बागलुङ, ९ माघ– बारीभरी फलेका सुन्तला बगानमै खोज्न आउनेले जसोतसो लैजान्छन् । तर टिपेर बजार पठाउन किसानलाई सधैं समस्या । गाउँमै प्रदेश सरकारले बनाएको शितभण्डार छ । चिसोमा शितभण्डारमा राखेर गर्मी मौसममा बिक्री गर्दा कसरी बजार पठाउनु ?
बागलुङ नगरपालिका–८ सिगानाका किसानलाई सधैं सुन्तला बजार पठाउन समस्या हुने गरेको थियो । आँफै कार्टुन बनाउन महंगो पर्ने र दाताको आशामा रहेका किसानले कहिले नगरपालिका त कहिले कृषिसँग सम्बन्धित अन्य संघ संस्थासँग गुहार माग्ने गरेका थिए ।
बजारमा एक सय २० रुपैयाँ पर्ने कार्टुनमा बिस किलोमात्रै सुन्तला अट्छ । सिजनमा ५ रुपैयाँ प्रतिकिलो सुन्तला बिक्री गर्दा किसानको मुनाफा कार्टुनमै सकिने भएकाले आँफैले बनाउन नसकेको गणेश कृषि सहकारीका अध्यक्ष राम बहादुर खड्का बताउँछन् । साविकको कृषि विकास कार्यालयले सुन्तला उत्पादक किसानहरुका लागि ९० प्रतिशत अनुदानमा कार्टुन वितरण गर्दथ्यो ।
संघीयता कार्यान्वयन भएर कार्यालय खारेज भएसँगै किसानले गुहार माग्ने ठाउँ मेटियो । गत आर्थिक बर्षमा बागलुङ नगरपालिकाले सुन्तलाको बजारीकरणका लागि भनेर दिएको तिन लाख रुपैयाँ अनुदान पनि शितभण्डारको व्यवस्थापनमा खर्च भएको सहकारीको तथ्यांकमा छ ।
गण्डकी प्रदेश सरकारले हरेक जिल्लामा कृषि ज्ञान केन्द्र स्थापनाको निर्णय गरेसँगै बागलुङमा स्थापना भएको ज्ञान केन्द्रले सुन्तला उत्पादक किसानलाई आशाको दियो बालेको छ । पहिले दुई जिल्ला हेर्नेगरी पर्वतमा रहेको ज्ञान केन्द्रमा पहुँच नभएका किसानहरु कार्यालय स्थापनासँगै धाउन थालेका छन् ।
बिहिबार सिगानाका सुन्तला उत्पादक किसानहरुले कार्यालयको तर्फबाट पहिरोपटक राहतको सास फेर्नेगरी सहयोग पाए । साविकको कृषि बिकास कार्यालयले सुन्तला उत्पादक किसानै लागि भनेर तयार पारेको सुन्तला राख्ने कार्टुन केन्द्रले किसानहरुलाई दिएको छ । झण्डै ७० हजार पर्ने कार्टुन किसानको समस्या देखेर अनुदानमा उपलव्ध गराएको ज्ञान केन्द्रका प्रमुख भानुभक्त ढकालले बताए । ‘हामीले ७ सय ५० थान कार्टुन अनुदानमा दिएका हौं, पहिले ९० प्रतिशत अनुदानमा दिने विधि थियो’ भट्टराईले भने ‘यहाँ थन्किएर बस्ने किसानले दुख पाउने भएको थियो ।’
किसान आँफैले ढुवानी गर्नेगरी कार्टुन पाएका छन् । सिजनमा शित भण्डारमा राखेका सुन्तला बेसीजनमा बजार पठाउन कार्टुनले सहयता गर्ने अध्यक्ष खड्काले बताए । ‘देख्दा सानो तर हामी किसानका लागि ठुलो सहयोग हो’ उनले भने ‘एक पटक प्रयोग भएपछि सकिने बस्तु बनाईराख्न किसानलाई कठिन हुँदो रहेछ ।’ सिगानामा फलेको सुन्तलालाई बागलुङको परिचय दिनेगरी बजार पठाउन सहज हुने उनको बुझाई छ ।





