आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

राष्ट्रसेवी शिक्षा र उद्यमशिलता

राष्ट्रसेवी शिक्षा र उद्यमशिलता


  • प्रकाश थापा
  • पुष १२ २०७७, आइतबार

शिक्षा मानव जीवनको ज्योति हो । यो ज्योति समाजमा व्याप्त कुरीति, कुसंस्कार, अन्धविश्वास र अभावलाई जरैबाट निर्मूल पार्ने आधार हो । शिक्षा कोरा सैद्धान्तिक ज्ञानका रुपमा मात्र नभई व्यवहारिक जीवनउपयोगी साधनर स्रोतको व्यवस्थित परिचालन गर्ने माध्यम पनि । शिक्षाविद् कोमेनिस्ले भनेका छन्– ‘एउटासिङ्गो मानिसको सम्पूर्ण विकास नै शिक्षा हो ।’ यस अर्थमा शिक्षालाई व्यक्ति, समाज र राष्ट्रको भलो गर्ने साधन भनेर भन्न सकिन्छ । वैदिककालदेखि वर्तमान परिवेशसम्म आइपुग्दा शिक्षाको अवस्था र आवश्यकतामा व्यापक परिवर्तन भइरहेको छ । वर्तमान परिप्रेक्ष्यमा विज्ञान प्रविधिको विकास र विश्वव्यापीकरणले गर्दा पुरातनवादी शैक्षिक प्रणाली वैज्ञानिक तथा व्यवसायिक रुपमा रुपान्तरण हुँदैछ । अहिलेको युग हिजोका दिनहरुभन्दा फरक रुपमा शिक्षालाई अग्रगामी तबरले रुपान्तरण गर्ने समय हो । वर्तमान सन्दर्भमा रोजगारीमूलक, सुसंस्कृत, सभ्य र नैतिक चरित्रवान नागरिक उत्पादन गर्ने गुणस्तरीय शिक्षानै देश विकासको मूल आधार हो ।
नेपालमा लामो समयपश्चात् भएको राजनीतिक, आर्थिक, सांस्कृतिक र सामाजिक परिवर्तनका कारण शैक्षिक रुपान्तरण व्यापक बहसको विषय बनिरहेको छ । देशले हरेक क्षेत्रमा काँचुली फेरिरहँदा शैक्षिक क्षेत्रभने उही पुरातनवादी सोंचका साथ अघि बढ्दा शैक्षिक बेरोजगारको समस्या पनि टड्कारो रुपमा उठिरहेको छ । लामो समयदेखि नेपालका विद्यालय तथा विश्वविद्यालय तहमा चलिरहेको सैद्धान्तिक ज्ञानलाई मात्र रट्ने रटाउने शिक्षा पद्धतिले गर्दा नेपाली समाज समृद्धितर्फ जान सकेन । हिजोको शिक्षामा व्यवहारिकता, व्यवसायिकता र प्राविधिक ज्ञानमा अपेक्षाकृत प्रगति नहुनाले देश विकासको कडीमा उद्यमशीलता जोडिन सकेन । देशको प्राकृतिक स्रोत र मानवीय साधनलाई उचित तरिकाले व्यवस्थापन गर्न सकिएन । फलस्वरुपः सैद्धान्तिक ज्ञानले त परिपूर्ण तर व्यवहारिक सीपको अभावले गर्दा हाम्रो शैक्षिक जनशक्ति कोही खाडी मुलुक, कोही जापान कोरिया त कोही युरोप अमेरिकामा मजदुर भएर भाँसिन बाध्य भएका छन् । शैक्षिक प्रमाणपत्रधारीहरुले अरुलाई रोजगारी दिनुपर्नेमा आफ्नो शैक्षिक उपाधिसमेत थन्काएर कसले रोजगारी देला भन्दै सहर बजारदेखि परदेशका कुनाकाप्चासम्म चाहारिरहनु परेको छ । हाम्रो शिक्षाले देशको जल, जंगल, जमिन, जडिबुटी र जनावरलाई चिन्न नसक्दा र समय सन्दर्भअनुरुप देशमा उद्यमशीलता बढाउन तथा परम्परावदी सोंचमा नवप्रवर्तन ल्याउन नसक्नुले देशको अपेक्षित विकाश हुन सकेन ।
देशको उद्यमशिल क्षेत्रलाई प्रगतिपथमा लम्काउन र नयाँ परिवर्तन ल्याउन प्राविधिक शिक्षाको भूमिका अहम् रहन्छ । संसारका विकासित देशहरुको तथ्यलाई हेर्ने हो भने पनि उनीहरुको प्राविधिक शिक्षामा लगानी र उपलब्धि धेरै नै भइरहेको छ । तर त्यसको ठीक विपरीत नेपालको प्राविधिक शिक्षाको अवस्था ज्यादै दयानीय छ । देशको विकासका लागि आवश्यक पर्ने प्राविधिक जनशक्ति अति न्युन त छँदैछ । उत्पादित जनशक्तिले पनि देशको उद्यमशीलता र नवप्रवर्तनमा खासै भूमिका खेल्न सकेका छैनन् । सरकारले पनि लगानीमैत्री वातावरण र उद्यमशीलताको मार्गदर्शन गर्न सकिरहेको छैन ।
नेपालमा टल्कने हिमाल, कलकल बग्ने नदीनाला, सिमसार क्षेत्र, खनिजपदार्थ, वनजंगल, वन्यजन्तु, जडीबुटी, उर्वर भूमि, विविध भाषा संस्कृति आदि अनगिन्ती संभावनाका क्षेत्रहरु भएर पनि प्राविधिक जनशक्ति, व्यवहारिक ज्ञान, इच्छाशक्ति, सीप र दक्षताको कमीका कारण देशमा रोजगारीका अवसरहरु खुल्न सकेका छैनन् । देशको वन क्षेत्रलाई हेर्ने हो भने कुल क्षेत्रफलको ४४.७४ प्रतिशत वन भएर पनि देशले मलेसिया, इन्डोनेशियालगायतका मुलुकबाट काठ आयात गरी माग धान्नुपर्ने तितो यथार्थ छ । कृषिप्रधान भनिने देश कृषिमा पूरै परनिर्भर छ । देशको हरेक क्षेत्र हेर्ने हो भने सबैतिर उस्तै परनिर्भरता व्याप्त छ । हामी नेपालीहरुको हातमा सुनको थाल भएपनि उचित व्यवस्थापन गर्न नसक्दा परजीवी भइरहेका छौं ।
अब राष्ट्रमा युग सुहाँउदो शिक्षा बनाउनु र शैक्षिक रुपान्तरण गर्नु नेपालका बौद्धिक वर्ग, नीति निर्माता तथा राजनैतिककर्मीहरुको मूल कर्तव्य हो । शिक्षा क्षेत्रमा रुपान्तरण गर्न अप्रवाधिकधार र प्राविधिक धारका विषयहरुको सन्तुलित विकास र प्रवद्र्धन गर्न जरुरी छ । नेपालले उद्यमशीलता र नवप्रवर्तन बढाउन समयको मागअनुसार राज्यकातर्फबाट अबको लगानी कृषि, वन, पशुपालन, इन्जिनियरिङ, चिकित्सा, भूगर्भ विज्ञान, वातावरण विज्ञान, पर्यटन, होटल व्यवस्थापन, सूचना तथा प्रविधिजस्ता विषयहरुमा बढी लगानी केन्द्रीत गर्नुपर्ने देखिन्छ । विद्यालय तहबाटै विद्यार्थीलाई ज्ञान, सीप र प्राविधिमैत्री विषयहरु शिक्षण गराउनु पर्दछ । देशमा करिव २८ प्रतिशत उर्वर कृषियोग्य भूमि रहेकाले हरेक जिल्लामा कम्तीमा एक उच्च कृषि शिक्षालयको व्यवस्था गरी कृषि शिक्षालाई सहज गर्न सके अवश्य देशभित्र कृषिजन्य उद्यमशीलता बढाउन सकिन्छ । यसैगरी वनविज्ञान अध्ययनमा सहज ल्याउन हरेक प्रदेशमा एक वन विश्वविद्यालयको अवधारणालाई मूर्तरुप दिनु पर्दछ । यसले गर्दा उत्पादित जनशक्तिलाई अहिले देशका धेरैजसो ग्रामिण ठाउँहरुमा रहेका खाली, पर्ती र ऐलानी जमिन तथा पाखो बारीमा नर्सरीको स्थापना, जडीबुटी रोपण, कृषि वन प्रणालीको प्रवद्र्धन, निजीवनको विकास, व्यवसायिक खेती आदि रोजगारीका अवसरहरु खुलाउन सकिन्छ ।
देशमा इन्जिनियरिंग क्षेत्रका नवीनतम् विषयहरुको अभाव खड्किरहेको छ । ह्वाइटगोल्ड भनेर चिनिने हाम्रा खोलानालाहरुको अधिकतम उपयोग गर्न हाइड्रोपावर इन्जिनियरिङ र भौगोलिक सूचना प्रणालीबाट स्रोत व्यवस्थापन गर्न जियोमेटिक्स इन्जिनियरिङको अध्यापन गराउनु अति आवश्यक छ । औद्योगिक रुपमा अघि बढ्न इन्डस्ट्रीयल इन्जिनियरिङ र पूर्वाधार विकास निर्माणका लागि रेल वे इन्जिनियरिङको पनि उत्तिकै महत्व रहेको छ । अझ देशको पर्यटन प्रवद्र्धनका लागि होटल व्यवस्थापन र पर्यटन विषयमा उच्च शिक्षा तथा प्रशिक्षण तालिमको व्यवस्था गर्नुपर्ने देखिन्छ । हिजो हाम्रा पूर्खाले खनीखोतली गरेका तामाखानी, फलामखानी, सिसाखानी आदिको उत्खनन् तथा प्रशोधनका कार्य देशभर पूर्ण रुपमा बन्द नै छन् । हाम्रा पहाड तथा समग्र भूमिमा लुकेका युरेनियम, पेट्रोलियम र विभिन्न धातुहरु लागायतका धेरै स्रोतहरुबाट सम्पन्नता ल्याउन भूगर्भ विज्ञानको पढाइमा राष्ट्रिय तथा अन्तराष्ट्रिय छात्रवृत्ति र लगानी गर्नैपर्ने आवश्यकता छ । सूचना तथा प्रविधि विषयलाई जोड दिन विद्यालयस्तरबाटै नवीनतम प्रविधिमैत्री शिक्षा अवलम्बन गर्न जरुरी छ । मानवीय स्रोत व्यवस्थानका लागि पनि विकास व्यवस्थापन, जनप्रशासन, कानुनलगायतका विषयहरुमा पनि व्यवहारिक शिक्षाका लागि जोड दिनु पर्दछ । नेपाल आफैमा बहुभाषिक, बहुसाँस्कृतिक र जातीय विविधताले भरिपूर्ण मुलुक हो । राष्ट्रिय एकता कायम राख्न पनि यी जातीय पहिचान र भाषिक साँस्कृतिक सम्पदाको खोजी तथा अध्ययन गर्न जरुरी छ । अबको शिक्षाले नेपालको राष्ट्रियता, अखण्डता र साँस्कृतिक धरोहरलाई उजागर गर्न सक्नु पर्छ । देशलाई एक सूत्रमा बाँध्न र नेपाली माटोप्रति युवालाई बफादार, नैतिकवान र राष्ट्रप्रेमी भावनाले ओतप्रोत गराउन नैतिक शिक्षा, इतिहास, कला, संस्कृति, भाषा र साहित्यको अध्ययन अध्यापनलाई पनि प्राविधिक शिक्षासँगै जोडेर लैजानु पर्ने आवश्यकता छ ।
पछिल्लो समयमा प्राविधिक धारतर्फ विद्यार्थीको आकर्षण त बढिरहेको छ तर उत्पादित जनशक्तिको मोह भने विदेशतिर नै केन्द्रित छ । यस विषयमा राज्यको शिक्षा नीतिमा नै अनिवार्य राष्ट्रसेवा र उद्यमशीलतामा जोडिने प्रावधान हुनु पर्दछ । राज्यका तर्फबाट छात्रवृत्तिमा इन्जिनियरिङ, कृषि, वन, चिकित्सा, पशुपालन आदि प्राविधिक विषयमा सेवा सुविधा लिने विद्यार्थीलाई निश्चित अवधिका लागि राष्ट्र विकास सेवामा अनिवार्य संलग्न हुनु पर्ने नीतिगत व्यवस्था हुनु पर्दछ । उच्च शिक्षामा अध्ययनरत सबै तहका विद्यार्थीलाई अनुसन्धानात्मक कार्यमा अग्रसर गराउन छात्रवृत्ति तथा अनुदानको व्यवस्थामा जोड दिनु पर्दछ । अनुसन्धानबाट प्राप्त उपलब्धिलाई राज्यले उद्यमशीलता र नवप्रवर्तनमा उपयोगमा ल्याउन सक्नु पर्दछ । यसैगरी स्वदेश तथा विदेशका विभिन्न विश्वविद्यालयहरुमा अध्ययन अनुसन्धान गरेको जनशक्तिलाई स्वदेशी विश्वविद्यलयमा अध्यापन, अनुसन्धान र उद्यमशीलतमा जोड्ने कार्यनीति लिनुपर्ने देखिन्छ ।
पुरातन सैद्धान्तिक शिक्षा पद्धतिलाई रुपान्तरण गरी अब युग सुहाउँदो उद्यमशीलता र नवप्रवर्तनमा जोड दिनु आजको आवश्यकता हो । नेपालमा रुपान्तरित शिक्षाले मात्र मानवीय तथा प्राकृतिक स्र्रोतलाई व्यवस्थापन गरी देश विकासमा भूमिका खेल्न सक्दछ । अब राज्यले समयको मागलाई बुझेर विभिन्न प्राविधिक तथा अप्राविधिक विषयहरुमा उचित लगानी गर्नु त पर्छ नै । उत्पादित जनशक्तिलाई स्वदेशमा व्यवस्थापन गर्न प्रोत्साहन, सुशासन, पारदर्शिकता, निष्पक्षता र लगानीमैत्री वातावरण बनाउनु जरुरी छ । शिक्षालाई व्यवहारिक, व्यवसायिक र प्राविधिक ज्ञानतर्फ उन्मुख गराइ उद्यमशीलता र नवप्रवर्तनसँग जोड्नु नीति निर्माता र सम्पूर्ण सरोकारवालाहरुको साझा दायित्व हो । शिक्षामा रुपान्तरणले मात्र उद्यमशीलताको सपना साकार पार्न सम्भव छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->