पोखरा, २१ पुस–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले गण्डकी प्रदेशका इन्चार्ज पृथ्वीसुब्बा गुरुङलाई इन्चार्जबाट हटाउँदै सो जिम्मेवारी स्थायी समिति सदस्य देवेन्द्र पौडेललाई सुम्पेको छ । सो समूहको सोमबार बसेको स्थायी समितिको बैठकले गण्डकीका मुख्यमन्त्रीसमेत रहेका गुरुङ र लुम्बिनीका इन्चार्ज शंकर पोखरेललाई जिम्मेवारीबाट मुक्त गरेको जनाएको हो । लुम्बिनी इन्चार्जको जिम्मेवारी भने युवराज ज्ञवालीलाई दिइएको छ । बैठकले गण्डकी प्रदेशको सहइन्चार्जबाट किरण गुरुङलाई हटाएर तुलबहादुर गुरुङलाई राख्ने निर्णय गरेको छ । किरण गण्डकीका आर्थिक मामिला तथा योजना मन्त्री पनि हुन् । त्यस्तै प्रदेश कमिटी सचिव गोविन्द नेपालीलाई पनि सो समूहले हटाएको छ । उनको ठाउँमा श्रीमाया थकालीलाई जिम्मेवारी दिइएको छ ।
विभाजन हुनुअघि ‘एक पद, एक जिम्मेवारी’ हुनुपर्ने भन्दै प्रचण्ड–माधव समूहको विरोध हुँदाहुँदै पनि प्रधानमन्त्री तथा एकीकृत पार्टी अध्यक्ष केपी ओलीको दवावमा दुबैले मुख्यमन्त्रीसहित इन्चार्जको जिम्मेवारी पाएका थिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भए पछि दुबैले आफूलाई संस्थापन दावी गर्दै आएका छन् । यो मुद्दा यतिबेला निर्वाचन आयोगसम्म पनि पुगेको छ । दुबै पक्षले अहिले देशभर समानान्तर भेला र प्रशिक्षण एवं निर्णयहरु गर्दै आइरहेका छन् । माधव नेपालको अध्यक्षतामा बसेको बैठकले प्रदेश इन्चार्जबाट पृथ्वीसुब्बालाई हटाइएपछि अब विभाजनको रेखा प्रदेशतिर पनि मोटो बनेको छ ।





