मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

सूचना विभागको घुम्ती शिविर बागलुङमा

सूचना विभागको घुम्ती शिविर बागलुङमा

साविक धौलागिरीका पत्रकार तथा सञ्चार प्रतिष्ठानलाई लाभ ।


  • ढोरपाटन संवाददाता
  • माघ १३ २०७७, मंगलबार

बागलुङ, १३ माघ– सूचना तथा प्रसारण विभागले पहिलोपटक जिल्ला तहमा घुम्ती शिविर सञ्चालन गरेको छ । प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण, नवीकरण, अनलाइन दर्ता, नवीकरण, पत्रपत्रिकाको स्थायी दर्तालगायत सेवा प्रदान गर्न मंगलबारदेखि बागलुङमा तीनदिने घुम्ती शिविर सुरु भएको हो ।
बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाका सञ्चार प्रतिष्ठान र पत्रकारलाई सहज रुपमा सेवा प्रवाह गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले जिल्लामा तीनदिने घुम्ती शिविर सञ्चालन गरेको हो ।
शिविरको स्थानीय संयोजन नेपाल पत्रकार महासंघ बागलुङ शाखाले गरेको छ । शिविरमा विभागका सेवा र कार्यभारबारेमा पत्रकारबीच अन्तरक्रियासमेत गरिएको थियो । पत्रकारहरुले प्रेस प्रतिनिधि प्रमाणपत्र नविकरण, अनलाईन पत्रिका नविकरण र बिभागबाट प्रदान हुने सेवाहरुको बिषयमा सवाल जवाफ गरेका थिए ।
जिल्ला तहमा यो खालको शिविर पहिलोपटक शिविर सञ्चालन भएको बिभागका निर्देशक सुमन बज्राचार्यले बताईन् । शिविरमा बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाका सञ्चार प्रतिष्ठान र पत्रकारले सेवा लिईरहेका छन् ।
सरकारले गत मङ्सिरमा प्रेस प्रतिनिधि प्रमाणपत्रका लागि काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य गर्न जिल्लास्थित हुलाक कार्यालयबाटै प्रेस पास लिन पाउने निर्णय गरेको थियो । सञ्चार प्रतिष्ठान र श्रमजीवी पत्रकारले स्थानीयस्तरमै सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले विभागले देशका विभिन्न ठाउँमा घुम्ती शिविर सञ्चालन गर्दै आएको छ ।
‘घुम्ती शिविर हाम्रो लागि राम्रो अवसर हो’ सचिव राम थापा ‘अविरल’ले भने ‘अब धेरै साथीहरुको प्रेस प्रतिनिधि प्रमाणपत्र बन्ने छ ।’
पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य तथा जिल्ला शाखाका पूर्वअध्यक्ष हरीनारायण गौतमले शिविरले बिभाग र पत्रकार दुवैको लागि सिकाई हुने बताए । क्रियाशिल पत्रकारहरुका लागि पुर्नताजगी तालिम समेत मंगलबारदेखि सुरु भएको छ । विभागको आयोजना र महासंघ शाखाले तालिमको संयोजन गरेको हो ।
तीन दिन सञ्चालन हुने तालिममा सूचना विभागका सेवा र पत्रिका, समाचारका लागि अवलोकन र शव्दचित्र लेख्ने विधि, अन्तरवार्ताका अनेक आयाम, फिचर समाचारका मोडेलहरु, समाचार सम्पादन विधि, समाचारका लागि परिकल्पनादेखि पुरस्कारसम्मका तह लगायतका बिषयमा प्राध्यापक डा. बिजय मिश्रले सहजीकरण गर्नेछन् । तालिममा बागलुङका क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको अध्यक्ष दिल शिरिषले बताए ।
शिविर तथा तालिमको उद्घाटन कार्यक्रममा पत्रकार महासंघका पूर्वअध्यक्षहरु राजेशचन्द्र राजभण्डारी, मुकेशचन्द्र राजभण्डारीलगायतले बोलेका थिए । शाखा अध्यक्ष दिल शिरिषको अध्यक्षता, कोषध्यक्ष बिजय रानाको स्वागत र सचिव राम थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->