बागलुङ, १४ माघ– सूचना तथा प्रविधि मन्त्रालयकी निर्देशक सुमन बज्राचार्यले नेपालको पत्रकारितामा धेरै संघर्षको कुरा लुकेको बताएकी छिन् ।
पत्रकारले आफ्नो नियुक्तीपत्रदेखि पारिश्रमिक पाउन गरेको संघर्षले अबका दिन नयाँ सिकाइ भएको भन्दै राज्यले ल्याएको नीतिले पत्रकारले नियुक्तीपत्र र पारिश्रमिक लिएर मात्रै काम गर्ने अबस्था बनेको बताइन् ।
सूचना तथा प्रशारण बिभागको आयोजना र नेपाल पत्रकार महासंघको संयोजनमा सम्पन्न शिविरसँगै आयोजित पत्रकार पुर्नताजगी तालिमको बुधबार समापन गर्दै बज्राचार्यले कागजातले बलियो भएर मात्रै काम गर्ने पद्दतीलाई संस्थागत गर्न पनि आग्रह गरिन् ।
उनले समाचार लेख्ने कलमजीबीको दुःखद कथा अब बन्न नहुने धारणा राखिन् । बिभागले यो बर्ष पहिलोपटक शिविरमार्फत पत्रकार परिचयपत्र बितरण गरेकोमा ५० नयाँ परिचयपत्र बन्दा नगन्य नविकरण भएको समेत जानकारी दिइन् ।
नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषको अध्यक्षता, सचिव राम थापा अविरलको संचालनमा सम्पन्न कार्यक्रममा तालिमका प्रशिक्षक डा. बिजय मिश्रले पत्रकारिता अब खोज पत्रकारिता बन्नुपर्ने धारणा राखे । उनले खोज पत्रकारिता, फिचर लेखन र प्रमाण संकलन गरेर मात्रै लेखन गर्ने पद्दती बसाल्दा प्रतिष्पर्धि युगमा टिक्न सकिने धारणा पनि राखे ।
उक्त अबसरमा नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी, मुस्ताङका संस्थापक अध्यक्ष भीम रसाइली र म्याग्दीका कोषाध्यक्ष हरिकृष्ण गौतमले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । तालिमका सहभागिलाई प्रमाणपत्र वितरणसमेत गरिएको थियो ।





