बागलुङ, ११ माघ– पहिला पहिला महिलाहरु घरमै सुत्केरी हुन्थे । पछिल्लो समय सरकारले अनिवार्य स्वास्थ्य संस्थामा सुत्केरी गराउने अभियान चलायो ।
यो अभियान स्वरुप गाउँगाउँमा बर्थिङ सेन्टर पनि खुलेका छन् । जनशक्ती समेत भएकोले स्वास्थ्य संस्थामा सुत्केरी हुँदा आमा र शिशुको स्वास्थ्य अबस्था राम्रो बन्न थालेको छ । तर सुत्केरीकालागि स्वास्थ्य संस्था लगेपछि कता राख्ने ? ढीला लगे बाटैमा सुत्केरी हुने वा रक्तश्राव बढी हुने खतरा । छिटो गए बस्ने ठाउँ छैन ।
यस्तो समस्याले धेरैलाई सताएको थियो । केही समय देखि बागलुङका ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा सुत्केरी प्रतिक्षा घर बन्न थालेका छन् । ती घरले दुइतीन दिन अघि गएपनि, पछि सम्म बस्नुपरेमा पनि सहज वातावरण बनेको छ । सुत्केरी स्याहार गर्न जानेलाईपनि उक्त घरले सुरक्षित बसोबासको व्यवस्थापन गरेको छ । ‘कता बस्ने भन्ने समस्या थियो, अहिले हट्यो’ निसीखोला ३ की नबिना पुनले भनिन्, ‘सजिलै सुत्केरी सेवा पनि लियौं, परिवारका सदस्यलाई पनि बस्ने व्यवस्था मिल्यो ।’ उनको स्याहारकालागि गएका परिवारका सदस्य पनि स्वास्थ्य संस्थामै बस्ने अबसर पाए । स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार र परिवारको सदस्यबाट स्याहार पाएपछि स्वस्थ्य भएर घर फर्किन् ।
उनी जस्तै सीता बिक र देवी रेग्मीलेपनि यो सेवा पाएका छन् । स्वास्थ्य संस्थामा उपचारकालागि गएपनि बस्ने ठाउँ नभएपछि सास्ती हुन्थ्यो । त्यसैले शहरतर्फ जान्थे । अहिले बोहोरागाउँ स्वास्थ्यचौकीमा प्रसुती कुरुवा तथा प्रतिक्षाघर बनेको छ । यो घरमा सुत्केरी पूर्व र पछिपनि सुत्केरीलाई राखेर स्याहार गर्न पाइन्छ । सुत्केरी स्याहारकालागि आएका परिवारका सदस्य पनि बस्न मिल्छ । चौबिसै घण्टा स्वास्थ्यकर्मी पनि बस्छन् । यो व्यवथापनले गाउँतहमा सुत्केरी सेवा सुरक्षित र भरपर्दो भएको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए ।
५ लाख ५५ हजार रुपैयाँ मात्रै खर्च गर्दा यो कोठा बनेको हो । गाउँपालिकाले ३ लाख र फेयरमेड नामक संस्थाले २ लाख ५५ हजार रुपैयाँ सहयोग गरेपछि सुत्केरी कुरुवा घर बनेको हो । यहाँ ३ वटा बेड राखिएको छ । स्वास्थ्यचौकी भित्रैपनि सुत्केरी सेवा लिने ५ जनासम्म रहने व्यवस्थापन छ । अपरेशन गर्ने बाहेक अन्य समस्या तत्काल समाधान गर्न सक्ने उपकरणपनि जडान गरिएको छ । ‘बच्चा जन्मेपछि श्वासप्रश्वास समस्या भएमा खुलाउने, बच्चा र आमालाई न्यानो बनाइराख्ने र सरसफाईका धेरै सामाग्रीपनि थपिएको छ’ स्वास्थ्यचौकीका प्रमुख कसेन्द्र शाहीले बताए । ‘हामीले नो होम डेलिभरीको अभियान चलाएका छौं, सफल पनि भयौं’ शाहीले भने, ‘स्वास्थ्य संस्थामा थोरै लगानी र व्यवस्थापन परिवर्तन हु“दा यो सफलता मिलेको हो ।’ फेयरमेड फाउण्डेसन मार्फत अत्यावस्यक उपकरणहरु पनि सहयोग भएको उनले बताए ।
सेवा सुबिधा थपिएकै कारण यहाँ सुत्केरी हुनेको संख्या पनि बढेको छ । गत बर्ष १ सय ४४ जना मध्ये १ सय ४० जना यहीं सुत्केरी भएका थिए । ती मध्ये एकसयले प्रतिक्षाघरको उपयोग गरेको रेकर्ड छ । ४ जना जटिल समस्याले शहर पसेको शाहीले बताए । चालुबर्षपनि यहाँ १ सय ७० सुत्केरी हुने अनुमान छ । यस्तै प्रतिक्षाघर बुंगादोभान, खरवाङ, खुंखानी, बोबाङ लगायतका स्थनमा बन्न थालेका छन् । स्थानीय पालिकाले थोरै रकम लगानी गर्दा संस्थालेपनि लगानी थपेको फेयर मेड फाउण्डेसनका कार्यक्रम अधिकृत गणेश बरुवालले बताए । ‘पुराना र खिया लागेका बेड फेरिएका छन्, हरेक स्वास्थ्य संस्थामा न्यानो कोठा बनेका छन्’ उनले भने,‘एउटै संस्थामा ६५ प्रकारका उपकरण थप हु“दा सेवाको गुणस्तर बढेको हो ।’ श्वास प्रश्वास रोकिएमा तत्काल उपचार गर्ने पद्दतीपनि सबै स्वास्थ्य संस्थामा पुगेको उनले बताए ।
बागलुङको पश्चिम क्षेत्रका अधिकांस गाउँमा घरमै सुत्केरी हुने चलन बढी थियो । तीनबर्षदेखि स्थानीय पालिकाहरुलेपनि ‘नो होम डेलिभरी’लाई साथ दिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए । बागलुङका ८५ वटा वडा मध्ये ५५ स्थानमा बर्थिङ सेन्टर स्थापना भैसकेका छन् । ती सेन्टरमा स्वास्थ्य कार्यालय, गाउँ तथा नगरपालिका र अन्य दाता संस्थाले पनि उपकरण थपेपछि सेवाको गुणस्तर बढेको उनले बताए । मुख्यमुख्य स्वास्थ्य चौकीमा कार्यालयले भिडियो एक्सरे सेवा पनि बिस्तार गरेको छ । ‘सामान्य समस्याले पोखरा पुग्नुपर्ने बाध्यताका महिलाले गाउँमै सेवा लिन सकेकाछन्’ गुरौले भने, ‘अझै दर्जन स्वास्थ्यचौकीमा भिडियो एक्सरेको व्यवस्थापनको खोजी भैरहेको छ ।’ तालिम दिएर दक्ष जनशक्ती बनाउने काम थालिसकेको र उपकरणकालागि भने दाता चाहिएको उनले बताए ।





