बागलुङ, १७ माघ– बागलुङ नगरपालिका–१ बाङ्गेचौरमा सहिद पार्क छ । छेवैमा रहेको देशकै लामो झोलुङ्गे पुल । दैनिक सयौं आन्तरिक पर्यटक यहाँ आउँछन् । एक वर्षमा निर्माण सम्पन्न भएको पुलले यहाँ दैनिक सयौं पर्यटक बोलाईरहेको छ । तर छेवैमा रहेको सहिद पार्क भने सधैं उस्तै ।
पुलको काम गर्नुपूर्व पनि पार्क सहिद दिवसको दिनमात्रै सुन्दर देखिन्थ्यो । पुल निर्माणको काम थालेपछि निर्माण सामग्रीले थिचिएका बिरुवा, संरचना र यहाँको पर्यावरणले यसपाली पनि सहिद दिवसकै दिन प्राण पायो । बागलुङ नगरपालिकाले आयोजना गरेको सहिद दिवस मुल सामारोह उद्यानमै गरिएकाले उद्यानको एक दिन पहिला सरसफाई भयो ।
मरेको घाँस, सुकेका पात र काण्डहरु छेवैमा जलाईयो । उद्यानमा सहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, थिरबम मल्ल, दशरथ चन्द र गंगाल श्रेष्ठको शालिक राखिएको छ । शालिको बिच भागमा रहेको पोखरी देख्दै घिनलाग्दो थियो । सहिद दिवसमा यो बर्ष पनि पोखरी सफा भएको छ । उद्यानमा रहेका फुल र बुट्यानहरुले मल पानी पाएका छन् ।
सहिद दिवस मनाउन उद्यान पुग्नेहरुले हरेक वर्ष उद्यानको व्यवस्थापनको विषयमा चर्चा गर्ने गरेका भएपनि उचित व्यवस्थापन अझै भएको छैन् । ‘पहिले सुरक्षाको प्रबन्ध थिएन्, कस्ले हेर्ने र संरक्षण गर्ने भन्ने भयो’ बागलुङ नगरपालिकाका योजना अधिकृत युक्त प्रसाद सुवेदीले भने ‘अब हामी योजनाबद्ध संरक्षण गर्दैछौं ।’
लामो पुलमा आउने पर्यटकको गन्तव्य हुने भएकाले पछिल्लो पटक नगरपालिकाले विषेश ध्यान पार्कमा दिएको छ । पुलमा जाने द्वार उद्यानको माझमा पर्छ । दुवै तर्फको वातावरण हराभरा बनाउने योजना रहेको सुवेदीले सुनाए ।
उद्यानमा राखिएका शालिकहरु पनि टुटेफुटेका स्तम्भहरुमा छन् । ‘हामीले एक जना कर्मचारीको व्यवस्थानै गरिसकेका छौं’ प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद रिजालले भने ‘अब सहिद दिवसमा मात्रै होईन ३६५ दिन पार्क घुम्न लायक हुन्छ ।’
प्रजान्त्रका लागि प्राण आहुती दिने वीर सहिदप्रति श्रद्धा सुमन व्यक्त गर्दै सधैँझैँ यो वर्ष पनि उद्यानमा सहिद दिवस मनाईयो । सहितहरुको तस्विर र शालिकमा माल्र्यापण गर्दै नगर प्रमुख जनकराज पौडेलले सहिदको सपना पुरा गर्ने दायित्वबाट भाग्न नमिल्ने बताए ।
जिल्ला समन्वय समितिका उपप्रमुख बिष्णु भुसालले सहिदको सम्मानका लागि उनीहरुले चाहेको व्यवस्थाको रक्षा हुनुपर्ने बताए । ‘अहिले राजनीतिक अवस्था खतरनाक बन्दै गएको छ, यहि अवस्थामा सहिदका सपना पुरा गर्न सकिँदैन्’ भुसालले भने ‘सहिदको सपना पुरा गर्न हामीले व्यवस्था जोगउनुपर्छ ।’
प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले सहिदको सम्झना मात्रै गरेर नहुने बताए । उद्यानमा रहेका सालिकमा माल्र्यापण गरेर मात्रै उनीहरुको योगदानको कदर नहुने उनको तर्क थियो ।
हरेक बर्ष आयोजना हुने सहिद दिवस मुल समारोहको बागलुङ नगरपालिकाले व्यवस्थापन गर्ने गरेको छ । यो वर्षदेखि उद्यानको व्यवस्थापनमा समेत कर्मचारीनै खटाएर लागेको नगरप्रमुख पौडेलको भनाई छ ।





