बागलुङ, १३ माघ– राष्ट्रिय पुननिर्माण प्राधिकरणमार्फत बागलुङका निजी आबास क्षेत्रमा ६८ प्रतिशत पुननिर्माण गरेको बताएको छ । २ हजार ४ सय ८४ निजी आबास निर्माण गर्नुपर्ने प्राधिकरणले अझै ५ सय घर निर्माण गर्न नसकेको हो ।
अहिलेसम्मको प्रगती बिवरण दिने गरी प्राधिकरणले आयोजना गरेको एक अन्तरक्रियामा जिल्ला आयोजनाकी निमित्त प्रमुख रेणुका पाण्डेले २ सय ४४ घर निर्माणाधिन भएको, ५७ वटा घरले किस्ता नलगेको र २ सय १ घर लाभग्राहीबाट स्वतह बाहिर परिसकेको बताइन् ।
बागलुङ नगरपालिकामा सबैभन्दा थोरै ५९ प्रतिशत लाभग्राहीले घर बनाएका छन् भने अन्यमा क्रमशः बढी घर बनेको बताइएको छ । जसअनुसार जैमिनी नगरपालिकामा ७८ प्रतिशत, गलकोटमा ६५ प्रतिशत र ढोरपाटन नगरपालिकमा ६१ प्रतिशतले घर बनाएका हुन् ।
गाउँपालिकातर्फ काठेखोलामा ७४ प्रतिशत, बरेङमा ६२ प्रतिशत, निसीखोलामा ६७ प्रतिशत, तमानखोलामा ८४ प्रतिशत, बडिगाड गाउँपालिकामा ५९ प्रतिशत र ताराखोला गाउँपालिकामा ७१ प्रतिशत लाभग्राहीले घर बनाएको बताइएको छ । अहिलेसम्म १ वटा घरले मात्रै बनाउन नसक्ने भनेर पहिलो किस्ता लगेपनि फिर्ता गरेका छन् ।
प्राधिकरणले ५ बर्षको अबधिमा २ वटा पक्की पुल निर्माण गरिरहेको, झण्डै १० किमी सडक निर्माण गरेको र झण्डै २ सय बिद्यालय निर्माण गरिसक्न लागेको समेत पाण्डेले बताइन् । यो अवधिमा २ वटा स्वास्थ्यचौकी समेत निर्माण गरेको हो । प्राधिकरणमार्फत बिद्यालय हेर्ने शिक्षा, भवन हेर्ने र समग्रता हेर्नेगरी ३ प्रकारका कार्यालय भएकोले काम गर्ने तल्लो तहका प्राविधिक र लाभग्राहीले भने समयमा काम लिन कठिन भएको कतिपयले गुनासो गरेका थिए ।
अन्तरक्रियामा प्राधिकरणका सहसचिव गोपालप्रसाद अर्यालले जिल्ला तहबाट सम्बोधन गर्न छुटेका साना कुराले प्राधिकरणसम्म गुनासो आएको बताए । उनले जिल्ला तहमा गुनासो नआउने गरी काम गर्न पनि आग्रह गरे । कतिपय बिषय भने केन्द्रीय तहबाट निर्णय भएर आएपछि मात्रै काम गर्नुपर्दा ढीला भएको पनि उनले स्विकारे ।
कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले काम राम्रो भएपनि अझै प्रभावकारी बनाउने, जनतालाई समयमा आबास सक्ने वातावरण बनाउने र ग्रामीण परिवेश अनुसार छाउने वा बनाउने प्रकृतिलाई प्राविधिकले छुट दिएर अगाडि गएमा सफलताको प्रतिशत बढ्ने बताए । कतिपय स्थानमा ढुंगाले छाना छाएकोले प्रगती नदेखिएको भन्ने कुरामा ढुंगा स्थानीय सामाग्री भएकोले त्यसको व्यवथापनमा प्राधिकरणले ध्यान दिनुपर्ने समेत पौडेलले बताए ।
जिल्ला समन्वय समितिका उपप्रमुख बिष्णुप्रसाद भुषालको अध्यक्षता, यज्ञप्रसाद रिजालको स्वागतमा सम्पन्न कार्यक्रममा निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेल, ताराखोला गाउँपालिकाकी उपाध्यक्ष दिलकुमारी पुन, जैमिनी नगरपालिका सहितका पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरु, वडा अध्यक्षहरु लगायतले कामलाई पूर्णता दिनकालागि आबस्यक सुझाव दिएका थिए ।
पाँचबर्ष सकिएर पनि प्राधिकरणले अझै एक बर्ष म्याद थपेर पुननिर्माणको काम गरिरहेको छ । बागलुङमा पनि माघ मसान्तभित्र पहिलो किस्ता लैजानेले मात्रै लाभग्राहीमा सूचिकृत भएर घर बनाउन पाउने प्रावधान बनेको छ । माघ मसान्त कटेपछि लाभग्राहीले रकम लैजान नपाउने व्यवस्था छ ।





