बागलुङ, १२ पुस– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङको बैठक विभिन्न निर्णय गर्दै सकिएको छ । नेकपाको प्रचण्ड–माधव समुहले आईतबार आयोजना गरेको कार्यकर्ता भेला तथा जिल्ला कमिटिको बैठकले प्रधामन्त्री केपी शर्मा ओलिको कदम प्रतिगामी भएको निष्कर्ष निकाल्दै विभिन्न निर्णयहरु गरेको हो ।
प्रधानमन्त्री केपी ओलीको संसद बिघटनको कदमले लोकतन्त्र र संविधानमाथी धावा बोलेको बैठकले निष्कर्ष निकालेको छ । बैठक तथा भेलाले प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधीसभा बिघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक भएकाले पुनस्थापना गरेर देशलाई निकास दिनुपर्नेमा जोड दिएको छ ।
बैठकले सबै पार्टीपंक्ति तथा नेता कार्यकर्तालाई पार्टी एकताको पक्षमा प्रस्तुत हुन आग्रह गर्दै पार्टी एकतामा आँच पुग्ने खालको गतिविधी नगर्न, धैर्यता र संयमताका साथ अगाडि बढ्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणमा क्रियाशिल रहन अनुरोध गरेको छ । सत्ता र शक्तिको आडमा कार्यकर्तामा भ्रम छर्नेकाम भएको भन्दै त्यसकाविरुद्ध खुलेर संघर्ष गर्न समेत बैठकले कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।
बैठकले सबै पार्टी तथा जनवर्गिय संगठनको नगर तथा गाउँ कमिटिलाई पुस २० गतेभित्र बैठक तथा भेला आयोजना गर्न, १४ गते पार्टीको अगुवाईमा हुने संसद विघटनविरुद्धको कार्यक्रममा सहभागी हुने, २० गतेसम्म पालिका स्तरका कमिटिका सबै बैठक भेला सक्ने, पार्टि विभाजनको पक्षमा हुने सबै क्रियाकलाप निरुत्साहित गर्न सबै कार्यकर्ता पंक्तिलाई सचेत हुन आग्रह गर्ने र २५ गत वडा तहमा भेला तथा बैठक एवं प्रशिक्षण संचालन गर्न निर्देशन गरेको पार्टी कार्यालय सदस्य लालबहादुर थापाले जानकारी दिए ।
पार्टी बैठकलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले सबै एकताबद्ध र गोलबद्ध भएर कम्युनिष्ट आन्दोलनमा लाग्न आग्रह गरे । बैठकको संचालन सचिव ज्ञामनाथ गैरे र कार्यालय सदस्य लाल थापाले गरेका थिए भने स्वागत कार्यालय सदस्य फमलाल न्युरेले गरेका थिए ।
दिउँसो १ बजेबाट सुरु भएको बैठक साँझ ५ः३० बजे सकिएको थियो । बैठकमा नेकपा ओली पक्षको केन्द्रिय कमिटिमा सिफारिस भएर असहमति जनाएका नेताहरुसमेत सम्बोधन गरेका थिए । जिल्ला इन्चार्ज बलावती शर्मा, अध्यक्ष इन्द्रलाल सापकोटा, नेकपा एमालेका पूर्वअध्यक्ष श्रीप्रसाद शर्मा, हिरा बहादुर केसीलगायतले बैठकमा धारणा राखेका थिए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला पार्टी कार्यालय बागलुङको नामबाट बैठकको आव्हान गरिए पनि पार्टी विभाजन भएकोले पार्टिका केही सदस्य भने बैठकमा उपस्थित छैनन् । पूर्व एमालेका बहुमत सदस्य पार्टिमा सहभागि नभएको ओली पक्षका नेता कृष्ण पाठकले बताए । ८० प्रतिशत पूर्व एमाले ओली नेतृत्वको पक्षमा रहेको उनको दाबी थियो । पाठकले आईतबार बसेको बैठक पार्टीको नभई गुटको भएको आरोप लगाए ।
बैठकमा हाल जिल्ला कमिटिमा रहेका १ सय ४५ जिल्ला सदस्यमध्ये ९७ जनाको उपस्थिती रहेको जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले बताए । १० जना सदस्यले बिरामी रहेको र बाहिर रहेको खबर गरेकाले बहुमत सदस्य बैठक तथा भेलाको पक्षमा रहेको उनले दाबी गरे ।





