बागलुङ, १३ पुस– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले जिल्लाका सबै तहमा भेला तथा बैठकहरु सुरु गरेको छ । प्रचण्ड–माधव नेपाल समुहको आईतबार बागलुङमा सम्पन्न जिल्ला भेला तथा बैठकको निर्णयहरु सार्वजनिक गर्दै नेकपा बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले पालिका र वडा स्तरमा अगुवा कार्यकर्ताहरुको विस्तारित बैठक र भेला आयोजना गरिएको जानकारी गराए ।
प्रधानमन्त्रीको कदम असंबैधानिक र अलोकतान्त्रिक भएको भन्दै सोही बिषयमा कार्यकर्ता तहमा जानकारी पु¥याउने भन्दै बैठकले पुस २५ गतेसम्म जिल्लाभर विभिन्न कार्यक्रमहरु गर्ने निर्णय गरेको छ । सोमबार बिहान कार्यालयमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष सापकोटाले अहिले पार्टी कुनै व्यक्तिभन्दा प्रवृत्तिको विरोधमा पार्टीपंक्ती रहेको बताए ।
विघठित संसद पुनस्थापना हुनुपर्ने भन्दै सापकोटाले बैशाखमा निर्वाचनको बहानाबाजी गरेर देशलाई गम्भिर संकटको अवस्थामा पु¥याएको टिप्पणी गरे । नेकपाले सोमबार जिल्लाको जैमिनी नगरपालिकामा बैठक आव्हान गरेको छ । पुस १४ गते बागलुङ बजारमा बिरोध सभा आयोजना गरिएको सापकोटाले जानकारी दिए ।
पुसको १३ गतेबाट सुरु भएको पालिका स्तरीय बैठक पुस २३ गते सकिने गरी निर्णय भएको छ । पुसको २० गते जनसंगठनहरुको भेला आव्हान गरिएको छ । पुस २५ गतेभित्र जिल्लाका ८५ वटै वडा कमिटिको बैठक सम्पन्न गर्ने निर्णय भएको छ । पुसको २५ गते पालिकामा नेकपाबाट निर्वाचित जनप्रतिनिधिहरुको भेला आयोजना गर्ने निर्णय भएको पार्टी सचिव ज्ञामनाथ गैरेले बताए ।





