सामान्य नागरिक कानुनलाई अन्धो हुन्छ भन्ने मान्यता राख्छन् । कानुनले कसैलाई पनि भेदभाव गर्दैन र कसैलाई पनि काखी च्याप्दैन । अनि कानुनले कसैलाई क्षम्य गर्दैन् । आँखामा पट्टि बाँधेर तराजु उचालेको संकेतले पनि धेरै कुरा बोल्छ । कानुनले कसैलाई चिन्दैन, केवल आफ्नो मर्मलाई मर्न दिदैन ।
इतिहासमा विरलै मात्र पाइने पाइने दुई तिहाइको सरकार र हुँदाखादाको प्रतिनिधी सभा विघटन त्यहिं घटनाले तरंगित बनेको देशको राजनीतिले फेरि आमनागरिकलाई दुखी बनाएको छ । पटक–पटक सरकार बन्ने र ढाल्ने खेलमा वर्षाैसम्म नेपालले उपलब्धीहिन यात्रा गर्न बाध्य भयो । सँविधान र कानुनले नै अविश्वासको प्रस्ताव र आफुलाई मन नपरे जुनकुनै बेला संसद विघटन गर्न पाउने व्यवस्था गरेकै कारण विभिन्न कालखण्डमा विभिन्न शासकहरुले संसदको विघटन गरे । यहिं समस्याबाट पार पाउने गरि दुईको अवस्थामा बाहेक संसद विघटन गर्नै नपाउने व्यवस्था अहिलेको संविधानमा समावेश गरियो । जसको साक्षी सत्ता पक्षलगायत अन्य दल पनि छन् ।
लामो त्याग र बलिदानीबाट प्राप्त उपलब्धीनै धरापमा पर्नेगरि अहिलै जसरी देश अस्थिरतातिर गएको छ यो वास्तवमै कसैका लागि पनि फाइदाजनक छैन । विकास र समृद्धिसहित नेकपाले नागरिकलाई चुनावमा देखाएको विकासको ललिपप केवल चुनाव प्रचारका लागि मात्र थियो भन्ने प्रमाणित गरिदिएको छ ।
संसद विघटनको प्रस्ताव राष्ट्रपतीले पास गरिदिएपछि औपचारिक रुपमा संसदको विघटन त भएको छ तर देशको न्यायिक निकाय सर्बोच्च अदालतको अन्तिम फैसला बाँकी छ । संसद विघटन गरि आफु नागरिकको मत लिन चुनावमा जाने घोषणा पनि ओली सरकारले गरेको छ । तर भर्खरै कोरोना भाइरसका कारण देशको सबै क्षेत्र थला परेको बेला फेरि ५० अर्ब बढि खर्च गरेर चुनावमा जानु हजाम हुँदैन । आफ्नो सनक र कसैको रिसका लागि जे पनि गर्न छुट अब कसैलाई हुँदैन भन्ने कुरा विगतका घटनाबाट पाठ सिक्नुपर्छ । पार्टीभित्रको किचलोलाई लिएर संसद नै विघटन गरको घटनासँग मिल्ने रिसको झोकमा आगो झोसेको कथा याद आयो ।
एउटा गाउँमा एकजना किसान बस्थे । किसान धेरै मेहनती थियो । दशकौ समयदेखि खेतबारीमा काम गरेर अन्न उत्पादन गथ्र्यो । उत्पादन भएको अन्न बजारमा बेच्थ्यो । विस्तारै उसको आर्थिक अवस्था राम्रो बन्यो । अन्नबाली बेचेर उसले घर पनि बनायो । पहिला उत्पादन भएको अन्न राख्न समस्या थियो । घर बनेपछि उसले आफ्नै घरमा अन्नहरु भण्डारण गर्न थाल्यो । तर उसको अन्नलाई सखाप पार्ने मुसा उसको मुख्य समस्या थियो । मुसाले अन्नहरु सत्यानास पार्न थालेपछि उसले मुसा मार्ने योजना बनायो र घरमा आगो लगायो । हेर्दा हेर्दै आगोले उसको दशकौ वर्ष मेहनत गराएर बनाएको घर खरानी पारिदियो । किसान खुसी हुदै भन्यो बल्ल मुसाले स्वाद पायो ।
ठ्याक्कै मुसाको रिसले घर जलाएझै दुई तिहाइको शक्तिशाली सरकारले सरकार चलाउन नदिएको र आफुविरुद्ध ठुलो षडयन्त्र हुन लाग्यो भन्ने डेढ अक्कल लगाएर, ठुलो त्याग बलिदानबाट प्राप्त परिवर्तनलाई नै धरापमा पार्ने गरि संसद विघटन गरियो । अरुलाई दनक दिनका लागि गरिने सनकको निर्णयले देशको राजनीति पुनः अनिश्चिततातिर धकलिएको छ । पार्टीभित्रको बहस छलफललाई पार्टीभित्रै बसेर निकास निकाल्नु पथ्र्यो तर आफ्नो शक्ति र सम्बन्धको दुरुपयोग गरि भर्खरै जन्मिएर बामे सर्दै गरेको संघिय गणतन्त्रिय शासन व्यवस्थालाई कमजोर पार्ने काम गरियो ।
भर्खरै निर्माण भएर शक्तिशाली बन्दै गरेको संविधान र कानुनलाई समेत कमजोर पार्न काम गरियो । पार्टि र गुट स्वार्थ एक ठाउँमा राखेर देशको इच्छालाई हेर्ने हो भने देशले राजनैतिक स्थायीत्व खोजेको छ । विकास र समृद्धिमा सरकारको तागद खर्च गर्नुपर्ने अहिलेको समयमा मुसाको रिसले घरमा आगो झोस्नु गलत र इतिहासमा आफूलाई कलंकित सावित गर्नु हो । हामीले बनाएको संविधानलाई बलियो बनाउने हामीले हो । हामीले निर्माण गरेको नयाँ शासन पद्धतीलाई बलियो र उपयोगी बनाउने पनि हामीले हो तर संविधान र पद्धतीको गलत व्याख्या गरेर शक्तिको दुरुपयोग गर्दै जाने हो भने देश नत सिस्टममा जान्छ नत स्थायी शान्ति नै मिल्छ ।
ओलीले विघटन गरेको संसद पुन व्युझिएला वा मृत घोषित होला भनि सबैको ध्यान सर्बोच्च अदालतमा अडिएको छ । अदालतले दिने निर्णयमा सयौ वर्षदेखि त्याग बलिदान दिएका नागरिकको सपनाको पुर्नजीवन वा मरण भन्ने प्रश्न जोडिएको छ । न्यायले दिने उक्त निर्णयमा नेपालको न्यायलय स्वच्छ र निश्पक्ष छ भनेर प्रमाणित गर्ने वा सत्ता र शक्तिकै वकालत गर्छ भन्ने परिक्षामा छ । प्रधानमन्त्री प्रधानन्यायधिसको भाषा बोल्ने अनि प्रधानन्यायधिस प्रधानमन्त्रीको भाषा बोल्ने गरेका पनि गाइगुई सुनिएका छन् । तर सम्माननीय सर्बाेच्च अदालतले निश्पक्षता प्रमाणित गर्ने यो अवसर चुकाउने छैन ।





