शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

प्रधानमन्त्री ओलीमा बा संस्कार छ, त्यो सामन्ती संस्कार हो : नेपाल

प्रधानमन्त्री ओलीमा बा संस्कार छ, त्यो सामन्ती संस्कार हो : नेपाल

‘ओलीले गुट चलाउनु हुन्छ । त्यहाँ छलफल हुँदैन । आदेश दिन्छन् । भक्तजनहरुले आदेश पालना गर्छन्’


  • ढोरपाटन संवाददाता
  • पुष २८ २०७७, मंगलबार

पोखरा, २८ पुस – नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा कम्युनिष्ट निष्ठा नरहेको आरोप लगाएका छन् । कास्कीमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले ओलीमा कम्युनिष्ट संस्कार नभएको बताए ।  ‘केपी ओलीले कम्युनिष्ट आन्दोलन त्याग गरेको समाचार तपाइँले सुन्न बेर छैन । कम्युनिष्ट पार्टीबाट पलायन भएको खबर सुन्न बेर छैन’, नेपालले भने । ओलीमा गुट चलाउने प्रवृत्ति रहेको बताए । ‘ओलीले गुट चलाउनु हुन्छ । त्यहाँ छलफल हुँदैन । आदेश दिन्छन् । भक्तजनहरुले आदेश पालना गर्छन्’, नेपालले भने । ओलीले आसेपासे, हनुमानहरुलाई कम्युनिष्ट संस्कार नसिकाएको बताए ।
ओलीमा कम्युनिष्ट संस्कार नभएको र बा संस्कार रहेको अध्यक्ष नेपालले बताए । ‘ओलीमा बा संस्कार छ, त्यो सामन्ती संस्कार हो’ नेपालले भने । ओलीमा आफ्नो प्रशंसा गर्नेलाई मात्रै जिम्मेवारी दिने संस्कार रहेको बताए । ‘रगतको जाँच गर्नुहुन्छ, खकार जाँच गर्नुहुन्छ । भएन भने डिएनए जाँच गर्नु हुन्छ । मत दिएको छैन भने किनारा लगाइदिनु हुन्छ’, नेपालले भने । २०७१ मा नेतृत्वमा आए पछि ओलीले पार्टी कार्यालय सुनसान बनाएर घरबाट पार्टी चलाएको नेपालले बताए । ओलीलाई कार्बाही गरेपछि पुष्पकमल दाहाल प्रचण्ड र आफू भएर पार्टी कार्यालयबाट काम गर्न थालिएको उनले बताए ।
ओलीमा पहिलेबाटै संस्थागत निर्णयमा विश्वास नरहेको पनि उनले बताए । ओलीले अहिले संविधानमाथि घात गर्ने र कम्युनिष्ट आन्दोलन निमिट्यान्न पार्ने प्रयासमा रहेको अध्यक्ष नेपालले बताए । तर, अझै गल्ती स्वीकार गरेर फर्कन ठाउँ रहेको समेत उनले बताए । ‘गल्ती स्वीकार गर्नुहोस्, प्रतिनिधिसभाको विघटन बेठिक भयो भन्नुहोस् । क्याबिनेटमा सच्याउनु सक्नुहुन्छ । त्यसको संवैधानिक महत्व नभए पनि राजनीतिक महत्व हुन्छ’, उनले भने । तर, नसच्चिए इतिहासको रछ्याउनमा फालिने चेतावनी दिए । ओलीसँग २५ प्रतिशत पनि केन्द्रीय सदस्य नरहेको नेपालले बताए । ‘उहाँले अब गुट चलाउनु हुन्छ । केपी ओली फाउण्डेसन गुट’, नेपालले भने । तर, सूर्य चुनाव चिन्ह भने कसैले खोस्न नसक्ने बताए । ४३४ केन्द्रीय सदस्यहरु मध्ये आफूहरुसँग ३१५ जना रहेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->