बागलुङ, १३ माघ– केही दिनदेखि जैमिनी नगरपालिका वडा नं. ५ को सुम्साफाँट नजिकै दैनिक सडक चौडा पार्ने काम सुरु भएको छ । सजिलो स्थानमा अघिल्लो बर्ष चौडा भैसकेको छ । छुटेको र पहरो काट्नुपर्ने स्थानमा मात्रै यो बर्ष सडकमा काम भैरहेको हो ।
कालीगण्डकी करिडोरको पहरो परेको क्षेत्रमा सडक चौडा पार्ने काम भैरहेकाले घोषित गरेरै करिाडोर आयोजनाले सवारी रोकेर काममा लगाएको हो । यो कामले यातायातमा सामान्य कठिनाइ बनाएको छ । तोकेको समयमा गन्तव्यमा जान नपाएर यात्री हैरान छन् । तर नेपाली सेनाले काम गरिरहेको यो खण्डमा चालुबर्ष चौडा पार्ने सबै काम सक्न लागेकोले यात्रीले सामान्य दुःख पाएपनि काम सक्नका लागि भएको निर्माण कार्यदलका प्रमुख रेश्मीराज भट्टराइले बताए ।
करिडोरमध्ये मालढुंगादेखि रिडीसम्मको ८० किमी सडकमा अहिले सेनाले काम गरिरहेको हो । बागलुङतर्फको धेरै खण्डमा सडक चौडा पारिसकेको छ । गुल्मी खण्डमा पनि चौडा पारेर कालोपत्रे समेत गर्न लागेको भट्टराईले जानकारी दिए । ‘अबको एकदुई बर्षमा मालढुंगादेखि रिडीसम्मको सडकमा कालोपत्रे बनाइसक्छौं’ भट्टराइले भने, ‘यो सडक पुरा भएपछि बुटवल ४ घण्टामा छोटो हुनेछ । पोखराहुँदै अन्य ठूला सहरी क्षेत्रमा जाने धौलागिरी क्षेत्रका बासिन्दाले बुटवल जान पाउने अबस्था आएको उनले बताए ।
यो सडक खण्डको कालोपत्रेको काम भने सडक बिभागमार्फत कालीगण्डकी करिडोर आयोजनाले गर्नेछ । तर सेनाले भने अहिलेसम्म १० मीटर चौडा पार्ने जिम्मा मात्र लिएको हो । यो खण्डको अधिकांस स्थानमा पहरा फोड्ने काम सेनाले गरेको हो । ठेकेदारमार्फत काम गरेको भए अहिलेसम्म ट्रयाक खुलेर जाने अबस्था थिएन, तर सेनाले गरेकै कारण समयमा बाटो खुलेको हो’ स्थानीय उपभोक्ता हरि चापागाईले भने, ‘अहिले सडक छेउमा बजारको बिकास भैसकेको छ ।’
ग्रामीण क्षेत्रमा जाने यात्रीले करिडोरको सहायता लिन थालेको उनले बताइन् । अधिकांस ग्रामीण सडकहरु पनि करिडोरमा जोडिएर बन्न थालेको उनले बताइन् । यसरी मुख्य सडकमा जोडिएर मात्रै शाखा सडक निर्माण हुन थालेपछि सडकहरु छोटो र यात्रीले पनि समयमा बस्ती सम्म पुग्न पाउने भएका छन् ।
कालीगण्डकी करिडोर निर्माण हुँदा बागलुङको कुश्मीसेरादेखि दक्षिणका सबै बस्ती, गुल्मी र स्याङजा जिल्लाबासीले समेत सहज यातायातको सेवा पाउने भएका छन् । उक्त यातायातको सेवाले बुटवल, पाल्पालगायतका सहर क्षेत्रमा सजिलै पुग्न पाएका छन् । ती क्षेत्रमा अस्पताल, शिक्षालयलगायतको सेवा सुबिधा पनि पाउने भएपछि उपभोक्ताले पनि करिडोरलाई बिकासको साधकको रुपमा लिन थालेका छन् ।
करिडोर निर्माण कार्यदलका प्रमुख भट्टराइले करिडोरले दक्षिण बागलुङ, गुल्मी र स्याङजाका सयौं मानिसको बसाइ सराइमा रोक लगाउने दाबी गरे । साथै उनीहरुले फलाउने कृषिको फसलले सडक छेउवै र बजारसम्म बेच्ने अबसर जुटाएको बताए । ‘धेरैले अब रोजगारी खोज्दै बसाइ सर्नु पर्दैन’ भट्टराइले भने, ‘अब सडककै कारण कतिपय अबसरहरु गाउँमा फर्केर आउनेछन् ।’
करिडोर सरोकार समितिले पनि झण्डै १० लाख मानिसको बसाइसराइ रोक्नका लागि करिडोर उपयोगी बन्ने तथ्यांक निकालेको सरोकार समितिका अध्यक्ष टिकाराम ढकालले बताए । करिडोर कालीगण्डकी नदीको ५ सय मीटरको दुरीमा उत्तरदेखि दक्षिणसम्म निर्माणाधिन छ । गुल्मीको रिडीबाट नदीको बहावमा करिडोर गैडाकोटतर्फ गएकोले घुमाउरो छ । तर रिडीबाट पाल्पाहुँदै बुटवल पुग्न भने यो सडक सबैभन्दा छोटो मार्गको रुपमा बिकास भएको छ ।





