने सबै विद्यार्थी खुसी छन् । जैमिनी नगरपालिकाका सबै विद्यालयमा प्राविका विद्यार्थीको लागि खाजा कार्यक्रम सुरु भएको छ ।
नेपाल सरकारले चालु आवको पहिलो महिनादेखिनै सुरु गर्ने भनेको यो कार्यक्रम कोभिड १९ का कारण रोकिएको थियो । कोरोना महामारीबीच सञ्चालन भएका विद्यालयहरुमा खाजा कार्यक्रम सुरु भएपछि नयाँ उत्साह छाएको शान्ति माविका प्रधानाध्यापक यमबहादुर जिसीले बताए । ‘बहाना बनाएर विद्यालय नआउने विद्यार्थी पनि खाजा पाएपछि हौसिएर विद्यालय आउँछन्’ जिसीले भने ‘खाजामा एकरुपता र विद्यार्थीलाई विद्यालय ल्याउने कडी बन्ने भो खाजा ।’
बागलुङका तीन पालिकाले सामुदायिक विद्यालयमा अध्ययरत प्रावि तहका विद्यार्थीलाई निःशुल्क दिवा खाजाको व्यवस्थापन गरेको छन् । काठेखोला, बडिगाड गाउँपालिका र जैमिनी नगरपालिकाले सामुदायिक विद्यालयको प्रावि तहमा अध्ययरत विद्यार्थीको लागि पालिकाले निःशुल्क खाजाको व्यवस्थापन गरेका हुन् । नेपाल सरकारले सशर्त अनुदानतर्फ बजेट विनियोजन गरेकाले पालिकाहरुले कार्यान्वयनमा ल्याएका हुन् ।
गाउँपालिकाका सबै विद्यालयमा पुस १ गतेदेखि निःशुल्क खाजा सुरु गरेको बडिगाडका नगर शिक्षा अधिकृत प्रकाश बहादुर क्षत्रीले जानकारी दिए । विद्यालयमा पूर्णरुपले ‘जंगफुड’ निषेध गर्ने विद्यालयहरुले जनाएका छन् । स्थानीय उत्पादनमा आधारित पोषणयुक्त खाजा बालबालिकाहरुलाई उपलब्ध गराउन सरकारले प्रतिविद्यार्थी प्रतिदिन १५ रुपैयाँको दरले बजेटको व्यवस्था गरेको छ । ‘गाउँकै उत्पादनमा आधारित खाजा हुन्छ, चमेना गृहमा बन्दै गरेको खाजा खाँदा विद्यार्थीले पाउँदा स्वास्थ्यका हिसाबले लाभदायक हुन्छ ।’ काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले भने ।
यो कार्यक्रम व्यवस्थापन लागि सशर्त अनुदान संघीय सरकारबाट स्थाीय तहलाई उपलब्ध हुन्छ । स्थानीय तहकै अगुवाई र समन्वयमा विद्यालय स्तरमा कार्यान्वयन गर्नुपर्ने हुन्छ ।
स्थानीय तहभित्रका विद्यालयमा दिवा खाजा व्यवस्थापन जिम्मेवारी नगरपालिका वा गाउँपालिकामा रहने सामाजिक विकास समितिलाई हुनेछ । यस कार्यका लागि उपप्रमुख वा उपाध्यक्षको अध्यक्षतामा १० सदस्यीय स्थानीय तहको कार्यक्रम कार्यानवयन संयन्त्र निर्माण गर्नुपर्ने सामुदायिक विद्यालयमा दिवा खाजा मापदण्ड तथा कार्यक्रम सहजीकरण पुस्तिका– २०७६ मा उल्लेख छ ।





