आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

बागलुङको दमेक क्षेत्रमा प्रचलित सोरठी

बागलुङको दमेक क्षेत्रमा प्रचलित सोरठी


  • नवीन प्रताप जिसी
  • पुष २६ २०७७, आइतबार

लोकनाटक सोरठीको परिचय
नेपालको मध्यपहाडी भागमा प्रचलनमा रहेका विभिन्न लोक नाटकहरूमध्ये सबैभन्दा लोकप्रिय लोकनाटकको रूपमा सोरठीलाई लिइन्छ । विशेषतः जयसिंह (जैसिङ्गे) राजा हेमवती (हेमैती, हैमती) रानी र राजकुमारी सोरठीको जन्म, विवाह, विछोडसँग सम्बन्धित कारुणिक प्रेमाख्यानमा यसको कथावस्तु बुनिएको पाइन्छ । सोरठीलाई विभिन्न स्थानहरूमा जस्तो भारतका विभिन्न ठाउँमा सोरठी पावरा नामबाट विभिन्न गाथाहरू गाउने प्रचलन पाइन्छ (पराजुली, २०६३ ः २५५) । त्यस्तै भोजपुरी भाषामा पाइने सोरठीलाई पनि भोजपुरी लोकगाथा अन्तर्गत राखिएको पाइन्छ । वास्तवमा सोरठीमा लोकगाथाका प्रमुख तत्वहरू विद्यमान हुँदा हुँदै पनि यसमा कथानकयुक्त गीतसहितको नृत्याभिनय गरिने हुनाले र अन्य विभिन्न विधिविधान एवं तत्वहरू पनि लोकनाटकसँग मेल खाने भएकाले सोरठीलाई लोकनाटकअन्तर्गत राखेर विश्लेषण गरिएको हो । सोरठीलाई बागलुङ जिल्लाको गलकोटको दक्षिणपूर्वी भागमा नचरी भन्दछन् भने पाल्पा जिल्लाको पश्चिमी भागमा नाचन्या र पाल्पाकै केही क्षेत्रमा करङ्नाच पनि भन्दछन् । त्यस्तै तनहुँ जिल्लातिर सोरठीलाई पाङदुरेनाच र मारुनीनाच पनि भन्ने गरिन्छ भने कतै कतै आनुष्ठानिक नाचको नामले पनि पुकारिन्छ (पराजुली, २०६३ : ६) । नचरी भनेको नृत्योत्सव हो र नाचन्या पनि नचरीजस्तै हो । त्यस्तै पाङदुर भनेको कोदो हो र कोदो पाक्ने समय (आश्विन–कार्तिक) मा देखाउने भएकाले पाङदुरे नाच भनिएको हो । त्यस्तै मारुनी शैलीमा नाचिने भएकाले मारुनी नाच भनिएको हो । यस नाचको प्रारम्भमा आनुष्ठानिक विधि पूरा गरिने हुनाले यसलाई आनुष्ठानिक नाच पनि भनिएको पाइन्छ । विशेषगरी नेपालका मगर, गुरुङ्ग, कुमाले, दरैं आदि जातिमा प्रचलित सोरठी दशैको कालरात्रीमा प्रारम्भ गरी हिउँद भर नचाइने र प्रायः (विशेष परिस्थितिमा बाहेक) श्रीपञ्चमीका दिन साङ्गे गरिन्छ । सोरठी साङ्गे गरिसकेपछि त्यो वर्षभरी सोरठी नाच नाँच्न नहुने र अन्य गायन, बजान पनि गर्न नहुने जनप्रचलन रहेको छ । विभिन्न ताल र लयमा विभिन्न नृत्यमुद्राहरू प्रयोग हुने यस नाटकमा नेपालको ग्रामीण क्षेत्रमा प्रचलित परम्परागत वेशभूषाको प्रयोग गरिन्छ ।
सोरठी मारुनी शैलीमा नाचिने एक उत्कृष्ट नाटक मानिन्छ । मारुनी शैलीका लोकनाच अन्तर्गत डा.मोतीलाल पराजुलीले मारुनी सोरठी, मारुनी चरित्र, र मारुनी ख्याली गरी तीन प्रकारका भएको बताएका छन् (पराजुली, २०६३ : ७) ।

क) मारुनी सोरठी
राजा जयसिंहको जीवनीमा आधारित गीत गाएर नाचिने नाच मारुनी सोरठी हो । यसमा दुई मारुनी, एक पुर्सुङ्गे, दुई मादले र एक ढटुवारे जस्ता पात्रहरूले अभिनय गरेका हुन्छन् । तर कतै–कतै चाँहि यी पात्रहरूमा थपघट पनि पाइन्छ । यस नाचमा साखी बाँध्ने गीत गाइसकेपछि सोरठीको कथाअनुसारको गीत गाएर नाचिन्छ । सोरठीको गीत र अभिनय सकिएपछि बन्धन फुकाउने गीत गाई साङ्गे गरिन्छ । मारुनी नाचहरूमध्ये सबैभन्दा महत्वपूर्ण नाचका रूपमा सोरठी नाचलाई लिइन्छ ।

ख) मारुनी चरित्र
मारुनी चरित्र पौराणिक विषयमा आधारित कथानक भएको मारुनी शैलीमा नाचिने नाटक हो । यसमा दुई मारुनी, दुई पुर्सुङ्गे, दुई मादले र एक ढटुवारे पात्रहरू मिली राम चरित्र वा कृष्णचरित्रका गीतहरू गाएर नाच्ने गरिन्छ । विभिन्न ठाउँमा प्रदर्शन गरिने कृष्णचरित्रमा एक मारुनी, एक पुर्सुङ्गे दुई मादले र एक ढटुवारे पात्रहरू नचाउने प्रचलन पाइन्छ । यहाँ मारुनीले राधा र पुर्सुङ्गेले श्री कृष्णको नेतृत्व गरेका हुन्छन् । त्यस्तै रामचरित्रमा एक मारुनी, दुई पुर्सुङ्गे, नाच्ने प्रचलन छ । मारुनीले सीता र दुई पुर्सुङ्गे राम र लक्ष्मणको प्रतिनिधित्व गर्दछन् । यी नाचमा कुनै अनुष्ठानको बन्धन नहनुे हँदा बाह्रै महिना नचाउन सकिन्छ ।

ग) मारुनी ख्याली
मारुनी शैलीमा नाचिने स्वतन्त्र वा मुक्तनृत्य नै मारुनी ख्याली हो । सामान्यतः दुई मारुनी, एक पुर्सुङ्गे, दुई मादले र एक ढटुवारे रहने एवं राखी बाँध्ने र बन्धन फुकाउने गीत पनि गाइने र बीचबीचमा मुक्त वा स्वतन्त्र झ्याउरे गीत वा दोहोरी गीत गाएर नाचिने चलन छ । यसमा सरस्वती नाच तथा अन्य स्वतन्त्र मुक्त नाचहरू पनि देखाउने प्रचलन छ । यस नाचमा पनि कुनै आनुष्ठानिक बन्धन नहुने हुँदा बाहै्रमास देखाउन सकिन्छ ।

निष्कर्ष
लोक र साहित्य जस्ता दुई शब्दको मिलापबाट लोकसाहित्य शब्दको जन्म भएको होलोकसाहित्यका सम्बन्धमा विभिन्न लोकसाहित्यवेत्ताहरू बीच मतैक्य पाउन नसकिए पनि आदिम युगदेखि समाजमा सुनाइँदै, भनिदै र गाइँदै आएका निरक्षर लोकजीवनका बुझाइ, भोगाइ एवं अनुभूतिका सरल, सहज, स्वाभाविक र अकृत्रिम, अलिखित, मौखिक अभिव्यक्ति नै समग्रमा लोकसाहित्य हो भन्ने कुरामा सबैको एकमत पाइन्छ । त्यस्ता साहित्य केही गीतमार्फत, केही कविता, नाटक र केही कथा जस्ता फरक फरक विधाको रूप धारण गरेर पुस्ता दरपुस्तामा हस्तान्तरित हुँदै आएका छन् । लोकसाहित्यले आजको अवस्थासम्म आउँदा जति पनि विभिन्न विधा देखिएका छन् । ती सबै मौखिक परम्परामा हुर्केका हुन्छन् । निरक्षर लोकजीवनका बुझाई एवं भोगाइबाट सिर्जित हुने भएकाले यस्ता साहित्यको संरचना सरल हुन्छ जसमा लोकको चाहना वा आस्थाको प्रतिविम्व पनि प्रस्टसँग भेट्न सकिन्छ ।
लोकसाहित्यका विविध विधामध्ये अत्यन्तै चर्चित एवं श्रव्य दृष्य विधाको रूपमा लोकनाटकलाई लिइन्छ । लोक र नाटक जस्ता दुई शब्दको संयोजनबाट बनेको लोकनाटकको शाब्दिक अर्थ लोक या जगत वा संसारको सर्वाङ्गीण अभिनय भन्ने बुझिन्छ । लोकजीवनले भोगेका भोगाइहरूलाई विभिन्न चाडपर्व वा उत्सवका अवसरमा अङ्ग, प्रत्यङ्ग संचालन गरेर हाउभाउका साथ अभिनय गरिने भएकाले आधुनिक नाटकको जस्तो रंगमञ्चीय सजधज यसमा आवश्यक पर्दैन । यसमा केही आख्यान (कथानक) र उक्त आख्यानलाई बोक्ने विभिन्न पात्र, तिनीहरूका बीचको संवाद एवं द्वन्द्वका साथै लोकसङ्गीतजस्ता तत्वको संयोजनबाट लोकनाटक पूर्ण भएको मानिन्छ । लोकनाटकमा अधिकांश लोकसाहित्यकै विशेषता भेटिए पनि गुरूपरम्परा एवं निश्चित आफ्नै विधिविधानमा आधारित रही अभिनययुक्त हुनु यसका आफ्नै निजी विशेषता हुन् । लोकनाटकहरूलाई विभिन्न (आकार, प्रस्तुति, विषयवस्तु, शैली एवं भाव जस्ता) आधारमा वर्गीकरण गर्ने गरेको पाइन्छ । नेपालमा सोरठी, घाटु, बालन, नचरी, भारत जस्ता थुप्रै नाटकहरू प्रचलनमा रहेका पाइन्छन् । यी मध्ये बृहत आख्यान भएका मारुनी शैलीमा नाचिने नृत्यप्रधान लोकनाटकको रूपमा सोरठी लोकनाटकलाई लिइन्छ । विशेषगरी भोजपुरी भाषाको सोरठीलाई नेपालीकृत गरेको मानिने सोरठीको विषयवस्तु जयसिंहे राजा र हैमती रानीको सन्तान अप्राप्तिसँग सम्बन्धित रहेको पाइन्छ । विवेच्य दमेक गा.वि.स.को सोरठी पनि यसै विषयमा आधारित रहेको छ ।

 सोरठीको नामकरण
सोरठी रोमाञ्चक कथानकयुक्त चरित्रप्रधान लोकनाटक हो । यसको शीर्षक सोरठी नायिकाको नामबाट राखिएको छ । सोरठीको नामाकरणका सम्बन्धमा विभिन्न विद्वान््हरूका फरक–फरक मतहरू पाइन्छन् । ती मतहरूलाई यहाँ उल्लेख गर्नु वाञ्छनीय ठहर्छ ।
१. एकथरी विश्लेषकका भनाइअनुसार राजा जयसिंहका सोह्र ओटी रानीहरू थिए । ती सोह्रवटी रानीहरूको समूहलाई सोरठी भनिएको हो । अथवा सोह्र ओटी भन्दाभन्दै अपभं्रश भएर सारौठी हुँदै सोरठी भएको भनाइ पाइन्छ (पराजुली, २०६३ : ८) ।
२. दोस्रो तर्क सङ्गीतशास्त्रसँग सम्बन्धित छ । सोरठीको गीतमा सोह्र ताल र सोह्र भाका भएकाले यसलाई सोरठी भनिएको हो भन्ने तर्क यस पक्षका विश्लेषकहरूको छ (पराजुली, २०६३ : ८–९) ।
३. तेस्रो तर्क छन्दशास्त्रसँग सम्बन्धित छ । हिन्दी छन्दशास्त्रअनुसार ११.१३, ११.१३ अक्षर भएको छन्दलाई सोरठी छन्द भनिन्छ । सोरठीको गीत यसै लोकछन्दमा गाइने भएकाले यसैका आधारमा सोरठी नामारकण गरिएको भनाइ यस पक्षका विश्लेषकहरूको छ (पराजुली, २०६३ : ९) ।
४. चौथो तर्कअनुसार सोरठी नायिकाको नामबाट नै सोरठी नामकरण भएको हो । सोरठी सोरठ देशकी राजपुत्री हुन् । प्राचीन समयमा राजा र राज्यका नामबाट राजकुमारीको नामकरण गर्ने प्रचलन थियो । जस्तोः– रत्नपुर श्र रत्नावती, सोरठपुर श्र सोरठी, जमुनापुर श्र जमुनी, पर्वत श्र पार्वती भएजस्तै सोरठपुरबाट सोरठी भएको हो (पराजुली, २०६३ ः ९) ।
यसरी यी माथिका विभिन्न तर्कहरू मध्ये पहिला तीन तर्क (भनाइ) हरू त्यति तर्कसंगत र प्रामाणिक देखिदैनन् । पहिलो तर्कअनुसार राजा जयसिंहका १६ (सोह्र) रानी नभई दुई रानी मात्र भएको र कान्छी रानीबाट सोरठीको जन्म भएको बरु सोरठीका नायक वृजभारले विभिन्न चौधवटी कन्याहरूसँग दाम्पत्य सम्बन्ध राखेको र ती चौधमध्ये सोरठी पनि सामेल भएको कारणले यो भनाइ तर्कयुक्त देखिँदैन । त्यस्तै दोस्रो तर्कमा पनि भारत र नेपालमा गाइने सोरठी क्रमशः उन्नाईस र बाईस लय (भाका) र तालमा गाएको पाइन्छ (पराजुली, २०६३ ः ९) । यसर्थ यो तर्क पनि मान्य देखिँदैन । त्यस्तै तेस्रो तर्कअनुसार सोरठी विभिन्न जाति, ठाउँ र भाषामा गाइने हुनाले यसमा एउटै छन्द हुने कुनै सम्भावना रहदैन । अतः यो तर्क पनि मेल खाँदैन ।
यसरी यीमध्यको चौथो तर्क वढी प्रामाणिक ठहर्छ । शोधार्थीसँगको अन्र्तक्रियामा पृथ्वीनारायण क्याम्पसका सह–प्राध्यापक हुमकान्त पाण्डे पनि यस तर्कमा सहमत हुनुहुन्छ । उहाँका अनुसार “राजा जयसिंहे सोरठपुर क्षेत्रका शासक थिए र सोरठी उनैकी पुत्री थिइन् । यसरी सोरठपुरबाट सोरठीको व्यूत्पत्ति भएको हो र सोरठी नायिकाका नामबाटै यस नाटकको नाम सोरठी राखिएको हो ।” यसरी समग्र तथ्यहरूको अध्ययनबाट चौथो तर्क बढी प्रामाणिक भएको र यसको मूल आधार पनि यही नै ठहरिन आउँछ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->