बागलुङ, १५ माघ– सूचना तथा प्रसारण विभागले पहिलोपटक बागलुङमा सञ्चालन गरेको घुम्ती शिविरबाट ८५ जना पत्रकारले प्रेस प्रतिनिधि प्रमाणपत्र (पत्रकार परिचय पत्र) पाएका छन् ।
प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण, नवीकरण, अनलाइन दर्ता, नवीकरण, पत्रपत्रिकाको स्थायी दर्तालगायत सेवा प्रदान गर्न बिभागले घुम्ती शिविर सञ्चालन गरेको थियो ।
शिविरबाट ७९ जना पत्रकारले नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र बनाएका छन्भने ६ जनाको नविकरण गरिएको सूचना विभागका निर्देशक सुमन बज्राचार्यले बताइन् । बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका सञ्चार प्रतिष्ठान र पत्रकारहरुले शिविरबाट सेवा लिएका छन् ।
शिविरमा सञ्चारमाध्यामको व्यवस्थापकका रुपमा एक जनाले मात्रै परिचय पत्र बनाएकी छिन् । ढोरपाटन दैनिकका व्यवस्थापक मनिषा शर्मा साविक धौलागिरी अञ्चलमा व्यवस्थापकको परिचयपत्र पाउने एक्ली व्यवस्थापक बनेकी हुन् ।
शिविरमा ११ वटा अनलाईन पत्रिका दर्ता भएको बज्राचार्यले जानकारी दिइन् । एकवटा मात्रै पत्रिकाको अस्थायी दर्ता गरिएको छ । ‘धेरैको नविकरण फेल भएको पाईयो, यो दुःखद कुरा हो’ उनलेले भनिन्े ‘अब जिल्ला हुलाकमार्फत नविकरण हुने भएकाले समस्या नआउला भन्नेमा विश्वस्त छौं ।’
शिविरको स्थानीय संयोजन नेपाल पत्रकार महासंघ बागलुङ शाखाले गरेको थियो । जिल्ला तहमा यो खालको शिविर पहिलोपटक सञ्चालन भएको विभागका निर्देशक बज्राचार्यले बताइन् ।
सरकारले गत मंसिरमा प्रेस प्रतिनिधि प्रमाणपत्रका लागि काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य गर्न जिल्लास्थित हुलाक कार्यालयबाटै प्रेस पास लिन पाउने निर्णय गरेको थियो । सञ्चार प्रतिष्ठान र श्रमजीवी पत्रकारले स्थानीयस्तरमै सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले विभागले देशका विभिन्न ठाउँमा घुम्ती शिविर सञ्चालन गर्दै आएको छ ।





