बागलुङ, ११ माघ– लायन्सक्लब अफ बागलुङले बागलुङको जैमिनी नगरपालिका वडा नं. २ स्थित ज्ञानज्योती आधारभूत बिद्यालयमा शैक्षिक सामाग्री र स्टेशनरी समेत गरी २ लाख २० हजार रुपैयाँ बराबरको सामान बितरण गरेको छ ।
लायन्सले हरेक बर्ष सदस्यहरुको रकमबाट सामाजिक क्षेत्रमा सहयोग गर्ने अभियान चलाइरहेको छ । यो अभियानकै क्रममा शनिवार उक्त बिद्यालयमा पुगेर क्लबका पदाधिकारीले सामाग्री हस्तान्तरण गरेको अध्यक्ष केशव सापकोटाले जानकारी दिए । क्लबले बिद्यालयमा एक थान कम्प्युटर, रंगीन फोटोकपी सहितको प्रिन्टर, ६३ जना बालबालिकालाई कापीकलम, ज्यामिति बक्स, झोला र न्यानो कपडा समेत बितरण गरिएको हो । अतिबिपन्न बालबालिका पढ्ने बिद्यालयमा दिने सामाग्रीले बालबालिकाको पढाइमा गुणात्मक सुधार आउने, आर्थिक समस्या भोगेका अभिभावकलाई राहत हुने लगायतको कारणले ती सामान हस्तान्तण गरिएको बताइएको छ ।
कार्यक्रममा सामाग्री बितरण कार्यक्रमको शुभारम्भ गर्दै जैमिनी नगरपालिका वडा नं.२ का अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले लायन्सको सहयोगले बालबालिकाको शैक्षिक सुधार र अभिभावकको आर्थिक अबस्था सुधारमा सहयोग पुगेको बताए । यस्ता सामाग्री सहयोगबाट बालबालिकामा पढ्नेलेख्ने अबसर वृद्दि हुने समेत बताए ।
कार्यक्रममा लायन्स क्लब अफ बागलुङका संस्थापक एवं डिस्ट्रक ३०५ बी १का सिनियर एओजी दुर्गा कुँवरले शिक्षाको बिकासमा लायन्सले लामो समयदेखि सहयोगी काम गर्दै आएको बताए । लायन्स क्लब अफ बागलुङका अध्यक्ष केशव सापकोटाको अध्यक्षता, द्वितिय उपाध्यक्ष प्रेम केसीको संचालनमा सम्पन्न कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमाकान्त सापकोटा, अभिभावक कृष्ण रिजाल लगायतले लायन्सको सहयोगबाट बिद्यालयमा शैक्षिक वातावरण तयार बनेको बताएका थिए ।





