पोखरा, २९ पुस – नेपाल कम्यनिष्ट पार्टी नेकपा प्रचण्ड-माधव समूहले गल्ती स्वीकार गरेर प्रतिनिधिसभा विघटनको निर्णय सच्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । नभए ओलीको पतन अवश्यमभावी भएको उनीहरुले बताए। प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० दुई समूहमा विभाजित भएको छ । दुबै समूह आरोप प्रत्यारोपमा उत्रिएका छन् ।
मंगलबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेला तथा संघर्ष अभिमुखीकरण कार्यक्रम गरेको प्रचण्ड माधव समूहका शीर्ष नेताहरुले प्रधानमन्त्री ओलीको चर्को आलोचना मात्र गरेनन्, अझै सच्चिने अवसर रहेको बताए । ‘अहिले पनि सच्चिनुस्, गल्ती स्वीकार गर्नुस्,’ यो समूहका अध्यक्षद्धय मध्येका एक माधवकुमार नेपालले भने, संसद विघटन गर्ने निर्णय बेठिक भयो भन्नुस्, क्याबिनेटबाट एउटा प्रस्ताव पास गर्न सक्नुहुन्छ । संवैधानिक महत्व नभएपनि राजनीतिक महत्व हुन्छ । त्यसकै निम्ति वामदेव कमरेड लाग्नुभएको छ ।’
नेकपा ओली र प्रचण्ड–माधव दुई खेमामा विभाजित हुँदा गौतम कतै लागेका छैनन् । उनले शनिबार मात्र नेकपा एकता अभियान घोषणा गरेका छन् । तर ओली भाँच्चिन तयार हुने, सच्चिन तयार नहुने मान्छे भएकाले संसद विघटन गर्नु गलत भयो भनेर स्वीकार गरेर आउने सम्भावना कम रहेको अध्यक्ष नेपालले बताए । ‘मैले वामदेवलाई भनेको छु, बालुवा पेलेर तेल आउने बेला छैन’ उनले भने ।
अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सच्चिन तयार नभए ओलीको पतन अनिवार्य भएको बताए । संसद विघटन गरेर ओलीले कलंकको टीका लगाएको भन्दै उनले भने, इतिहासमा कलंकको टीका लगाइसक्नु भयो । अब पुछिँदैन ।’ ७० प्रतिशत केन्द्रीय समिति आफूसँग रहेको र निर्वाचन आयोगमा पुगेर छलफल गर्दा आफूहरुको विजय निश्चित देखेको प्रचण्डले सुनाए । ‘बिगतको नजीर र अहिलेको अवस्थाबारे सविस्तार कुरा राखेपछि के विश्वास भएको छ भने नेकपा र सूर्य चिह्न हाम्रै हुन्छ । लेखेर राख्न सक्नुहुन्छ’ उनले भने ।
पार्टीको नाम र सूर्य चिह्न दुनियाँको कुनै पनि तागतले आफूहरुबाट खोस्न नसक्ने प्रचण्डले बताए । ‘कसैले खोस्यो भने आँधी हुरी बतास आउँछ नेपालमा, त्यो आँधी हुरी बतासलाई कसैले रोक्न सक्दैन,’ उनले चेतावनी दिँदै भनेका छन् । प्रधानमन्त्रीले अदालतलाई पनि दबाब दिने काम गरिरहेको भन्दै उनले आपत्ति जनाए । ‘निर्वाचन आयोग, सर्वोच्च अदालत र जनताको अदालतको एउटै फैसला आउँछ, संसद पुनस्र्थापना र हामीलाई नेपाल कम्युनिस्ट पार्टीको मान्यता,’ उनले भने, ‘त्यसका लागि बढीमा १/२ महिना हामीले मिहिनेत गर्नुपर्छ ।’
अध्यक्ष नेपालले पनि आफ्नै पहलमा निर्वाचन आयोगबाट सूर्य चिह्न प्राप्त गरेको भन्दै त्यहाँ आँखा नलगाउन आग्रह गरे । ‘सूर्य चिह्न कसैले खोस्न सक्दैन, अब उहाँले अस्ताउँदो सूर्य लिनुहुन्छ भने हाम्रो भन्नु केही पनि छैन,’ उनले भने ।
सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले ओली बाले सबै सेटिङ मिलाउनु भएको छ, सबै हाम्रो पक्षमा हुन्छ भनेर प्रचार गरिरहेको भन्दै सचेत हुन आदालतलाई आग्रह गरे । संसद विघटन असंवैधानिक हो भन्ने सबैलाई थाहा भएको भन्दै उनले भने, ‘सर्वोच्च अदालतले संविधानसम्वत फैसला गर्छ भन्नेमा विश्वस्त छौं ।’ गण्डकी प्रदेश ईन्चार्ज देवेन्द्र पौडेलले दुई वर्षमा सबैभन्दा शक्तिशाली पार्टी बनाउने दाबी गरे । संविधान र केन्द्रीय समितिलाई धोका दिने ओलीलाई जनताबाट जवाफ दिनुको विकल्प नभएको उनको भनाइ थियो ।





