
बागलुङ, ८ माघ– बागलुङ दुध उत्पादनमा आत्मनिर्भर जिल्ला हो । यहाँका किसानले सहकारी र समुहमा आबद्ध भएर दुधको उत्पादन तथा बजारीकरण गरिरहेका छन् । दुधको उत्पादन बढाउने र किसानलाई थप व्यवसायीक र आत्मनिर्भर बनाउनका लागि भेटेरीनरी अस्पताल तथा पशुविज्ञ केन्द्र बागलुङले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा अनुदान रकम प्रदान गर्न थालेको छ ।
केन्द्रले सहकारीमार्फत दुग्ध उत्पादक किसानलाई प्रतिलिटर दुई रुपैंयाँ पचास पैसाको दरले अनुदान उपलब्ध गराउने भएको होे । सार्वजनिक सूचनामार्फत किसानका समुह वा सहकारीमार्फत केन्द्रले प्रस्ताव आव्हान गरेको थियो । अहिलेसम्म जिल्लाभर आठवटा सहकारीले अनुदानका लागि प्रस्ताव पेश गरेका छन् ।
गण्डकी प्रदेश सरकारको उत्पादनको आधारमा अनुदान दिने नीतिअनुरुप यो वर्ष किसानले ४० लाख रुपैयाँ पाउँदै छन् । आठवटा सहकारीमा आबद्ध ८ सय जना किसानले अनुदान पाउने पशु स्वास्थ्य अधिकृत केशव पौडेलले बताए ।
अनुदानलाई किसानसम्म पु¥याउन केन्द्रले दुध उत्पादन र बजारीकरणको मापदण्ड बनाएको छ । ‘गत आर्थिक वर्षमा तीन वटा सहकारीले मात्रै मापदण्ड पुरा गरेर अनुदान पाए’ पौडेलले भने ‘यो बर्ष किसान र सहकारीमा उत्साह देखिन्छ, सबैले मापदण्ड पुरा गरेर प्रस्ताव पेश गरेका छन् ।’ केन्द्रले दिने अनुदान पाउनका लागि सहकारीले एक महिनामा कम्तिमा दुई सय लिटर दुध उत्पादन र बिक्री वितरण गरेको हुनुपर्ने मापदण्ड छ ।
हरेक महिना सहकारीमार्फत बिक्री गरेको दुधको परिमाणअनुसार अनुदान रकम प्रदान गरिने पौडेलले बताए । गत आर्थिक वर्षमा कालीगण्डकी दुग्ध उत्पादन सहकारी, नमुना दुग्ध उत्पादक सहकारी र बागलुङ पशु स्रोत विकास फार्मले अनुदान पाएका थिए । ‘अहिले पेश भएका सबै प्रस्तावले अनुदान पाउँछन्, बजेट पर्याप्त भएकाले समस्या हुँदैन्’ उनले भने ‘अझै धेरै किसान मापदण्ड बाहिर हुनुहुन्छ, उहाँहरु समेत आउने क्रम जारी छ ।’ दुग्ध उत्पादक सहकारीलाई प्रदान गरिएको अनुदान रकम सहकारीमार्फत किसानले प्राप्त गर्नेछन् ।
उत्पादनको आधारमा अनुदान दिँदा साना किसान लाभान्वित हुने भएकोले उत्पादनको आधारमा अनुदान रकम दिने नीति लिएका केन्द्रले जनाएको छ । किसानले पाउने अनुदान रकम चौमासिक भुक्तानी हुने हुनेछ । उत्पादन र बिक्री वितरणको तथ्यांक सहकारीले राख्नेछन् ।
सहकारीले पठाएको तथ्यांकको आधारमा केन्द्रले सिधैं खातामा रकम जम्मा गरिदिन्छ । ‘बजार मुल्य कम हुँदा समेत किसानलाई अनुदानले उत्साह थप्छ’ कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाका सचिव रुद्रनाथ शर्माले भने ‘सहकारीबाट पाउने बोनस र अनुदानले किसान उत्साहित छौं ।’
बागलुङमा दैनिक २ हजार लिटरभन्दा धेरै दुध उत्पादन हुने गरेको छ । जिल्ला भित्रका स–साना बजारका अलवा यहाँको दुध छिमेकी जिल्लाहरुमा समेत निर्यात हुने गरेको छ । जिल्लाको जैमिनी, बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाका अधिकांश किसान दुध उत्पादन तथा बजारीकरणसँग जोडिएका छन् । गलकोट नगरपालिका, बडिगाड र बरेङ गाउँपालिकाले समेत दुधको उत्पादन र बजारीकरणको प्रयास थालेका छन् ।





