आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

त्यो सुखानुभूतिको पल

त्यो सुखानुभूतिको पल


  • दिवश गुरुङ
  • माघ ५ २०७७, सोमबार

साँझको साढें छ बजेको हुँदो हो ।
छिप्पिँदै गएको साँझको छनक सडकमा बत्ती बाल्दै गुडेका सवारीसाधनले दिँदै थियो । सबैलाई फर्कनकै हतारो देखिन्थ्यो, घरतिर । सडकको सवारी चापले प्रष्ट पाथ्र्यो, यो । छेउछाउका पसलहरु पनि उजेलिन थालेका थिए, अध्यारो साँझसँगै ।
भूपूसैनिक मेडिकल, नयाँबजार । म त्यही थिएँ, तीर्थ दाई अनि रेगिना दिदीसँग । बिरामीसँग व्यस्त हुनुहुन्थ्यो, दाई । त्यही बेलामेडिकल अगाडि देखा परिन् ,एउटा बूढीआमा ।
गुलाफी सारी, फुलबुट्टे पछ्यौरा, रातो स्वेटर अनि रातै टोपीमा थिइन्, आमा । अनि पछाडि बोकेकी थिइन कालो झोला । ‘सिंह तातोपानी जाने बाटो कता हो नि बाबु?’, निन्याउरो र मलिन चेहरा उहाँको बोलीसँगै प्रष्ट देखिन्थ्यो । अर्को अर्थका छिप्पिएको साँझजस्तै अध्यारो देखिएको थियो, उहाँको मुहार । मलाई लाग्यो, यतै कतै नजिकैको गल्लीको बाटो हुनुपर्छ तर नौलो थियो उहाँले भनेको नाम । अनि त्यहाँ रहेका सबैलाई सोध्नु भो उहाँले । सबैबाट थाहा नभएको जवाफ मात्र थियो । यसले मुहार झन् अध्यारिको थियो,आमाको । रगंहीन अनि त्रासैत्रासले भरिएको । छेउछाउका पसललाई पनि मैले सोधेँ । र, अन्तिममा पत्ता भो– बेनी नजिकैको तातोपानी पो रहेछ, आमैले बताएको ठाउँ त । अनि उहाँ कसरी यहाँ त्यति टाढाको बाटो सोध्दै हुनुहुन्छ, अचम्ममा परेँ, म ।
आँखा रसाएका थिए, उहाँका । पछ्यौराको सप्कोले आँसु समेत पुसिन् । मलाई कस्तो औडाहा अनुभव भयो । जसरी हुन्छ उहाँलाई गन्तव्यसम्म पु¥याउने मैले अठोट गरँें ।बेनी जाने बस लाग्ने त बागलुङ बसपार्क हो । त्यसैले उहाँलाई हात डोहो¥याउँदै लगे न्युरोडतिर । त्यहीबाट बाग्लुङ बसपार्क पुग्ने सानो हरियो भेन भेटिन्थ्यो ।
‘यही नजिकै हो बाबु, सिंगा तातोपानी त । हिँडेर त्यस्तै एक घण्टा लाग्ला, गाडीमा बीस÷पच्चीस मिनेटको बाटो न हो’, उहाँले मौनतालाई चिर्दै बाटामा भन्नुभयो । बेनी अनि बीस÷पच्चीस मिनेटको गाडी यात्रा । पोखराबाट यो कुनै हालतमा सम्भव हुने कुरै थिएन । चानचुन तीन÷चार घण्टाको यात्रा हुन्थ्यो होला बसमै पनि । त्यसैले मैले प्रतिउत्तरमा भने, ‘आमा, यो पोखरा हो ।बेनी हैन नि ।यहाँबाट त बेनी पुग्नै कम्तीमा तीन÷चार घण्टा लाग्छ बसमै । तपाईपक्कै झुक्किनु भयो होला ।’

न्युरोड, नगरपालिका अगाडि पुग्नै लाग्दा उहाँले भन्नुभयो, ‘बाबुहरुले यसलाई पोखरा भनेपनि हामी चाहिँ बोलीचालीको भाषामा बेनी नै भन्छौँ । म बेनीमै त छु बाबु ।’ म नै अन्योलमा परें । पक्कै उहाँले गलत बुझ्दै हुुनुहुन्छ वा उहाँ झुक्किनु भो, मलाई मनमनै लाग्यो । अनि उहाँले भन्नुभयो, ‘बिहान घरबाट म र छोरा सत्यनाराणको पूजाका लागि बेनी नजिकै आएका थियौं । छोरा कतिबेला उठेर हिँडेछ, मैले पत्तै पाइन् । मलाई अन्तिमसम्म पूजामा कथा सुन्ने इच्छा थियो । पूजा सकेर प्रसाद र पञ्चामृत चाखेर निस्कँदा त गाउँको साथीले पनि छोडेर गइसकेछिन् । अनि म त यहाँ आइपुगँे बाबु ।’
झन् कौतुहलता जाग्यो मेरो मनमा । मनमा धेरै कुराहरु खेल्न थाले । कि त आमालाई पोखरा नै बेनी भन्ने भान भएको हुनुपर्छ कि त बसले उहाँलाई पोखरा ल्याइपु¥याएको हुन सक्छ, सिंगा तातोपानी पु¥याउने भनेर । कतै छोराले नै अलपत्र पारेर यतै छोडिदिए कि, मनले यस्तोसमेत सोच्न भ्यायो ।
साँझ छिपिसकेको थियो । आमालाई बागलुङ बसपार्क पु¥याएपनि बेनी जाने बस पाउने सम्भावना न्यून थियो । कि त काठमाडौंबाट आउने नाइट बसलाई समात्नु पथ्र्यो । झन् नाइट बसले बाटैमा अलपत्र पार्ने हुन् कि आमालाई, एक मनले सोचें पनि ।थाहा पाएँ, बेनीसम्म जानलाई उहाँसँग बस भाडासमेत नरहेछ । के गरौं, नगरौं म दोधारमा परेँ । समय बित्दै थियो । रात छिप्पिँदै गएझन् उहाँलाई व्यवस्था गर्न चुनौती हुन सक्थ्यो ।
त्यसदिन पोखरामै बसाएर बिहानै बेनी पठाउनु उपयुक्त लाग्यो । कतै उहाँको पोखरामा कुनै चिनेजानेका छन् कि भनेर मैले उहाँलाई सोधेंन् । ‘जिरो किलोमिटरमा मेरो दाई छ नि बाबु,’ उहाँको यस उत्तरले मनमा केही आशा पलायो । तर उहाँलाई न दाईको घर नै थाहा रहेछ न उहाँको मोबाइल नम्बर नै । जति पटक यो पोखरा भनेर मैले भन्दा पनि उहाँको जिकिर कायमै थियो, बेनी अनि मात्र बेनी । कुनै बस नजिकै आउने बित्तिकै यही बसमा जान्छ बाबु हाम्रो घरतिर, उहाँ भनिहाल्नु हुन्थ्यो । यो स्कुल बस अनि त्यो काठमाडौं जाने बस, यस्तै यस्तै, मैले भनिरहें जवाफमा ।
त्यही बेला अलि पर प्रहरीको भ्यान आएर रोकियो । लाग्यो, पक्कै उनीहरुले केही सहयोग गर्न पो सक्छन् कि ? आमालाई डोे¥याउँदै त्यहाँसम्म पु¥याएँ । अनि सुनाएँ सबै बेलीविस्तार प्रहरीलाई । उनीहरु बैदाम बिटका रहेछन् । ‘हाम्रो त कार्य क्षेत्र नै अर्को पो प¥यो भाई । यसबारे जिल्ला ट्राफिक कार्यालयमा गएर सहयोग माग्दा राम्रो हुन्छ, भरे नाइट बसमा उनीहरुले चढाइदिन्छन्,’ उनीहरु जिम्मेवारबाट पन्छिन खोजेको आभाष भयो ।मन खल्लो भो ।
उनीहरुले एउटा माइक्रो बसलाई रोकिदिए । अनि आमा र म लागे पृथ्वीचोक ट्राफिक प्रहरी कार्यालयतिर । त्यहाँ पुगेर मैले उहाँले बताएका सबै बेलीविस्तारमा सुनाएँ । नाम सोध्दा सिता देवी आचार्य बताइन् आमाले । स–परिवारको बारेमा सोधेर टिपोट गराए प्रहरीले । रातिको नाइट बसमा पठाउने वा यतै कतै आमालाई त्यस रात बस्न व्यवस्था गर्ने, निर्णय दुईमा एक हुनेवाला थियो ।
अनि फु¥यो अर्कोआइडिया । उहाँको बारेमा बेनी जिल्ला प्रहरी कार्यालयमा बुझ्ने । एक जना प्रहरीले फोन घुमाए अनि जिल्ला प्रहरी कार्यालयमा स–विस्तार बताए । अहिलेसम्म हराएको उजुरी चाँहि नभएछ त्यहाँ पनि । सिंगा तातोपानी बिटमा पनि कुरा पु¥याइदिने भयो । यसले पक्का केही सहजता हुनेमा सबै विश्वस्त थियौं ।
त्यहीबेला अर्का प्रहरीको वाकीटकीमा पद्म नर्सिङ होमबाट एक जना बिरामी हराएको खबर आयो । नाम चाँहि सीता देवी उपाध्याय । उमेर ६६ । आमासँग मिल्दाजुल्दो देखियो यो केस । नभन्दै उहाँको ब्याग खोलेर हेर्दा त्यहाँको अस्पतालकै उहाँको नाममा काटिएको बिल पनि रहेछ । त्यहाँ दिएको मोबाइल नम्बरमा मैले फोन गर्ने प्रयास गरिरहें । त्यही बेला दुइटा बाइक त्यही आएर रोकिए ।
अघि जिरो कि.मी.मा मेरो दाई छ, उहाँले भन्नुुभएको दाई उहाँ नै रहेछ । साथमा भदा पनि आएका थिए । अनि दाई चाँहिले घटनाक्रमको बेलीविस्तार लगाउनु भयो । खास आमा करिब एक वर्षदेखि मानसिक रुपमा कमजोर हुनुहुँदो रहेछ । स्मरण शक्ति एकदमै कमजोर । छोरासँग पेटको उपचारका लागि हिजो मात्र आउनुभएछ । अनि जचाउनु भो, पद्मनर्सिङ होममा । रिर्पोट देखाउन छोरा डाक्टरको क्याबिनतिर जाँदा आमालाई बेन्चमा बसाएर जानुभएछ । सायद केही टाइम लाग्यो होला, डाक्टरसँग भेट्न । लाग्यो छोराले छाडेर गए । अनि फुत्त आमा निस्किनुभयो होला । अनि सिंगा तातोपानी जाने बाटो सोध्दै उहाँ कसरी कसरी नयाँबजार आइपुग्नु भो ।
उहाँले बताएको केही कुरा मिलेकै हो । छोरासँगै थिए, छोरा कति बेला हिँडेछ पूजाबाटै थाहै पाइन । अस्पतालमा आएको घटनालाई उहाँले सत्यनाराणको पुजासँग जोड्नुभयो । डाक्टरलाई रिर्पोट देखाउन गएको छोरा आउन ढिलो भएपछि गइसकेको ठानी उहाँ त्यहाँबाट निस्किएर घर जाने मनसायले हिड्नु भएको हुनसक्छ । अनि आइपुग्नु भयो नयाँबजार ।
केही दिन उहाँ दाईकै घरमा बस्ने कुरा थाहा पाएँ । आमालाई आफ्नो भदाले बाइकमा पु¥याए, अनि मलाई उहाँको दाईले । धन्यवादका शब्दहरु दोहो¥याइरहेका थिए उहाँको दाईले । मनमनै लाग्यो, यो मेरो कर्तव्य हो । जिम्मेवारी हो । जे गरेंँ, यसले मनमा एक प्रकारको आत्मसन्तुष्टि मिलेको आभाष भयो । मेरै हजुरआमा, आमा वा कोही आफन्त यस्तै समस्यामा पर्दाको पीडा कल्पना गर्न पनि सक्दिन । यस्तो कसैलाई नहोस् पनि, मनमनै कामना गरें ।
अर्को दिन बिहानै । उहाँलाई एकपटक फेरि भेट्ने मनमा इच्छा पलायो । अनि म कुदे जिरो कि.मी. तिर साइकलमा । बाटामा केही फलफूल पनि किनें आमाको लागि । उहाँको दाईको घरमा पुग्दा सिटिङ रुममा हुनुहुन्थ्यो, उहाँ । चर्को आवाजमा भजनमा रमाउँदै । सायद उहाँले मलाई बिर्सिपनि सक्नुभयो होला वा सायद हिजोको घटना समेत सम्झना नहोला पनि । छोरा चाँहि अस्पताल गएछन्, रिर्पोट लिनका लागि ।
मुसुक्क मुस्कुराउनु भो ,उहाँ । अनि म दाज्न पुगें, उहाँको हिजो र आजको अनुहारको रंग । हिजोको सबै घटना बेलीविस्तार लगाउँदा उहाँ अचम्म मान्दै भन्नुभयो, ‘मैले यस्तो भनेँ र बाबु? खै मलाई त केही सम्झना पनि छैन ।’ गल्ती उहाँको थिएन । केवल उहाँको बिर्सिने रोगको । अनिको उहाँको उमेरको ।करिब एक वर्ष भएको रहेछ उहाँलाई यस्तो भएको । उहाँको जस्तै उमेरमा हामी पनि यस्तै हुने होला, एक्कासी म त कल्पनामा पो हराएछु । चिया अनि नास्तापछि बिदा माग्दै गर्दा उहाँले भन्नुभयो, ‘हाम्रोतिर आउँदा पस्नु है बाबु, मेरा घरमा ।’ उहाँको यस हार्दिकता अनि मायाले म त्यसै त्यसै पुलकित भएँ । आफ्नै आमा वा हजुरआमाको शब्द सापटी लिनु भएको भान भयो मलाई, उहाँले । अनि सम्झनाका लागि एउटा फोटो खिचँ,े उहाँसँगै । मुसुक्क उहाँ हाँस्दा मलाई मेरी हजुरआमाको सम्झनाले सतायो । एकवर्ष बित्नै आट्यो उहाँले संसार छाडेको पनि । मलाई सधैं राम्रो काम गर्न हौस्याउने उहाँ सायद कुनै कुनाबाट मुस्कुराउँदै हुनुहुन्छ होला यसबेला । एक्कासि आँखाहरु रसाएँ । आँशु लुकाउने हेतुले म फुत्त त्यहाँबाट निस्किएँ ।तर निस्किएनन्, हजुरआमाको सम्झनाहरु हृदयबाट ।असीम सम्झना अनि माया हजुरआमा ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->