हालसालै युट्युबमा प्रसारित नेपाली चलचित्र ‘छक्का पन्जा–३’ हेर्ने मौका मिल्यो । दोहो¥याइ दोहो¥याइ हेरे । देशको अवस्था केहि हदसम्म भएपनि यथार्थ पस्किने प्रयास गरेको आभास पाए । खासगरी २०२८ सालमा भित्रिएको आधुनिक शिक्षामा २०४७ सालपछिको नेपाली राजनीतिले भित्राएको फोहरी राजनैतिक प्रणाली चलचित्रमा भरपुर उतार्ने प्रयास भएको रहेछ । समग्रमा कसरी देश र जनतालाई व्यक्तिगत स्वार्थमा बन्धक बनाइन्छ, जनताको आर्थिक र सामाजिक मनोवृत्तिमा कसरी खेलिन्छ र पार्टी र नेताको स्वार्थमा जनतालाई फगत कार्यकर्ता कसरी बनाइन्छ ? संगै सरकारी स्कुल, कलेजमा पढाई हैन, राजनीति सिकाइन्छ, विद्यार्थी भर्ना हैन कार्यकर्ता भर्ना गरिन्छ भन्ने गतिलो उदाहरण चलचित्रबाट भएपनि आम जनता माझमा ल्याउन मेहनत गरे जस्तो लाग्यो । खासगरी भन्नुपर्दा म जस्तो आम सर्वसाधारणले देशको राजनीति र नेता–कार्यकर्तामा हुने व्यक्तिगत स्वार्थमा देश र जनतालाई कसरी प्रयोग गर्छन । अब पनि परिबर्तन भन्दै जनतालाई बलीको बोका बनाउनेलाई चिन्ने र बुझ्ने सहि समय आएको छ । बहुदलीय राजनीति के कतिले बुझेको छन् त्यो विस्तारै जनतामा जाग्दै गरेको देशभक्तिले देखाउला ।
यथार्थमा भन्नुपर्दा हाम्रो जस्तो देशमा आर्थिक, नैतिक, सामाजिक अवस्था र नेपाली–नेपाली बिचमा भाइचाराको सम्बन्ध दिनहुुँ धरासयी बन्दै जानु, वैदेशिक हस्तक्षेप बढ्दै जानुले आम मानिसको दैनिक जीवनमा आघात पुगेको छ । चरम बेथिति र निराशाले आक्रान्त पारेको छ भन्ने कुरा हामी सबैले स्विकार्नु पर्छ । तर नेपाली राजनीतिक पार्टिका नेताहरुले आफ्नो भाषण र चुनावी नारामा जस्तो भारतिय विस्तावाद, अमेरिकी साम्राज्यवाद, विदेशी दलाल मुर्दावाद भन्दै विदेशीलाई मात्र दोष देखाएर आफू उम्के जस्तो हामी आम नागरिकहरु नेतालाई मात्र दोष देखाएर उम्कन कदापि मिल्दैन । स्वच्छ, शान्त र कञ्चन नेपालभित्र राजनीतिको फोहर डुङडुङ्ती गन्हाउनुमा नेता कार्यकर्तासंगै हामी आम नागरिकको पनि उत्तिकै अहंम भुमिका छ । अब जन्मेको माटो छातीमा राखेर हामी सबैले समयमै देशभक्त बन्न सक्नुपर्छ ।
केही साताअघि विघटन गरिएको प्रतिनिधि सभा होस् वा सत्तामा भागबन्डा नमिल्दा केही व्यक्तिले सडकमा निकालेको आन्दोलननै किन नहोस्, विगतमा गरिएका बन्द हड्ताल, विध्वंसले पनि देश विकासमा अवरोध आउनुको साथै सम्पुर्ण जनताको आर्थिक विकासमा कमी आएको छ । भलै वैदेशिक रोजगारीले केही जनता आर्थिक रूपमा सबल भएपनि समग्रमा देश धान्नै नसकिने वैदेशिक ऋणले धरासायी बन्दै गएको छ । यो सबै बुझ्दा–बुझ्दै पनि तिनै भ्रष्ट नेताहरुको आदेशमा पक्ष–विपक्षमा उफ्रनु र सडकमा निस्केर देशको अर्थतन्त्र झन् धरासयी बनाउने काम गरेको छ । बहुदलसंगै गणतन्त्रले ल्याएको परिवर्तन र स्वतन्त्रता देख्दा लाग्छ यो सुन्दर बगैंचा बाँदरलाई जिम्मा लगाएर बगैंचाको उत्थानमा बाँदर सेना खटाएका छौं । तिनै बाँदर सेना नेताको बहकाउमा लागेर सरकारी सम्पत्ति जलाउने, तोडफोड गर्ने, बन्द हड्ताल गरेर विध्वंस मच्चाउने, अराजक र घृणित नारा लगाएर सडक तताउने कार्य गर्छन् । विवेक र चेतनाहिन कार्यकर्ताको झुन्ड देख्दा लाग्छ नेपालीलाई देशको माया हैन पार्टी र नेताको माया धेरै छ । स्कुल स्तरदेखि नै पार्टीको सदस्यता वितरण गर्दै विदेशीवादका दर्शन घोकाएर नेपाली नेपालीबीच एकता हैन यो वाद र त्यो वादको नाममा विद्रोह गर्न सिकाइन्छ । देशको परिचयात्मक इतिहास, भुगोल, नैतिक ज्ञान, परम्परा र रितीरिवाज मेटाएर परिवर्तनको ढोल बजाइन्छ । सारा देशभरिका युवाजनहरुलाई देशभक्त नेपाली हुन हैन, पार्टी र नेताभक्त कार्यकर्ता हुन सिकाइन्छ ।
यिनै पार्टी र नेताको कारण नेपालमा वैदेशिक हस्तक्षेप निकै मौलाएको छ । नेपाली नेपालीबीच जातिय र भौगोलिक विभेदसंगै धार्मिक विभेद हाबी हुँदै गएको छ । यी सबै समस्याको जड चिरेर नयाँ नेपाल बनाउनेतर्फ कसैको ध्यान छैन । उल्टो विदेशीका तन्त्र र अनेकौं वादवाला राजनीतिको मन्द बिष घोलेर अस्थिरता निम्त्याएर नेताले व्यक्तिगत फाइदा लिइरहेका छन् । जनता सधै गरिबको गरिब ! २००७ सालपछि र बहुदलीय ब्यवस्था पछिको विगतलाई फर्केर हेर्दा झनै स्पष्ट हुन्छ । बहुदलीय नेपालको राजनीति देश र जनताको खातिर हैन कि केही सन्काहा नेताको व्यक्तिगत स्वार्थको कारण धरासायी बन्दै गएको छ । देशमा नागरिक–नागरिक बीचमा जातिय, धार्मिक द्वन्द्वले गृहयुद्ध समेत निम्त्याएको छ । म जस्तो भुइँमान्छेले सोच्ने र अनुत्तरित हुने प्रश्न भनेको यतिका वर्गिय परिवर्तन नामको जनआन्दोलनले पनि जनतामा वर्गिय समानता किन हुन सकेन ? अनि देशले आर्थिक क्रान्ति गर्न किन सकेन ? भन्ने नै हो । चाहे त्यो २००७ सालमा राणा शासन फाल्न गरिएको आन्दोलन होस् वा २०४६÷४७ मा प्रजातन्त्रको पुर्नवाहाली गर्न गरिएको जनआन्दोलन नै किन नहोस् । अथवा २०५२ सालमा प्रचण्ड बाबुरामद्वारा इन्डियामा बसेर इन्डियन मिसनमा गरिएको माओवादी जनविद्रोह नै किन नहोस् । अथवा २०५८ सालमा बिरेन्द्रको हत्यापछि ज्ञानेन्द्र शासनको अन्त्यसंगै पूरा सिंगो राजतन्त्र फालेर गणतन्त्र स्थापना गर्न गरिएको ०६२÷६३ सालको जनआन्दोलन नै किन नहोस् । आजसम्म केही मुठीभरका व्यक्तिबाहेक देश र जनताले केही परिवर्तन देखेका छैनन् । गणतन्त्र, लोकतन्त्रको महसुस गरेकै छैनन् भन्दा अतियुक्ती नहोला ।
साँच्चिकै देशको विकास नै गर्ने हो भने विदेशीतन्त्र र वाद खोक्ने हैन । छातीमा देशको माया बोकेर देशभक्त हुन सक्नुपर्छ । सत्तामा पुग्न सडक तताउने, विध्वंस मच्चाउने आन्दोलन गर्ने अथवा व्यक्ति हत्या गर्ने क्रान्ति हैन । सबै नेपालीलाई एकताको शुत्रमा बाँध्ने असल नेतृत्व लिन सक्ने मगज चाहिन्छ । देशको आर्थिक, सामाजिक, धार्मिक, साँस्कृतिक, परम्परागत रहनसहन र भाइचाराको महत्वलाई आत्मसात गर्दै अगाडि बढ्नुको विकल्प अब रहेन । देशको पुरै भौगोलिक विकटतालाई नियालेर सरकारले गरेको विकासको अवस्था, नागरिकको रहनसहन, तिनीहरुको दैनिक समस्यालाई नकेलाइकन देश र जनताको आर्थिक विकास असम्भव प्रायः नै छ । आम नागरिकसंग तिनकै घरदैलोमा पुगेर स्थानीय वस्तुलाई प्रर्वद्वन गर्दै आधुनिक शैक्षिक प्रणालीमा कृषि, पशुपालनसंगै आयुर्वेदिक ज्ञान, योग प्रणाली, आयातित वस्तुको विस्थापन गर्दै जलविद्युत् र पर्यटन विकासलाई जोड दिनुपर्छ । फोहोरी राजनीति प्रणालीमा सुधारको काम अविलम्ब गर्नुपर्छ ।
जुनसुकै देशको विकास गर्न त्यहाँका नागरिकको आर्थिक र भौतिक सहयोग निकै ठूलो हुन्छ । सत्ताको लोभमा विदेशी गुहारेर तिनीहरुको आर्थिक सहयोग लिने दाउमा विदेशीका एजेन्डा बोकेर सडकमा राजनैतिक जात्रा हैन अब देश–विदेशमा भएका नेपाली नागरिकसंग सहकार्यमा जोड दिनुपर्छ । जनतालाई फगत कार्यकर्ता हैन, एक देशभक्त सचेत नागरिक हुने नैतिक ज्ञान देउ । स्वतन्त्र देशभक्त नागरिकबिना आर्थिक र भौतिक रूपमा विकास गर्न असम्भव छ । समृद्धि र सुखी नेपालीको नारा सिंगापुर र स्विजरल्याण्डको जस्तै आर्थिक क्रान्ति त झन् पहराको फर्सीको कथाजस्तै भएको छ । आम नागरिकको जनभावना बुझेर संघीयता र समानुपातिक प्रणालीको खारेजी, एक देश दुई दल र हिमाल, पहाड, तराई मिलाएर तीन प्रदेश बनाउन जोड लगाउन सक्नुपर्छ । एक जिल्ला एक सांसद, बढिमा १० मन्त्रालय एकात्मक केन्द्रिय सरकार नै हाम्रो जस्तो भुपरिबेष्ठित र खुल्ला सिमाना भएको देशमा उपयुक्त हुन्छ । आयातित वस्तुमा कडाईसंगै आधुनिक शैक्षिक प्रणालीको नाममा फगत अंग्रेजी भाषा मात्र सिकाउने शिक्षामा बन्देज लगाउनु पर्छ । देशभित्र सामाजिक, आर्थिक द्वन्द निम्त्याएर देशका धनी बाउका छोराछोरीलाई पढाइको नाममा देश छाड्न प्रोत्साहन गर्ने र गरिबका छोराछोरीलाई वैदेशिक रोजगारीको नाममा देश छाड्न बाध्य पार्ने कार्यलाई अबिलम्ब निस्तेज पार्नु पर्छ । अब पार्टीको नारा बोकेर सडकमा कुर्लने हैन, सबै नेपाली एकताबद्ध भै औजार बोकेर देश विकासमा हातेमालो गरौ ।
जय मातृभूमि नेपाल !





