मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

बोरिङबाट पानी निकाल्दै धौलागिरी अस्पताल

बोरिङबाट पानी निकाल्दै धौलागिरी अस्पताल

अस्पतालले दैनिक चारदेखि छ ट्याङ्करसम्म पानी प्रयोग गर्दै आएको छ ।


  • ढोरपाटन संवाददाता
  • माघ १७ २०७७, शनिबार

बागलुङ, १७ माघ– धौलागिरी अस्पताल बागलुङमा बोरिङ प्रबिधिबाट जमिन मुनीको पानी निकाल्ने काम सुरु भएको छ । अस्पतालको काममा आवश्यक पानी अपर्याप्त रहेको भन्दै जमिन मुनीको पानी निकाल्न थालिएको हो ।
दैनिक ४० हजार लिटर पानीको आवश्यकता रहेको अस्पतालमा बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले जडान गरेको धाराको पानी मात्रै अपर्याप्त हुने गरेको छ ।
झण्डै १ सय ५० मिटर तल जमिन मुनीबाट पानी निकाल्ने गरी कामको सुरुवात भएको अस्पताल बिकास समितिका अध्यक्ष केवी राना मगरले बताए । बोरिङ प्रबिधिको पानी निकाल्दा अस्पतालले प्रयोग गर्दै आएको ट्याङकरको पानी विस्थापित हुनेछ । अस्पतालले दैनिक चारदेखि छ ट्याङ्करसम्म पानी प्रयोग गर्दै आएको रानाले बताए ।
सामाजिक विकास मन्त्रालयको सहयोगमा जमिनमुनीको पानी निकालेर प्रयोग गर्ने भएको हो । पानी निकाल्नका लागि बोरिङ खन्ने काम शुक्रबारदेखि सुरु भएको छ । डिटीएच रक ड्रिलिङले शुक्रबारबाट थालेको बोरिङ खन्ने कामको सामाजिक विकास मन्त्रालय, अस्पताल विकास महाशाखाका प्रमुख डा. राम बहादुर केसीले ध्वजा बाँधेर सुरुवात गरे ।
कम्पनीले एक साताभित्रै एक सय ५० मिटर जमिनमुनीबाट पानी निकाल्ने सुपरभाईजर सूर्य चिमरीयाले बताए । ‘पानीको अवस्था के छ भन्ने हामीलाई थाहा हुँदैन, एक सय ५० मिटरमा पानी आउनेमा हामी ढुक्क छौं’ उनले भने ‘कुनै अबरोध नभए एक हप्तामा पानी निकालेर देखाउँछौं ।’
प्रतिसेकेण्ड २ दशमलव ७५ लिटर पानी निकाल्ने लक्ष छ । बोरिङ खन्नका लागि मात्रै मन्त्रालयले ४० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । ‘खन्ने काम १९ लाखमा हुन्छ, त्यसपछि जेनेरेटर र प्लम्वीङको काम बाँकी रकमले गर्ने हो’ अस्पतालका लेखा अधिकृत झलक आचार्यले भने ‘रकम अपुग नहोला भन्ने छ, कम भए मन्त्रालयमा लेखि पठाउँछौं ।’
जमिन मुनीबाट आएको पानीलाई एक लाख लिटरको ट्याङकीमा जम्मा गरेर अस्पताल भवनमा वितरण गरिने छ । ट्याङ्की निर्माणको लागि मन्त्रालयले खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमार्फत ४० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।
बागलुङमा सरकारी संस्थामा बोरिङ प्रबिधिको पानी निकाल्ने अस्पताल पहिलो संस्था हुनेछ । यसअघि चिल्ड्रन लाईफ बोर्डिङ स्कुल रामरेखाले बोरिङ प्रबिधिबाट पानी निकालेर प्रयोग गरीरहेको छ । सोही कम्पनीले रामरेखामा एक सय २० मिटरमा पानी फेला परेको थियो ।
जमिन मुनीको पानी तानेपछि अस्पतालमा रहेको पानीको समस्या समाधान हुने अस्पताल विकास समितिका सदस्य शालिकराम शर्माले बताए । पहिले आठ इन्च ड्रिलिङ गरेर १ सय मिटर जमिन मुनी खनेपछि आकार घटाउने कम्पनीले जनाएको छ । एक सय ५० मिटरभन्दा तल पुग्दा कालीगण्डकी नदिको सतहमा पुग्ने भएकाले पानी भेटिने विश्वास अस्पताल व्यवस्थापनको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->