‘अन्नपूर्ण’ नामक यात्रा संस्मरण पहिलो पटक सन् १९५२ मा बजारमा आएको थियो । हालसम्म यसका २ करोड भन्दा बढी प्रति बिक्री भइसकेका छन् । त्यसभन्दा बढी भइरहन्छन् यसका चर्चा अनि परिचर्चा । यत्रतत्र सर्वत्र । विश्वभर । सात दशकभन्दा बढी समय बितिसक्दा समेत यसको स्वाद अझै जिवन्त भेटिन्छ । अझ भनौैं ताजै । त्यसैले पनि पर्वतारोहण क्षेत्रमा यस पुस्तकको शीर उँचो छ नै, सँगै यसले नेपालको पर्यटन उदयमा अहम् भूमिका खेलेकोमा कुनै दुविधा छैन । आफैं पनि अन्नपूर्ण आरोहण नेपालको पर्यटनमा कोसेढुंगा मानिन्छ ।
मौरिस हर्जोक । एक फ्रेन्च पर्वतारोही । उनैले लेखेको यात्रा संस्मरण हो ‘अन्नपूर्ण’ । आठ हजार भन्दा बढी उचाईमा रहेका विश्वका चौध हिमाल मध्ये एक हो अन्नपूर्ण । उचाई ८ हजार ७५ मिटर । र सर्वप्रथम चौधमध्ये यसैको आरोहण पहिलो पटक भएको हो । यसभन्दा पहिला
२२ वटा आरोहण टोलीले आठ हजार भन्दा माथि उचाइको आरोहणको प्रयास नगरेका हैनन् तर उनीहरु सबै असफल भएका थिए । र सफलता हाँसिल गरेका थिए मौरिस हर्जोक र उनको फ्रेन्च अल्पाइन क्लबका टोलीले । इतिहासमा सुनौलो अक्षरले उनीहरुको नाम लेखिएको छ । नौ जनाको टोलीमध्ये केवल दुईजना मात्र सफलतापूर्वक चुचुरोमा पुग्न सकेका थिए । उनी र अर्का आरोही लोइस ल्याचेनलले ।
यसै आरोहणको सेरोफेरोमा आधारित भएर लेखिएको पुस्तक हो,यो । उनले केवल आरोहणका आरोह अवरोह, सुखदुखका पलहरुलाई मात्र उघारेका छैनन्, सँगै रसिलो तवरले पस्केका छन् हिमाली सुन्दरताको वर्णन अनि तिनताकाको नेपालको आर्थिक, सामाजिक र राजनीतिक पाटो । यस पुस्तकको विशेषता नै यही हो । चौतर्फी विषयको समष्टिगत समावेशी ज्ञान । अन्नपूर्णको काँखमा जीवन र मरणको दोसाँधमा उनी र उनको टोलीले बाँचेका जीवन्त क्षणहरुमा स्वयं आफूलाई उभ्याएर हेर्दाको अनुभूति कहाँ शब्दमा वर्णन गर्न सकिन्छ र ? ठाउँठाउँमा ढुकढुकी ह्वातै बढ्छ । एकपछि अर्को घटनाको कौतुहलता मनमा जागिरहन्छ । अनि अन्तिमसम्म पुस्तकले मज्जाले तानिरहन्छ ।
सन् १९५० को दशकको समय । अर्थात नेपालमा जहानिया राणा शासन लागू नै थियो । न सुरुवात नै भएको थियो हवाई सेवा न सडक सञ्जालले नै । नेपाल प्रवेशको एउटै विकल्प थियो, नेपाल भारत सीमानाबाट प्रवेश ।
अप्रिल ५, सन् १९५० । उनीहरुको टोली लखनउ, नौतुना हुँदै नेपाल प्रवेश गरेका थिए । बुटवल, पाल्पा हुँदै बाग्लुङ आइपुग्न १२ दिन लागेको थियो । अनि आइपुगे टुकुचे २१ अप्रिलमा । जहाँ उनीहरुको आरोहण मिसनको हेटक्वाटर स्थापना भयो । ६ टनको उनीहरुको सम्पूर्ण सर–सामनाहरु । यसलाई बोक्न मात्र करिब २०० जना ज्यालामा खटाएका थिए, भरियाहरु ।
यस क्षेत्र वरपर थिए ८ हजार भन्दा माथिका दुई हिमालहरु, धौलागिरी र अन्नपूर्ण । अन्नपूर्णको न उनीहरुसँग ठोस जानकारी थियो न यहाँबाट सहज बाटो नै । बागलुङ आइपुग्दै देखिएको धौलागिरीले उनीहरुको मन लोभ्याएको थियो र हानिए उनीहरु पत्ता लगाउन विभिन्न रुटहरु आरोहणका लागि । दुई तीन समूहमा विभाजित टोलीले करिव तीन हप्ता लगाए तर धौलागिरी आरोहण गर्न नसकिने निष्कर्षमा आए, उनीहरु ।
उनीहरु कुनै हालतमा खालि हात फर्कने पक्षमा थिएनन् । त्यसैले उनीहरुले ताके अन्नपूर्णको आरोहण । तर यो पनि कहाँ सहज थियो र ? भारतीय सर्वेक्षणको गलत नक्सा अनुरुप लाग्दा उनीहरुले धेरै दुःख झेले । अन्नपूर्ण पत्ता लगाउन उनीहरुको टोली तिलिचो पासहुँदै मनाङभोट सम्म आइपुगेका थिए । त्यस क्षणको सास्ती र दुःख उनले शब्दमार्फत मज्जाले वर्णन गरेका छन्, पुस्तकमा । तिलिचो पास हुँदै फर्कदा उनी झन्डै बाटैमा मृत्युको शिकार हुन पुगेका थिए । अन्ततः उनीहरुले अन्नपूर्ण पत्ता लगाइछाडे । यसमा मात्र सीमित थिएन उनीहरुको लक्ष्य, यसकै आरोहण गर्ने महत्वाकांक्षी सपना बोके । के यो सम्भव होला त ? कस्ता कस्ता चुनौती अनि समस्याहरुसँग पौठेजोरी गर्दै उनीहरु अघि बढ्दै गए, वृतान्तमा उनले यसलाई पुस्तकमा पस्केका छन् ।
मे १४ तारिख । उनीहरुले धौलागिरी आरोहणको सपना त्यागेर अन्नपूर्णतिर लागेको दिन । मौसम विभागको पूर्वसूचना अनुरुप भारतमा जुन ५ बाट मनसुन सक्रिय हुने जानकारी उनीहरुले पाएका थिए । यसको मतलब यसकै आसपास नेपालमा पनि मनसुन सुरुवात हुने पक्का थियो । त्यसैले जुन ५ अगावै मात्र आरोहण सम्भव थियो, र यसैका लागि उनीहरु अहोरात्र खटिए । विभिन्न उचाइमा बेस क्याम्प, देखि पाँचौ क्याम्पसम्म ६ वटा क्याम्पहरु खडा गरे । जुन आफैंमा चुनौतीको विषय थियो । उच्च हिमपात, तिव्र गतिको हावाको वेग अनि हिमपहिरो मुख्य चुनौतीका रुपमा खडा थिए ।
यस अगावै कसैले आरोहण गएको भए पो पूर्व जानकारी अनुरुप उनीहरुले आरोहण गर्ने । सबै उनीहरुको सर्वेक्षण, अध्ययन र अनुसन्धानमा भर पथ्र्यो । अलिकति भाग्य र समयको भरोसामा समेत । बिना अक्सिजन सिलिन्डर हिमालसँगको लडाइँ थियो यो । त्यसैले कोही त ‘एल्टिच्युड सिकनेस’ को शिकार समेत भएका थिए । तर नियमित ‘एक्लमटाइजेशन प्रक्रिया’ ले सहजता भइरहेको थियो । विभिन्न बाधा र अवरोहमा जुध्दै मौरिस हर्जोक र लोइस ल्याचेनल दुई जना जुन ३ तारिखमा अन्नपूर्णको शिखरमा पाइला टेक्न सफल भए । र इतिहासमा नाम रचे, ८ हजार भन्दा बढी उचाइको हिमालको पहिलो आरोहण ।
उनले अन्नपूर्णको चुचुरोमा पुग्दाको खुसीको क्षणलाई शव्दमा यसरी व्यक्त गरेका छन्, ‘हामी अन्नपूर्ण अर्थात ८ हजार ७५ मिटरको उचाइमा छौं । हाम्रो हृदय खुसीले गदगद भएको छ । कास, यसबारे यतिबेलै कसैलाई जानकारी दिन पाएँ ? हाम्रो खुसीसँगै रमाउने कोही साथमै भइदिएँ ?’ उनले थपेका छन्, ‘चुचुरोमा हिउँ नै हिउँको थुप्रो थियो र त्यहाँबाट फेदसम्म देखिने भिरालो भू–भाग डरलाग्दो थियो । अकल्पनीय । यस्तै हिमाल संसारमा थोरै मात्र होलान् । तल आधा आधासम्म बादलले बर्काे ओढेको अनि २३ हजार तल रहेको पोखराको उर्वर उपत्यका । हामीभन्दा माथि केही थिएन, केवल खुल्ला आकाश ।’
त्यो खुसी धेरै लामो समय टिक्न सकेन् । किनकि उनीहरुका खुट्टा र हात हिउँले असर गरिसकेको थियो । रक्तसञ्चार रोकिएको भान भएको थियो खुट्टा र हातमा । चुचुरोबाट फर्कदै गर्दा उनको हातको पन्जा खसेर तल खोचमा विलिन भयो । उनमा हिउँको डर थियो तर त्यो डरभन्दा माथि उनका खुसीका छालहरु छचल्किएका थिए । सफल आरोहण गर्दाको सुखानुुभूति ।
चुचुरोबाट फर्कदै गर्दै अर्को प्रलयमा फसे उनीहरु, आँधीबेरी अनि हिमपातमा । ठूलै भाग्यले बाँचेका थिए उनीहरु । उनीहरुलाई साथ दिन आएका साथीहरु रेबुफ्याट र टेरे पनि पाँचौ क्याम्पमा आइसकेका रहेछन् । उनले सबैभन्दा पहिला आरोहणको खुसी उनीहरुसँगै साँटे । तर मौसम यति बिग्रिसकेको थियो कि उनीहरु तुरुन्तै तल चौथो क्याम्पमा फर्कनुपथ्र्यो । तर यात्रा त्यति सहज भएन । उनीहरु हिउँको खोचमा मात्र खसेनन्, दुवै साथी रेबुफ्याट र टेरेले आँखाको ज्योति गुमाए, हिउँको कारणले । उनीहरुलाई बाँकी दुई जनाले डो¥याएर अघि बढाउनु बाहेकको विकल्प हुँदैन । यता उनी र ल्याचेनलको भने हात र खुट्टा हिउँले खाइसकेको थियो । त्यस रात उनीहरु चौथो क्याम्प फर्कन सकेनन्, अनि उनीहरु बास हुन्छ, हिउँको खोचमा । त्यसबेलाको कष्टकर पीडा उनले वृतान्तमा पस्केका छन् । मृत्युको मुखमा बारम्बार पुगेर पनि उनीहरु सबै चार जना जीवितै चौथो क्याम्प पुग्छन् । अनि बिस्तारै उनीहरु ओर्लदै बेस क्याम्प पुग्छन् टोलीको सहायतामा । कहिले अस्थायी स्ट्रेचर त कहिले शेर्पाहरुले बोकेरै पु¥याउनु पर्ने बाध्यता रहन्छ । जति चुचुरोमा पुग्दा ताकाको संघर्ष हुन्छ, त्यसभन्दा बढी आरोहण पछि फर्कदाको । उनी र साथी ल्याचेनलको हात र खुट्टाका केही औलाहरु काटेर फाल्नुपर्ने हुन्छ बाटैमा । नत्र, त्यसको असर पुरै खुट्टा वा हातैभरि फैलने डर । यसरी लामो संघर्षपछि उनीहरु टुकुचे फर्कन्छन् । अनि फर्कन्छन् पाल्पा, बुटवल हुँदै नेपाल भारत सिमाना ।
यता राणा प्रधानमन्त्री मोहन शमशेरले उनी र उनको टोलीलाई राजधानीमा राजकीय सम्मान गर्ने कार्यक्रम तय हुन्छ । त्यसैका लागि उनीहरु रक्सौल नाका हुँदै काठमाडौं आइपुग्छन् । उनलाई उच्च तहको ‘अडर अफ गोर्खा’ को उपाधिले सम्मान गरिन्छ, जुन युद्धताका अतुलनीय योगदान पु¥याउने सैनिकलाई मात्र दिइन्थ्यो । अनि उनले पस्कन्छन्, खुसीका शव्दहरु । सबैमाझ । दुई दिनको काठमाडांै बसाइपछि उनीहरु त्यही बाटो हुँदै भारत पुग्छन् अनि जहाजमा फर्कन्छन् फ्रान्स । लामो समय उपचारपछि मात्र उनी घर फर्कन्छन् । त्यही अस्पतालको शैयामा रहँदा ताका नै तयार भएको पुस्तक हो यो ।
चढ्नलाई जीवनमा सबैको आ–आफ्नै शिखरका लामहरु हुन्छन् । अन्नपूर्ण आरोहण गर्नैपर्छ यस पुस्तकले सुझाउँदैन, बस ! सकुशल आफ्ना जीवनका सपनाका शिखरहरुको सफल आरोहण गर्न यस पुस्तकले नितान्त प्रेरणा दिन्छ । जीवन आरोह अवरोह, उतारचढाव, उकाली र ओरालीको संगम न हो, पुस्तक पढिसक्दा यस्तै भान हुन्छ । कैयौं पटक मृत्युको मुखमा पुगेर पनि उनले हिम्मत हारेनन्, अनि शिखरमा पहिलो पाइला टेकिछाडे । यस्तै अठोट, लगनशीलता र मिहिनेतले न हो, हर मानिसको जीवनको सफलताको सम्भव ।
उनले अन्नपूर्ण आरोहणको सूक्ष्म क्षणहरुलाई यति कलात्मक रुपमा पस्केका छन् कि पाठक स्वयं नै अन्नपूर्ण आरोहण मिसनमा गएको आभाष हुन्छ । पाठक स्वयं कल्पनामा हराउँछ सिंगो पुस्तक भर । सँगै उनले त्यसबेलाको नेपालको राजनीतिक, सामाजिक र आर्थिक पाटोलाई उजागरण गर्ने काम समेत गरेको छ । जस्तै नेपालको त्यतिबेलाको करिब सत्तरी लाखको जनसंख्या, सडक सञ्जाल र स्वास्थ्य सेवा क्षेत्रको तितो यर्थाथता आदि पुस्तकमा जोडेका छन् ।
पुस्तक पढिसक्दा धेरै ठाउँको उनको घमन्डीपन, जिद्दीपन र हट्टी स्वभाव प्रष्ट भेटिन्छ । धेरैलाई यो मन नपर्न सक्छ तर यसैले उनी र उनको टोलीको नाम इतिहासमा उनले लेखाउन सके, पहिलो आठ हजार भन्दा माथि उचाइको हिमालहरुको पहिलो आरोहण गरेर । उनको उत्साह, जोस र जाँगरलाई सम्मान गर्नैपर्छ । आरोहणमा यसको ठूलै भूमिका देखिन्छ ।
यति भइरहँदा पनि धेरै विरोधाभासहरु नभएका हैनन् । धेरै ठाउँमा आरोहणको मिति नै गलत भएको भन्ने सवाल पनि भेटिन्छ । उनको जिद्दीपन र घमन्डीपन धेरैलाई मन नपरेको प्रष्ट भेटिन्छ पनि ।
रामा नराम्रा पक्षहरु हुँदाहुँदै पनि यो पुस्तक पर्वतारोहण क्षेत्रमा उच्च मुल्यांकनका साथ कदर गरिन्छ । जीवनमा सबैले एकपटक पढ्नै पर्ने पुस्तक लाग्छ मलाई । त्यसै नेश्नल जियोग्राफिक एडभेन्चरले प्रशंसा गर्दै भनेका छैनन, ‘पर्वतारोहण क्षेत्रकै एक प्रेरणादायी पुस्तक ।’





