बागलुङ, १४ माघ– आगलागी पीडित जालबहादुर घर्तीलाई धौलागिरि एकिकृत ग्रामिण विकस केन्द्र (डिआइआरडिसी)ले सहयोग गरेको छ ।
गत पुस २५ गते आगलागीबाट घरगोठ ध्वस्त भएका जिल्लाको बडिगाड गाउँपालिका–३ सिसाखानीका घर्तीलाई डिआईआरडिसीले सहयोग गरेको हो । उक्त अवसरमा घर्ती परिवारका तीन जना सदस्यलाई एक÷एक सेट कपडा, सिरक डसना सहितको दुई सेट विस्तरा, दुई बोरा चामल, एक कार्टुन तेल, पाँच किलो दाल तथा नुन सहयोग हस्तान्तरण गरिएको थियो ।
सहयोग हस्तान्तरण गर्दै डिआईआरडिसी बागलुङका प्रोजेक्ट म्यानेजर शालिकराम शर्माले संस्थाले विपन्न समुदायसंग प्रत्यक्ष जोडिएर काम गर्दै आएको र आगोलागी भएर घर्ती परिवार घरवार बिहीन भएको थाहा पाएपछि सहयोग गर्ने निर्णयमा पुगेको बताए ।
आगलागीका कारण घर्तीको घरगोठ पुरै जलेर नष्ट हुँदा १२ लाख बढिको क्षति भएको थियो । घरमा भएको अन्नपात, नगद पैसा, लत्ताकपडा, खाद्यान्न सम्पूर्ण जलेर नष्ट भएका थिए । घरमा आगो लागेपछि निभाउने प्रयास गर्दा घर्तीकी श्रीमती दिलमाया भुजेल घर्तीको खुट्टा भाँचिएको छ । उनको धौलागिरी अस्पतालमा खुट्टा प्लास्टर गरिएको छ ।
संस्थाले विपन्न नागरिकलाई स्वरोजगार मूलक तालिम र स्कुल गल्र्स हाईजिन प्रोजेक्ट सञ्चालन गरिरहेको छ । स्वरोजगार मूलक तालिमअन्तर्गत सिलाईकटाई र पलम्बर तालिम सञ्चालन गर्ने गरेको छ । स्कुल गल्र्स हाईजिन प्रोजेक्टअन्तर्गत जिल्लाका विभीन्न विद्यालयमा विशेषगरी किशोरीहरुलाई स्वास्थ्य सरसफाई र महिनावारी सम्बन्धी सचेतनात्मक कार्यक्रम सञ्चालन गरिरहेको छ ।





