राज्यले देशको सुशासन शान्ति र विकासका खातिर मुलुकलाई सहज तरिकाले विधिवत् रुपमा संचालन गरि जनहित र लोक कल्याणकारी राज्यको स्थापना गर्ने उद्देश्य प्राप्तिका लागि आवश्यक शासन व्यवस्थालाई विधि र पद्दतीबाट चल्ने गरि जनचाहना र आफ्नो देशको आवश्यकता अनुकूलको राजनीतिक व्यवस्था अँगालेको हुन्छ । हाम्रो देशमा हाल बहुलवादमा आधारित संघीय लोकतन्त्रसहितको गणतान्त्रिक ब्यवस्था अंगिकार गरेका छौं । नेपालको संविधान को धारा १७ को उपधारा २ को खण्ड (ग) अनुसार राजनीतिक दल खोल्ने स्वतन्त्रताको हक अनुसार कुनै दलले आफ्नो बिधान र घोषणा पत्र अनुसार दल गठन, दर्ता र संचालन गर्न सक्ने भएकोले सोही विधि अनुरुप संचालित केही राष्ट्रिय मान्यताका दलमध्ये प्रायः नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमै एकल वा संयुक्त रुपमा दलिय व्यवस्था अनुसार शासनसत्ता चल्दै आएको छ । यिनै सत्तारूढ र प्रतिपक्ष वा प्रमुख प्रतिपक्षको वरिपरि हाम्रो मुलुकको शासन घुमीरहेको पाइन्छ । हाल देशले निर्माण गरेको चलन र विधिअनुसार दलीय शासन व्यबस्थामा ‘सत्ता र प्रतिपक्ष दलको भूमिका’ कस्तो हुनुपर्दछ र पद्दती कस्तो बसाल्ने भन्ने बारेमा सत्ताको बागडोर समालेका दलको भूमिका जति महत्वपूर्ण हुन्छ त्यत्ति नै प्रमुख प्रतिपक्ष दलको पनि हुन्छ ।
हालको सत्तासीन भोलीको प्रतिपक्षी भुमिकामा हुने र हालको बिपक्षले भोलिको सत्ताको बागडोर समाल्नु पर्ने हाम्रो बहुलवादको विशेषता पनि हो । ‘हाम्रो देशमा २०४७ साल यताको राजनीतिलाई हेर्दा प्रायः नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी यिनै दुईवटा दलको पेरिफेरीमा सत्ता घुमिरहेको पाइन्छ । नागरिकको मन जित्ने गरि तेश्रो दल खासै यहाँ अझै केही वर्ष निकटतम प्रतिपक्षसम्म बन्ने छाँटमा पनि यहाँ देखिदैनन ।’ त्यसैले सरकारका लागि यो भोलि म प्रतिपक्षमा रहदा सत्ता कसरी चलोस् भन्ने सिकाउने अवसर पनि हो । आफ्नो ब्यवहार राम्रो, जनमुखी तथा सर्वमान्य सिद्धान्त, कानून र विधि विधानका आधारमा चल्न चलाउनसके वर्तमान विपक्षीलाई विरोधको मसला नबन्ने र आउँदो सत्ताशिनको लागि पथप्रदर्शन अनि आफ्नै लागि सत्ता लम्ब्याउने अस्त्रका रुपमा प्रयोग हुन सक्दछ । त्यस्तै आफ्नो यो असल कामले भोलि बिपक्षमा हुँदा नराम्रोको खरो प्रतिवाद गर्न र खराब कामको दरो तरिकाले विरोध गर्न सहज हुन्छ । अन्यथा जहाँ रहँदा पनि चुपचाप रमिते बन्नु सिवाय अरु कुनै भूमिका खेल्न सकिदैन ।
त्यस्तै हालको प्रमुख प्रतिपक्षीले पनि सरकारले गरेको राम्रो कामको सह्र्ना गर्दै आवश्यक सहयोग गर्ने र जनहित र राष्ट्रहित विपरितका नराम्रा काम औल्याई विकृति विसंगती र अन्यायमा परेका नागरिकको आवाजलाई खरो तर शान्तिपूर्ण तवरमा राज्यले सुन्ने र पिडितले बुझ्ने गरि प्रस्तुत गर्न सक्नु पर्दछ । भद्र प्रतिपक्षका नाममा सामाजिक बिकृति, नागरिक न्याय र संवैधानिक हकको आवाज तथा सत्ताको कमजोरीलाई जोडतोडले सबैलाई अनुभुति हुनेगरि उठाउन पछि पर्नु हुदैन । बिपक्ष कमजोर हुँदा सत्ता मातेर निरंकुश हुन सक्दछ । उसलाई लगाम लगाएर ठिक बाटोमा हिडाउनु विपक्षीको धर्म र कर्तब्य हो । जनादेश अनुसार प्रतिपक्षीको भूमिकामा रहँदा जनहितकारी कार्य गरी विगतका आफ्नो पार्टी सत्तामा रहँदा वा विपक्षमा रहँदा आफ्ना उच्च नेतादेखि तलसम्मका कार्यकर्ताको निर्लज्ज र निर्मम भै कठोर समीक्षा गर्दै आगामी दिशा निर्दिष्ट गर्न ढिलो भैसकेको छ । देश र जनताले मागे वा चाहे नेतृत्व युवा शक्तिलाई दिएर भएपनि प्रजातान्त्रिक पद्दतीलाई अक्षुण्ण राख्न त्याग गर्न सक्नु पर्दछ । व्यक्तिगत लाभका कारण जनचाहाना भन्दा बाहिर गएर देशलाई अग्रगतिबाट बिमुख गराउनु कदापी हुँदैन । लोकतान्त्रिक निति, सिद्दान्त र विधि पद्दती अनुसार दल र दलमा आवद्ध कार्यकर्ताहरु चल्नु नितान्त आवश्यक हुन्छ । विपक्षमा रहँदा विरोधका नाममा तोडफोड र हिंसात्मक प्रवृत्तिबाट टाढै रहेर भोलि आफु सत्तासीन हुँदा अपेक्षित प्रतिपक्षको भूमिकामा रहनु पर्दछ । यहाँ त सत्ताले प्रतिपक्ष नदेखने कहाँ छ प्रतिपक्ष भन्ने फेरि कहिले उसैले प्रतिपक्षले कामै गर्न दिएन भन्ने जस्ता दोहोरो चरित्र पनि देखिन्छ भने सत्ताले जे गरे पनि चुप रहेर तमासे बन्ने प्रतिपक्षको भूमिका पनि यहाँ यदाकदा निरीह जस्तो देखिएको छ । यसको अन्त्य गर्न र बिपक्ष छ हुन्छ रहिरहनेछ र नराम्रो गरे कडा प्रतिवाद गर्छ नागरिक पनि चेतनशिल छन्, हामी तिनिहरुको विरोध र असहयोगको भार थेग्न सक्दैनौ भन्ने महसुस सधै सत्तालाई गराउनु वा हुनु पर्दछ र सोही अनुसार देशभक्ति र जनहितकारी काम गर्नु जरुरी छ ।
सरकारले राम्रो काम गरोस् र नागरिकले सुख पाउन भन्ने सवै सच्चा नागरिकको चाहाना हुन्छ र तदनुरूप असल कार्यदिशा वा सिद्धान्त भएको अनि योग्य मानिएका पार्टी र त्यसका नेतालाई मताधिकार प्रयोग गरेर जिताई सत्तामा पुर्याएका हुन्छन् । राम्रो गरे लामो समयसम्म सत्तासीन हुन पाइन्छ नराम्रो गरे संविधानतः विषेश परिस्थिति नपरे ५ वर्षमा सत्तारोहण भएकै बिधिअनुसार सत्ताच्यूत हुनु पर्दछ । सरकारले बाटो बिराउँदा, गतिहिन हुँदा सजग गराउने गति दिने कार्यकर्ता, नागरिक समाज, मतदाता, स्वतन्त्र नागरिक र प्रतिपक्षको दबाब, सुझाव र साथ सहयोगले नै हो । ‘पुछार ननिमोठी गोरु हिड्दैन’ भन्ने प्रचलित उखान पनि छ । सरकारले नीति संगत राम्रो काम गरे त्यसको फाईदा उ आफैं लगाएत सबै नागरिकलाई हुने हो भने खराब कामको खबरदारी गर्नु विपक्षीको पनि अहंम् भूमिका र परम कर्तब्य हुन आउछ । ‘हामी कहाँ विगतमा भएका राम्रा काम कुराको निरन्तरता होइन नराम्रोको अनुसरण गर्ने परम्परा देखिन्छ । गत विगतको कमीकमजोरीको समीक्षा आगामी दिनको सुधारका लागि हो न कि अनुसरणका लागि’ । त्यसैले विपक्षले सरकारले राम्रो गरोस् भन्ने सकरात्मक सोच राखेर नराम्रो पक्षको विरोध गरे पनि राज्य पक्षले हिजो तिम्रो पालामा के गर्यौ भन्दै रेडिमेट जवाफ दिनुको साटो सरकारले यी यी राम्रा र जनपक्ष काम गरेको छ भनि नदेखेका र नबुझेकालाई बुझाई दिँदा सबैलाई जानकारी हुन्छ भने विपक्षीले पनि सरकारले नराम्रो गरोस् जनताले दुख पाएर अत्तालिउन र मात्र भोलि हामी सत्तामा जान सहज होला भनेर रमिते बन्ने होइन जनजिविकाका समस्या र सरकारका कमीकमजोरिलाई औल्याई जनतालाई सान्त्वना र सत्तालाई सुझावसहितको दबाब दिनसक्नु पर्दछ । तबमात्र विगतको अनुभवले भविष्यको सकारात्मक गोरेटो पक्रन सकिन्छ सरकार पक्षले ‘सत्ता कमाउने मेलो होइन देशको विकास गर्ने थलो हो’ भन्ने सधैं हेक्का राख्नु पर्दछ भने प्रतिपक्षीले झर्ला र खाउला भनेर होइन ‘जनताको मन जितेर सत्तामा जाउला जनमुखी शासन चलाउला’ भन्ने सोचका साथ अगाडी बढ्नु जरुरी छ ।
हाम्रो देशमा गणतन्त्रको १४ वर्ष र जनसहभागितामा निर्मित नयाँ संविधान लागु पछिको यो निर्वाचित सरकारको ३ वर्षमा देशले फड्को मार्ने बेलामा कोल्टे फेर्न पनि सकेन यसका मुख्य पात्रहरु सत्ताको अहंता र विपक्षीको रमिता नै हो । सत्ताको आपसी खिँचातानीले देश फेरि अराजनीतिको चक्रव्यूहमा फस्दै अन्योल तिर धकेलिन गैरहेको छ यो अवस्थामा सत्तारूढ र प्रतिपक्ष सबै दलले बडो सुझबुझका साथ निकासको सहि बिन्दु खोजीगरी देशलाई राजनीतिक र आर्थिक संकटबाट पार लगाउन किमार्थ चुक्नुहुदैन ।
वास्तवमा हरेक पार्टीले ‘नेतृत्वमा जाँगर र जनतामा जागरण’ सृजना गर्दै नागरिकको दुखलाई सुखमा रुपान्तरण गर्न सक्ने उपायको खोजी गर्नु पर्दछ । यसका लागि सत्ताले सधै नागरिकको मन जितेर सकारात्मक काम गर्नु पर्दछ भने प्रतिपक्षले राम्रो काममा सहयोग र नराम्रो गर्दा तत्काल नै विरोध गरी रोक्न वा सच्याउन सक्नु पर्दछ । विगतको समयलाई हेर्दा यहाँका केही प्रतिपक्षीको भूमिकामा रहेका दलले विरोधका नाममा बन्द हड्ताल गर्दै तोडफोडमा उत्रँदा ठूलो जनधनको क्षति हुन पुगेको हामी अगाडि जग जाहेर नै छ, यो गतिविधिको पुनरावृत्ति गर्नु प्रतिपक्षको धर्म पटक्कै होइन । तसर्थ विगतको प्रतिपक्षले सिकाएको नेपाल बन्द, चक्काजाम र उच्श्रृंखल तथा तोडफोडको गतिविधिमा अहिलेको प्रतिपक्ष हालसम्म सामान्यतया टाढा नै रहेको पाइन्छ भने आगामी दिनमा अझै राम्रो र नागरिकले विपक्षले राम्रो भूमिका खेलेको महसुस गर्न सक्नेगरी अनि सत्ताले पनि आफूले जनादेश अनुसार जनहितमा गरेको राम्रो कामको भोली जाने अर्को सत्ताधारीले स्वीकार गर्दै त्यस कार्यलाई निरन्तरता दिन सक्ने गरी राम्रो र असल परिपाटीको थालनी गर्न सक्ने हो भने मात्र हाम्रो सिमित श्रोत साधनको सहि उपयोग भै देशले विकासको नयाँ गोरेटो समाउन सक्ने छ । तब मात्र समग्र क्षेत्रको विकासले द्रुत रुपमा गति लिनेछ अनि हामी सुखी र देश समृद्व हुनेछ ।





