मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

प्रधानमन्त्री रोजगार कार्यक्रम : रोजगारीले दिलायो खुसी

प्रधानमन्त्री रोजगार कार्यक्रम : रोजगारीले दिलायो खुसी


  • ढोरपाटन संवाददाता
  • माघ ११ २०७७, आइतबार

बागलुङ, ११ माघ– बरेङ गाउँपालिका–२ हुग्दीशिरकी कमला शर्मा बिहान दश नबज्दै कुटो कोदालो समातेर काममा निस्कन्छिन् । एक महिनादेखि उनको काम स्थानीय सडकको नाली खन्ने, जाली भर्ने र ढुंगा बोक्ने हो । बरेङ गाउँपालिकाले बेरोजगारको सूचिमा राखेको उनलाई एक महिना यताको कामले निकै राहत दिएको छ ।
६२ वर्षका श्रीमान पिताम्वर शर्मा धेरै काम गर्न सक्दैनन् । पहिले पहिले गुल्मीको चोकाटे र शान्तिपुरबाट भारी बोकेर परिवार पालेका पिताम्बरको रोजगारी गाउँ गाउँमा पुगेका सडकले खोसिदियो । भारी बोक्ने कामसमेत खोसिएपछि अर्कैको घरमा गोठालो, खेतालो गरेर छाक टार्दै आएको शर्मा परिवारमा यतिबेला गाउँपालिकाले दिएको रोजगारी घर चलाउने आधार बनेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत शर्मा परिवारले एक सय दिनका लागि रोजगारी पाएको छ । गाउँपालिकाले तोकेको ठाउँमा काम गरेर हुने आम्दानीले एक वर्षको परिवार खर्च चलाउने योजना कमलाको परिवारको छ । ‘मेलापात ग¥यो दुई सय रुपैयाँ ज्याला आउँथ्यो, बेलुका घर फर्किँदा दुई पोका तेल किन्न समेत नपुग्ने’ कमला भन्छिन् ‘समुहमा काम गर्दा काम पनि सजिलो आम्दानी पनि राम्रो हुने, मलाई त निकै सहयोग भयो नि सर ।’
कमलाले एकसय दिन काम गरेर वृद्ध श्रीमान र चार जना छोराछोरीको खर्च चलाउने योजना बनाएकी छन् । ‘ढुंगा बोक्ने र नाली खन्नुपर्छ तर मलाई केही जस्तो लागेन्’ उनले भनिन् ‘छाक कटाउन अर्काको जुठा भाँडा माझेँ, त्यो भन्दा त यो काम धेरै राम्रो, हामी गरिबलाई सबैले हेप्छन, जुठा भाँडा माझ्दा पनि पैसा दिँदैनथे, काम पाउँदा खुसी लागेको छ ।’
बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटका नविन आचार्य पनि त्यहिं काममा छन् । दुई बर्षअघि कतार पुगेर फर्किएका आचार्यको दैनिकी जंगलमा गाईभैंसी चराउने थियो । एक महिनादेखि नियमित काममा जान थालेपछि उनको दैनिकी फेरीएको छ । ‘धेरै थोरै काम पाईएको छ, आम्दानी पनि हुने नै भयो’ उनले भने ‘सामान्य घर खर्च चलाउने भएपनि आम्दानी गर्छु ।’ घाम तापेर दिन फाल्नुभन्दा सडकको मर्मत गर्ने काम भएपनि पाएकोमा उनी खुसी छन् ।
आचार्य र शर्मा जस्तै बरेङमा रोजगारी पाएका धेरैको जीवनमा परिवर्तन आएको छ । यहाँ घरायसी काम तथा खेताला लाग्दा आउने दैनिकी धेरै कम छ । प्रधानमन्त्री रोजगार कार्यक्रमले उनीहरुलाई राहत दिएको हो । यो कार्यक्रमअन्तर्गत गाउँपालिकाले पहिलो चरणमा बेरोजगारलाई मर्मत संभारको काममा लगाएको छ । उनीहरुलाई न्यूनतम रोजगारी सुनिश्चित गर्न एवं सामुदायिक पूर्वाधारहरुको विकासमार्फत नागरिकको जीवनयापनमा सुधार ल्याउन यस कार्यक्रमले सहयोग पुगेको पालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउँछन् ।
सिंचाई कुलो, पदमार्ग, सडक नाली तथा तारजाली खेलकुद मैदान, विद्यालय पर्खाल निर्माण, सार्वजनिक शौचालय, चौतारी निर्माण, खानेपानी, पोखरी मर्मतजस्ता काममा बेरोजगारीको सूचिमा रहेकाहरुले काम गरिरहेको रोजगार सेवा केन्द्र प्रमुख केशबराज क्षेत्री बताउँछन् । बरेङका पाँच वडामा १ हजार ३ सय ५४ सूचिकृत बेरोजगार छन् । उनीहरुमध्ये पहिलो चरणमा १ सय जनाले काम पाएका छन् । २ सय जना बढीले अर्को चरणमा काम पाउने क्षेत्रीले बताए ।
‘प्राथमिकताका आधारमा रोजगारी प्रदान गरिएको छ, सबैभन्दा समस्यामा रहेका पहिलो चरणमा परेका छन्’ क्षेत्री भन्छन् ‘सरकारले तोकिएको दररेटमा काममा आउँदैनन् की भन्ने लागेको थियो तर सोँचेभन्दा राम्रो भैरहेको छ ।’ सरकारले दैनिक ५ सय १७ रुपैयाँ बेरोजगार सूचिमा रहेर काम पाउनेहरुका लागि तोकिदिएको छ । गाउँपालिकाले ५ वटा वडामा १६ वटा योजना छनोट गरेर काम गरिरहेको छ ।
निर्माण सामग्री नपाइने र ज्यालाका लागि मात्र भनेर पहिलो चरणमा बरेङलाई ५१ लाख ७० हजार र दोस्रो चरणमा करिब १ करोड २० लाख सर्शत अनुदान रकम निकासा प्राप्त छ । सोही रकमबाट कार्यक्रम सञ्चालन भैरहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->